२९ जेठ २०८३, शुक्रबार
सरसर्ती २४ घण्टा

५ बुँदे सहमतिपछि उपेन्द्र यादवमा छटपटी, देउवामार्फत प्रधानमन्त्रीलाई सन्देश

साउन २५, २०८०
काठमाडौं
५ बुँदे सहमतिपछि उपेन्द्र यादवमा छटपटी, देउवामार्फत प्रधानमन्त्रीलाई सन्देश

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
१७ वर्षअघि रौतहटको गौरमा २७ जनाको ज्यान जानेगरी भएको हत्याकाण्डबारे छानबिन गर्ने गरी गृह मन्त्रालयले पीडितसँग ५ बुँदे सहमति गरेपछि जसपा अध्यक्ष उपेन्द्र यादव झस्किएका छन् । गौर हत्याकाण्डको फाइल खोल्ने सुरसार गरेको भन्दै उपेन्द्रले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकार छाड्ने धम्की समेत दिएका छन् । 
गृह मन्त्रालयले पीडितसँगसहमति गरेलगत्तै मंगलवार उपेन्द्रले सत्ता साझेदार प्रमुख घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । 

मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलको बैठकलगत्तै उपेन्द्रले देउवासँग भेट गरेका थिए ।  भेटमा उपेन्द्रले नक्कली भुटानी शरणार्थी प्रकरणमा तपाईं (देउवा)लाई अप्ठ्यारो पारेजस्तै अहिले आफूलाई अप्ठ्यारो पार्न लागेकोु भनेर गुनासो गरेको स्रोतको दाबी छ ।

जसपा उच्च स्रोतका अनुसार देउवाले आफूले प्रधानमन्त्रीसँग कुरा गर्ने भन्दै तत्काल सरकार छाड्ने निर्णय नलिन आग्रह गरेका थिए । उपेन्द्रको सरोकारबारे बुधवार देउवाले प्रचण्डसँग छलफल गरेका छन् । 

बालुवाटारमा तीन दलको बैठकअघि प्रचण्ड र देउवाबीच भएको भेटमा यस विषयमा कुराकानी भएको उच्च स्रोतको दाबी छ । ‘गठबन्धनले उहाँलाई विजयी गराएर संसदमा ल्याएको हो, यस्तो बेला सरकार छाड्नुहुन्छ र ओली (एमाले अध्यक्ष केपी शर्मा ओली)सँग जान्छु भन्नुहुन्छ भने केही छैन, १२ को बदला १४ भित्र्याउँछु,’ प्रचण्डले देउवालाई दिएको जवाफबारे जानकार जसपा स्रोतले भन्यो ।

प्रचण्ड र देउवाबीचको भेटपछि उपेन्द्रले देउवासँग टेलिफोन संवाद गरेका थिए । त्यसक्रममा देउवाले प्रचण्डसँग कुराकानी गरेको जवाफ दिएको स्रोतले बतायो । प्रचण्डले १२ को बदलामा १४ भनेर राप्रपातर्फ संकेत गरेका हुन् । संसद्मा राप्रपाका १४ र जसपाका १२ सांसद छन् । प्रचण्ड सरकारमा सहभागी राप्रपा ३२ दिनमै सरकारबाट बाहिरिएको थियो ।
००००
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण प्रतिनिधिसभा बैठक शुक्रवारसम्मका लागि स्थगित भएको छ ।
विमानस्थल भन्सार कार्यालय बाहिरबाट समातिएको एक क्विन्टल सुन सम्बन्धमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमाले सांसदहरूले अवरोध गरेपछि बैठक शुक्रवारसम्मका लागि स्थगित भएको हो । 
बुधवार बसेको बैठकको शुरूमै एमाले सांसदहरू उठेर विरोध जनाए । त्यसपछि सभामुख देवराज घिमिरेले एमाले सांसद सूर्य थापालाई बोल्न समय दिए । 

थापाले बोल्न शुरू गरेपछि सत्तापक्षका सांसदहरू उठेर बोल्न समय माग गरेका थिए । त्यसपछि संसद्मा एकछिन होहल्ला भयो । थापाले छानबिन समिति गठनको माग गरेका थिए । 
त्यसपछि सभामुख घिमिरेले शुक्रवार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरे ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेले क्विन्टल सुन प्रकरण छानबिनको जिम्मा कुन कानूनमा टेकेर सीआईबीलाई दिइएको हो भन्दै प्रश्न गरेका छन् । बुधवार एमालेको अवरोधका कारण प्रतिनिधिसभा बैठक अवरुद्ध भएपछि बाहिरिने क्रममा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै लामिछानेले यस्तो प्रश्न गरेका हुन् ।
००००
ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको प्रकरणमा पक्राउ परेका २० जनालाई थप सात दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति प्राप्त भएको छ ।

जिल्ला अदालत काठमाडौंले उनीहरूलाई थप एक साता हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई अनुमति दिएको हो ।

सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा सीआईबीले सरकारी कागजात किर्ते र सङ्गठित अपराधमा उनीहरूमाथि अनुसन्धान गरिरहेको छ ।
००००
डेङ्गु भाइरसको सङ्क्रमण बढ्दै गएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले बुधबार सार्वजनिक गरेको तथ्याङ्कमा दश हजार सात सय २६ जनालाई डेङ्गु सङ्क्रमण देखिएको छ । सङ्क्रमण ७४ जिल्लामा फैलिएको छ भने सात जनाको मृत्यु भइसकेको छ ।
००००
अधिवक्ता भगवती पाण्डेले दिएको अभिव्यक्तिविरुद्ध उनलाई कार्वाही गर्नुपर्ने मागसहित तामाङ र मगर समुदायले साउन १७ गते प्रहरी परिसर टेकुमा गरेको धर्नामा प्रहरीले बल प्रयोग गरेको घटनाबारे सरकारले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।

त्यस्तै कारागार कार्यालय संखुवासभासभाका कैदीहरू विनोद तोलाङ्गी र विकास श्रेष्ठ भनिने आकाश बलामीको साउन २४ गते कारागारभित्रै मृत्यु भएको सम्बन्धमा समेत सत्यतथ्य जाचबुझ गरी प्रतिवेदन पेश गर्न आजकै निर्णयानुसार अर्को समिति गठन गरिएको छ ।
००००
वैदेशिक रोजगार विभागले श्रम करारबमोजिम काम नदिई अलपत्र परेको र पीडितलाई क्षतिपूर्ति नदिएको भन्दै दुई वटा मेनपावर व्यवसायीको इजाजतपत्र खारेज गरेको छ । 
पीडितलाई क्षतिपूर्ति नदिने डिलक्स एचआर सोलुसन र डि–स्क्वार्ड ग्रुप मेनपावर कम्पनीको इजाजतपत्र खारेज गरिएको विभागका प्रवक्ता तथा निर्देशक कविराज उप्रेतीले  जानकारी दिए । उनका अनुसार दुवै कम्पनीले पीडितलाई क्षतिपूर्ति नदिएको र क्षतिपूर्ति दिन आनाकानी गर्दै आएपछि उनीहरुको इजाजतपत्र नै खारेज गरिएको हो ।
०००००
बर्सेनि मल अभावले तड्पिने कृषकहरू यो वर्ष भने मुख्य बाली धान रोप्ने बेला मल पाइएन भनेर खासै चिन्तित हुनु परेन ।  गत आर्थिक वर्ष २०७९–८० मा सरकारले भित्र्याएको मल कृषकबाट आउने राष्ट्रिय मागको लक्ष्य १ लाख १७ हजार मेट्रिकटन कम छ । तर, पनि यो वर्षको धान रोप्ने सिजनलाई मल पर्याप्त भएको छ ।

सरकारले गएको असार मसान्तसम्ममा ४ लाख ३ हजार मेट्रिकटन रासायनिक मल आयात गरेको छ । राष्ट्रिय माग ५ लाख २० हजार मेट्रिकटनको तुलनामा आएको मल १ लाख १७ हजार मेट्रिकटन कम हो । तर पनि बजारमा मल अभाव छैन ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका आदिवासी समुदायले बोल्ने सबै भाषा, साहित्य, संस्कृति, समाजशास्त्र, दर्शनको संरक्षण, संवद्र्धन र विकासमा सचेत र प्रतिबद्ध रहेको बताएका छन् ।

उनान्तिसौं आदिवासी दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वाधीनता र एकतालाई सुदृढ गर्न एवं संविधानको परिकल्पनाअनुरूप समाजवादको आधार तयार पार्नसमेत यस दिवसले महत्त्वपूर्ण प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । दिवस बुधबार देशभर विभिन्न कार्यक्रम गरेर मनाइयो । 
००००
सरकारले पाँच रुपैयाँ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई दिने भएको छ । 
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले सिक्का टकमरी गर्न राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय भएको जानकारी दिइन् ।
साथै उनले बैठकले राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० पनि स्वीकृत गर्ने निर्णय भएको जानकारी दिइन् । उनका अनुसार सरकारले सिंहदरबारको संशोधित गुरुयोजना पनि स्वीकृत गरेको छ ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ४१ दशमलव ०६ अङ्कले बढेर दुई हजार ६० दशमलव ९१ बिन्दुमा पुगेको छ । 
दुई सय ६५ कम्पनीको ५० लाख १० हजार सात सय १८ कित्ता शेयर ७७ हजार पाँच सय एक पटक खरिदबिक्री हुँदा रू एक अर्ब ८८ करोड ८३ लाख २६ हजार चार सय ६९ बराबरको कारोबार भएको छ ।
००००
नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो हटाउने भन्दै रास्वपा कार्यकर्ताहरू चुनावी चिह्नसहितको ज्याकेट लगाएर पुगेपछि जिल्ला प्रशासन कार्यालय चितवनले आपत्ति जनाएको छ ।

विपद्का घटनाहरूमा प्रशासन आफैंले काम गरिरहेको भन्दै कुनै दल विशेषले आफ्नो पहिचानसहित गएर तस्वीर लिने र सामाजिक सञ्जालमा राख्ने काम गरेकोमा सूचनामार्फत आपत्ति जनाइएको हो ।
००००
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २० जना उपसचिवहरूको सरुवा गरेको छ । सिंहदरबारस्थित विभिन्न मन्त्रालयमा कार्यरत रहेका उपसचिवहरूलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरुवा गरिएको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्