२१ जेठ २०८३, बिहीबार

रेड नोटिस जारी भएका २ अभियुक्त यूएईबाट पक्राउ

जेठ ४, २०८१
काठमाडौं
रेड नोटिस जारी भएका २ अभियुक्त यूएईबाट पक्राउ

ज्यानसम्बन्धी कसुर र विद्युतीय कारोबार कसुरसम्बन्धी मुद्दामा फरार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।​​

इन्टरपोलबाट रेड नोटिस जारी भएका  मोरङ लेटाङ नगरपालिका–३ का ४१ वर्षीय बलबहादुर लिम्बू र नवलपरासी पूर्वमध्यविन्दु नगरपालिका–१३ का  २३ वर्षीय सन्तोष न्यौपाने पक्राउ परेका हुन् ।

इन्टरपोलको शाखा एनसीबी अबुधाबी युएईको समन्वयमा यूएईमा पक्राउ परेका उनीहरूलाई बिहीबार नेपाल ल्याइएको प्रहरी मुख्यालयले जनाएको छ ।

पक्राउ परेकामध्ये लिम्बूविरुद्ध ज्यानसम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत मोरङबाट पक्राउ पुर्जी जारी भएको थियो ।

उनी वैदेशिक रोजगारको सिलसिलामा यूएईमा थिए । उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि मोरङस्थित इलाका प्रहरी लेटाङबाट एनसीबीमा पत्राचार भएको थियो ।​

उनीविरुद्ध इन्टरपोल महासचिवालयबाट सन् २०२४ फेब्रुअरी ७ मा रेड नोटिस जारी भएको थियो ।

त्यस्तै विद्युतीय कारोबार कसुरसम्बन्धी मुद्दामा न्यौपानेविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको थियो ।

उनी  वैदेशिक रोजगारको सिलसिलामा यूएईमा थिए । उनीविरुद्ध २०२३ जुलाई १० मा रेड नोटिस जारी भएको थियो ।

लिम्बूलाई इलाका प्रहरी कार्यालय लेटाङ मोरङ र न्यौपानेलाई साइबर ब्यूरोमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि बुझाइएको मुख्यालयका प्रवक्ता एसएसपी दानबहादुर कार्कीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्