
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले युवामैत्री निति, कानून र योजना निर्माणमा गर्नुपर्ने बताएका छन् । युवाको पक्षमा कानून बनाउन नेपालको संसद् प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले अहिले युवाहरूमा देखिएका निराशा अन्त्य गर्नुपर्ने बताए ।
नेपाल जेसिजको ५० औँ राष्ट्रिय महाधिवेशनको बुटवलमा शुक्रवार उद्घाटन गर्दै सभामुख घिमिरेले जेसिजका कतिपय अभियान राष्ट्रिय राजनीतिको भन्दा पनि उत्तम रहेको उल्लेख गरे । उनले जेसिजको मूल्य मान्यता अझै बढी पारिपालन गर्नुपर्ने आवश्यकता सबैमा रहेको औँल्याए ।
घिमिरेले जेसिजमा एकपटकमा एउटा पदमा मात्रै नेतृत्व गर्न पाउने परिपाटी अन्य संघ संस्था र राजनीतिमा पनि अनुकरणीय रहेको उल्लेख गरे ।
उनले १८ बर्षदेखि ४० वर्ष उमेर हद लागू गरिनु आफैँमा राम्रो पक्ष भएको भन्दै नेपाली राजनीतिमा ६० वर्ष उमेर काटेपछि पनि युवा नेता भन्ने परिपाटीलाई जेसिजबाट पाठ सिक्नुपर्ने बताए ।
‘राजनीतिमा जस्तो ६० काटेपछि पनि युवा नेता भन्ने यहाँ हुदैन, जुन हाम्रो पक्ष हो,’ उनले भने ।
पछिल्लो समय युवाहरूको राजनीतिप्रति आकर्षण बढ्दै गएको भन्दै उनले राजनीतिमा लाग्नका लागि पनि जोड दिए । उनले उच्च शिक्षा र रोजगारीका लागि युवा विदेशीने परिपाटी रहेको भन्दै यस्तो परिपाटी रोक्नका लागि सबैले पहल गर्नुपर्ने बताए ।
युवाहरूको अन्तनिहीत प्रतिभालाई पहिचान गरेर सरकारले स्वदेशमा नै युवा शक्ति बस्न पाउने गरी व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो ।
पछिल्लो समयमा युवा पुस्तामा देशमा नै केही गर्नुपर्दछ भन्ने अभियानको विकास भएको भन्दै उनले यसको लागि सरकारी निकायबाट पनि युवा पुस्ता पलायन रोक्नको लागि कदम चाल्नुपर्ने धारणा राखे ।
नेपाल जेसिजका पूर्वअध्यक्ष तथा महाधिवेशन निर्देशक जगतबहादुर पोखरेलले जेसिजको नियमबाट अन्यले पनि पाठ सिक्न जरुरी रहेको बताएका थिए । उनले बोल्नेभन्दा पनि काम गर्ने परिपाटीको विकास हुनुपर्नेमा जोड दिए ।