०४ साउन २०८३, सोमबार
कारागारभित्रै बारम्बार कैदीको मृत्यु

मोरङ कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदी: ३० महिनामा २९ को मृत्यु

पुस ९, २०८०
विराटनगर
मोरङ कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदी: ३० महिनामा २९ को मृत्यु

मोरङ कारागारमा विराटनगर– १० का ४८ वर्षीय कैदी चण्डेश्वर सहनीको आज (सोमबार) बिहान मृत्यु भयो । सहनीले भुक्तान गर्नुपर्ने कैद अवधि आजै सकिँदै थियो । तर, कारागार बाहिर निस्कने दिन नै उनको मृत्यु भएको हो । 

जेल प्रशासनका अनुसार उनका ‘पेट दुख्ने र श्वास प्रश्वाससम्बन्धी समस्या देखिएको थियो । दुई दिनअघि मात्र विराटनगरस्थित कोसी अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा सोमबार बिहान उनको निधन भएको मोरङ कारागार प्रशासनले जनाएको छ । 

मोरङ कारागारमा कैदीको मृत्यु भएको यो पहिलोपटक होइन । गत मंसिर २१ गते कारागारमा पुर्पक्षको लागि थुनामा रहेका मोरङ लेटाङ–४ का ४० वर्षीय केशरबहादुर भुजेलको पनि मृत्यु भएको थियो । उनीमाथि कारागारभित्रै कुटपिट गरिएको र घाइते भएपछि कोशी अस्पतालमा मृत्यु भएको भन्दै आफन्तको धेरै दिनसम्म शव नै बुझ्न मानेका थिएनन् । उनीहरूले छानबिन गर्नु पर्ने भन्दै आन्दोलन गरेका थिए ।  

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहको संयोजकत्वमा छानबिन समिति बनेपछि उनीहरूले शवको दाहासंस्कार गरे । समिति बने पनि प्रतिवेदन भने सार्वजनिक गरेको छैन । पोष्टमार्टम रिपोर्ट आएपछि प्रतिवेदनले पूर्णता पाउने साहले बताए । ‘अहिले हामी अनुसन्धानकै क्रममा छौं,’ साहले भने, ‘पोष्टमार्टम रिर्पाट आएपछि प्रतिवेदनको काम पनि सकिन्छ ।’ कारागारबाट अस्पताल ल्याइएका अधिकांश कैदीमा पेट दुख्ने र रिँगटा चल्ने समस्या देखिएको अस्पताल प्रशासनले जनाएको छ । यी माथिका प्रतिनिधि घट्ना मात्रै हुन् । मोरङ कारागारमा ३० महिनामा २९ जना कैदीबन्दीको मृत्यु भएको छ ।

मोरङ कारागारको क्षमता २५० जना पुरुष र ५० जना महिलाको हो । तथ्याङ्क हेर्दा मोरङ कारागारमा हाल ९४७ पुरुष र ९५ महिला गरी १ हजार ४२ जना कैदीबन्दी छन् ।

मानवअधिकारको रक्षा नभएको भन्दै यसअघि मानवअधिकारवादी संस्था इन्सेकले उच्च अदालत विराटनगरमा मुद्दा दर्ता गरेको थियो । मोरङ कारागारमा रहेका कैदीबन्दीहरूको शङ्कास्पद मृत्युका घटनामा पोष्टमार्टम नहुने, कैदीबन्दीको मृत्यु घटनामा छानबिन समितिले प्रतिवेदन सार्वजनिक नगर्ने, कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिएको इन्सेक कोशी प्रदेशका संयोजक तथा अधिवक्ता सोमराज थापाले बताए । 

२०८० असार २० गते दायर गरेको उक्त रिटमाथि अहिलेसम्म कुनै सुनुवाइ नभएको इन्सेक प्रतिनिधि पुण्य पी अधिकारीले बताए । संघीय संसद् प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समितिले २०७८ चैत्र १४ देखि १७ गतेसम्म मोरङ, सुनसरी र इलाम जिल्लाका कारागारहरूको अनुगमन गरेको थियो ।

समितिका संयोजक मीन विश्वकर्मा नेतृत्वको टोलीले गरेको अनुगमनका क्रममा कैदीबन्दीहरूको अत्याधिक चाप हुँदा कारागारमा छाला र श्वासप्रश्वाससम्बन्धी विभिन्न रोगका कारण कैदीबन्दीहरूको निधन भइरहेको निष्कर्ष निकालेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्