विराटनगरको महेन्द्र मोरङ क्याम्पसका क्याम्पस प्रमुख बाबुराम तिम्सिनासहित चारजना प्राचार्य कार्यकक्षमा थुनिएका छन् ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) र महेन्द्र मोरङका विद्यार्थीहरूले क्याम्पस प्रमुख तिम्सिना, सहायक क्याम्पस प्रमुख शिवराम चौधरी, बीबीएसको कोडिनेटर रामनारायण दास र बीबीएमका कोअर्डिनेटर इन्द्रनारायण देवलाई सोमबार कार्यकक्ष थुनेका हुन ।
इन्टर्नशिप गरेको रिपोर्टको शुल्क कलेज प्रशासनले आफूखुसी बढाएको भन्दै विद्यार्थी नेताहरूले प्रमुखसहित विभागीय प्रमुखलाई कार्यकक्षमा थुनेका हुन । इन्टर्नशिप रिपोर्टको शुल्क तेब्बर बनाएपछि विद्यार्थीहरूले आन्दोलन गर्दै आएका थिए ।
यसअगाडि १ हजार शुल्क लिँदै आएको क्याम्पसले केही दिन अगाडिदेखि तीन हजार रुपैयाँ शुल्क वृद्धि गरेको थियो ।
‘विनाजानकारी क्याम्पस प्रशासनले शुल्क वृद्धि गरेपछि निर्णय सच्याउन आग्रह गरेका थियौं,’ स्ववियु सभापति जोसवन पौडेलले भने, ‘क्याम्पस प्रशासनले वृद्धि भएको शुल्क नघटाएपछि क्याम्पस प्रमुखसहित प्रध्यापकहरूलाई कार्यकक्षमा थुनेका हौं ।’
विद्यार्थीहरूले इन्टर्नशिप रिपोर्टको साविकको शुल्क कायम गरिनुपर्ने भन्दै यसअघि २४ घण्टाको अल्टिमेटम दिएका थिए । क्याम्पसले शुल्क नघटाएपछि विद्यार्थीहरूले तालाबन्दी समेत गरेका थिए ।