
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सांस्कृतिक एकताको प्रवर्द्धन तथा नेपाली भाषाको विकासमा आदिकवि भानुभक्त आचार्यको विशिष्ट योगदान रहेको बताएका छन् ।
भानु जयन्तीका अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सम्पर्क भाषा बनेको नेपाली भाषालाई घर घरमा स्थापित गराउन भानुभक्तको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।
“भानुभक्तले नेपालको सांस्कृतिक एकताको प्रवर्द्धन गर्नुभयो । आज नेपालीमात्र होइन, नेपाली मूलका सबै विदेशी नागरिकले पनि भानुजयन्ती मनाउँछन्”, उनले भने, “भानुलाई सम्झेर नेपालसँग कुनै न कुनै प्रकारको साइनो, सम्बन्ध र एकताको भाव पैदा हुन्छ । सांस्कृतिक एकताका निम्ति भानुको योगदान अविस्मरणीय छ ।”
उपप्रधानमन्त्री श्रेष्ठले नेपालको राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै राष्ट्रिय एकता प्रवर्द्धन गर्न भानुभक्तबाट पनि प्रेरणा लिनुपर्ने उल्लेख गरे ।
“आदिकवि भानुभक्त आचार्य हाम्रो राष्ट्रिय विभूति हुनुहुन्थ्यो । हामी सबैको हृदयमा भानुभक्त अङ्कित छ, भानुभक्तले नेपालीमा रामायण लेख्नुभयो, रामायण सबैको मुख मुखमा पुग्यो, त्यस कारणले पनि हामी उहाँलाई स्मरण गर्छौं”, उनले भने, “तर त्यतिमात्र होइन, उहाँले हामी सबैको आज मुख्य सम्पर्क भाषा बनेको, हामी सबैलाई जोड्ने माध्यम बनेको नेपाली भाषालाई स्थापित गर्न र घर घरमा पुर्याउन महत्वपूर्ण योगदान पुर्याउनुभयो ।”
भानुभक्तले न्याय र जीवनको सार्थकताको पक्षमा आवाज उठाएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले जीवनको सार्थकता हरेकलाई बोध गराउन भानुभक्तको महत्वपूर्ण भूमिका रहेको बताए ।