
एकल महिलाले सङ्घीय सरकारबाट सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था छ । उस्तै अवस्थाका पुरुषका लागि भने त्यस्तो व्यवस्था छैन । तर, इलामको देउमाई नगरपालिकाले भने त्यस्ता पुरुषका लागिसमेत मासिक भत्ताको व्यवस्था गरेको छ ।
देउमाईले ६० वर्ष उमेर पुगेका अविवाहित, पत्नीसँग सम्बन्धविच्छेद भई विवाह नगरेका ६० वर्ष उमेर पुगेका र पत्नीको मृत्यु भई अर्को विवाह नगरेका ६० वर्ष उमेर पुगेका पुरुषलाई रु एक हजार मासिक भत्ता वितरण गर्दै आएको छ ।
देउमाई नगरपालिकाले एकल पुरुष भत्ता वितरणसम्बन्धी कार्यविधि पारित गरी एकल पुरुषलाई भत्ता वितरण गर्दै आएको छ । देउमाईले गएको आर्थिक वर्ष २०७९/८० मा नगरभित्रका दुई सय सात जना एकल पुरुषलाई रु २४ लाख ८४ हजार भत्ता उपलब्ध गराएको लेखा अधिकृत गजेन्द्र येक्तेनले जानकारी दिए ।
त्यसैगरी देउमाई नगरपालिकाले ४५ वर्ष उमेर पुगेका अविवाहित महिला र तेस्रोलिङ्गीलाई भत्ता दिँदै आएको छ । ४५ वर्ष उमेर पुगेका अविवाहित महिलालाई मासिक रु एक हजार र तेस्रोलिङ्गीलाई मासिक रु पाँच सयका दरले उपलब्ध गराउँदै आएको छ । गएको आवमा देउमाईका ८८ जना ४५ वर्ष उमेर पुगेका अविवाहित महिलाले रु १० लाख ५६ हजार पाएका छन् ।
चालु आवमा भने गत वर्षको तुलनामा दुईजना थप भएको छ । चालु आवको पहिलो त्रैमासिकमा ९० जना ४५ वर्ष उमेर पुगेका अविवाहित महिलाले रु दुई लाख ७० हजार भत्ता लिएका छन् । देउमाई नगरपालिकाले चालु आवमा ४५ वर्ष उमेर पुगेका अविवाहित महिला भत्ताका लागि रु १० लाख विनियोजन गरेको छ । तेस्रोलिङ्गीहरु भने भत्ता लिन कोही नआएको लेखा अधिकृत येक्तेनले बताए ।