![नवजात शिशु बिक्री घटना [अपडेट]: ग्रीनक्रसका सञ्चालक खवास पनि पक्राउ](https://lktcdn2.prixacdn.net/media/greencross_LVOK9x2EdS.jpg)
नवजात शिशुलाई बिक्री गरेको आरोपमा विराटनगरको ग्रीनक्रस अस्पतालका सञ्चालक कृष्ण खवास पक्राउ परेका छन् । नवजात शिशु बिक्री गरेको घटनामा संग्लन भएको खुलेपछि उनलाई बिहीवार प्रहरीले पक्राउ गरेको हो ।
शिशुको बिक्री ग्रीनक्रस हस्पिटलबाट भएको र हस्पिटलबाट समेत संस्थागत त्रुटि देखिएको अनुसन्धानबाट खुलेपछि सञ्चालक खवासलाई आइतवार पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जन दाहालले जानकारी दिए । उनका अनुसार पक्राउ परेका खवासलाई मोरङ अदालतबाट म्याद थप गरी अनुसन्धान पनि शुरू गरिएको छ ।
यससँगै नवजात शिशु बिक्री प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ । जसमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा तपेश्वरलाल कर्ण पनि छन् । कर्णले पछिल्लो समय एक अविवाहित युवतीबाट जन्मिएकी शिशु (छोरी) ५ लाखमा बेचेको खुलेको छ ।
यसअघि प्रहरीले डा कर्ण र शिशुका बाबु भोजपुरको हतुवा गढी गाउँपालिका–४ का गोविन्द राई, ग्रीनक्रस अस्पतालकी सरसफाइकर्मी सुधा राजबंशी, कटहरी गाउँपालिका २ का दिलमाया राजवंशी र सूर्यनारायण राजबंशी तथा सिरहाको कल्याणपुर नगरपालिका १२ की नर्स निर्मला यादवलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
पक्राउ परेकालाई प्रहरीले सङ्गठित अपराध, मानवबेचबिखन तथा ओसार-पोसार र व्यक्ति बेपत्ता पारेको कसुरमा मुद्दा चलाउने गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । सरकारी वकिलसँग राय लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताए ।