
मुस्लिम समुदायलाई लक्षित गरी सामाजिक सञ्जाल फेसबूकमा लेखिएको ‘स्टाटस’ले बाँकेको नेपालगञ्जमा सम्भावित धार्मिक द्वन्द्वलाई लिएर चिन्ता बढेको छ । मुस्लिम समुदायलाई गाली गरेर सामाजिक सञ्जालमा लेखिएको उक्त उत्तेजनात्मक स्टाटसले नेपालगञ्जमा हिन्दू र मुस्लिमबीच धार्मिक द्वन्द्वको केन्द्र बनाउने प्रयास भएको देखिएको हो ।
सामाजिक सञ्जालको दुरूपयोगले केही समयअघि सुनसरीको धरानमा पनि यस्तै अवस्था सिर्जना भएको थियो । मुस्लिम धर्मावलम्बीको आस्थामा आँच पुर्याउने गरी फेसबूकमा लेखिएको स्टाटसमाथि ‘कमेन्ट’ गरिएको भन्दै असोज १४ गते आइतबार नेपालगञ्जका मुस्लिम समुदायका युवाले जिल्ला प्रशासन कार्यालय, बाँकेअगाडि विरोध प्रदर्शन गरेका थिए ।
‘स्टाटस’ र ‘कमेन्ट’ हेरेर त्यहाँका मुस्लिम समुदाय रुष्ट थिए । उनीहरूको असन्तुष्टिलाई बाहिर निस्कनबाट रोक्न भनेर मंगलवार धार्मिक सद्भाव कायम गर्न बिहान ८ बजे नेपालगञ्जको बीपीचौकबाट र्याली निकालियो । सामाजिक सद्भाव बलियो बनाउन निकालिएको उक्त र्यालीपछि फेरि बिहान ११ बजेतिर ओमकार परिवारले अर्को र्याली निकाल्यो ।
ओमकार परिवारको र्यालीमा झडप र तनावग्रस्त अवस्था सिर्जना भएपछि निशेधाज्ञा (कफ्यू आदेश) जारी गर्नुपरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी (प्रजिअ) टोपेन्द्रबहादुर केसीले जानकारी दिए ।
‘ओमकार परिवार हिन्दू समाजले निकालेको र्यालीका क्रममा विवाद उत्पन्न भयो,’ केसीले लोकान्तरतसँग भने, ‘हामीले अहिले धेरैजना जम्मा भएका भीडहरू हटाइरहेका छौं । व्यापक रुपमा प्रहरी परिचालन भएको छ । सम्भावित घटना हुन नदिन प्रशासन लागिरहेको छ ।’ सहायक प्रजिअले थपे, ‘धर्ममाथि आक्षेप लगाएर सामाजिक सञ्जालमा लेख्ने व्यक्तिको प्रशासनले खोजी गरिरहेको छ । हामी त्यसबारे अनुसन्धान गर्दैछौंं ।’ लेख्ने व्यक्ति को हुन् र कहाँका हुन् भन्ने विषयमा प्रशासनले खुलाएको छैन । तर, उनी बाँकेको नरैनापुर गाउँपालिकाका युवा रहेको बताइएको छ ।
सम्भावित मुठभेडको संकेत टार्न नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र दिउँसो १ बजेदेखि निषेधाज्ञा जारी छ । निशेधाज्ञा लगाइए पनि विभिन्न ठाउँमा मानिस बाहिर निस्केको बताइएको छ । हिन्दू र मुस्लिम समुदायबीच धार्मिक सद्भाव बिग्रिने अवस्था मूल्याङ्कन गरेर निषेधाज्ञा जारी गरिएको बाँकेका पजिअ विपिन आचार्यले बताए । अफ्टयारोस्थिति निम्तिन नदिन कफ्यू लगाइएको उनको भनाइ छ ।
बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोषसिंह राठौरले शान्ति सुरक्षा कायम गर्ने दिशामा सबैसँग समन्वय भइरहेको बताए । ‘सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुडा प्रहार, उच्छृंखल गतिविधिका कारण सर्वसाधारणको सुरक्षामा पर्नसक्ने सम्भावित जोखिम एवं शान्ति भंग हुन सक्ने अवस्था आएपछि प्रशासनले कफ्यू लगाइएको हो,’ एसपी राठौरले भने, ‘नेपालगञ्ज नगर क्षेत्र पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाका किल्लाभित्र कसैले भेला हुन, सभा–समारोह गर्न, जुलुस र्याली गर्न, हुल हुज्जत गर्न र हिंड्डुल गर्न समेत पाइँदैन ।’

नेपालगञ्जमा बेला–बेला हिन्दू र मुस्लिमबीच टकराबको अवस्था आइरहन्छ । नेपालगञ्जमा गाई काट्ने गरेको आरोप हिन्दूहरूले लगाउँदै आएका छन् । गाई काटेर खानेलाई प्रहरीले बेला–बेला पक्राउ गरी आवश्यक अनुसन्धान पनि गर्दै आएको छ । नेपालगञ्जमा जनसंख्याका हिसाबले हिन्दू र मुस्लिमको बराबरजस्तै छन् । नेपालगञ्ज पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र तथा प्रमुख शहर पनि हो । अहिले बसाइसराइको केन्द्र पनि नेपालगञ्ज नै बनेको छ । नेपालगञ्जमा सदभाव कायम गर्नुपर्ने अवस्था आएको नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्धिन राईले बताउँछन् ।
‘स्टाटस’ लेख्ने व्यक्ति नरैनापुर गाउँपालिका शिक्षकका छोरा रहेछन्,’ राईले लोकान्तरसँग भने, ‘त्यसप्रति प्रशासनले चासो नदिँदा आज स्थिति तनाबग्रस्त बन्न पुग्यो । ती व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाही गरेको भए यो अवस्था आउने थिएन ।’

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सबै समुदाय संयमित हुनुपर्ने बताए । नेपालगञ्जलाई अशान्त पार्न खोजिएको भन्दै सद्भाव कायम गर्न नगरपालिका प्रयन्तशील रहेको विष्टको भनाइ छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद डा धवलशमशेर राणाले नेपालगञ्जमा सद्भाव कायम गर्न आग्रह गरेका छन् ।
प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै सांसद राणाले दुई समुदायबीच सद्भाव भड्किने भ्रामक सन्देश प्रवाह गरिएको भन्दै त्यस्तो गर्नेहरूलाई कारबाही गर्न माग गरे । पछिल्लो समय बढ्दो सामाजिक सञ्जालको प्रयोगले विभिन्न अफ्ठ्यारो अवस्था र अशान्ति निम्ताउने काम भइरहेकाेमा नेपालगञ्जबासीहरू चिन्तित देखिएका छन् ।