
राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई सडक आन्दोलनमा आउन आग्रह गरेका छन् । बुधवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले सत्ताको फोहरी खेलमा नलागी सडक आन्दोलनमा आउन आग्रह गरेका हुन् ।
पार्टीको महाधिवेशनबाट पारित मार्गदर्शनअनुसार सत्ता केन्द्रित नभई विचार र आदर्श केन्द्रित भएर राप्रपा अघि बढे नेतृत्वमा पनि समस्या नहुने उनको भनाइ छ । 'संघीय गणतन्त्रको नाममा अहिले कायम रहेको भ्रष्ट व्यवस्थाको लागि जनआन्दोलनको विकल्प छैन, राप्रपाले सडकमा आउने हिम्मत गरोस्, हामी आन्दोलनमा जान तयार छौं,' उनले भने, 'नेतृत्व समस्याको विषय हुँदैन ।'
थापाले केशरबहादुर विष्ट ,दुर्गा प्रसाईं , किशोरी महतोलगायत विभिन्न समूहमा रहेका शक्तिहरूलाई पनि एकताबद्ध भएर आन्दोलनको आधिबेहरी सृजना गर्ने अभियानमा संलग्न हुन आह्वान गरे । 'अहिले हामीलाई आन्दोलन चाहिएको छ ,निकास चाहिएको छ, विकास चाहिएको छ,' उनले भने, 'भ्रष्टाचारको अन्त्य हाम्रो चाहना हो ।'