
भारतको मुम्बई लैजाँदै गरिएकी एक नेपाली किशोरीलाई उद्धार गरिएको छ ।
दैलेख घर भएकी ती किशोरीलाई चाईल्ड लाइन, दिल्ली पुलिस र ‘किन इन्डिया’को संयुक्त प्रयासमा ‘नयाँ दिल्लीस्थित पुलिस स्टेशनबाट उद्धार गरिएको हो ।
किन इन्डियाका परामर्शकर्ता लक्ष्मी विष्टका अनुसार एक व्यक्तिले राम्रो काम लगाइदिने र चलचित्रमा समेत काम दिलाइदिने प्रलोभन देखाएर ती किशोरीलाई घरपरिवारमा जानकारी नगराई लगेका थिए ।
मुम्बई जान हिँडेकी उनलाई त्यहाँ कुन ठाउँ जाने भन्नेसमेत जानकारी नभएको उनले जानकारी दिइन् । बालिकालाई अहिले नयाँ दिल्लीस्थित नेपाली राजदूतावासको समन्वयमा ‘सिडब्लू सी’ मा पेश गरी सुरक्षित आवास गृहमा राखेर परामर्श भइरहेको र कानूनी प्रक्रिया पूरा गरी स्वदेश फिर्ता गराइने किन इन्डियाका नेपाल प्रमुख इन्द्रराज भट्टराईले जानकारी दिए ।
उनले कुनै पनि सामाजिक सञ्जालबाट लोभ लालच दिएर बोलाउँदा विश्वास नगर्न र घरपरिवारको जानकारीविना कहीँ कतै नजान महिला तथा बालबालिकालाई अनुरोधसमेत गरेकी छिन् ।