१४ असार २०८३, आइतबार

चितवनमा ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकल नियन्त्रणमा

पुस २२, २०८१
चितवन
चितवनमा ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकल नियन्त्रणमा

चितवनका विभिन्न स्थानमा मोटरसाइकलको स्वरूप परिवर्तन गर्ने र तीव्र गतिमा चर्को आवाज निकाली ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले विभिन्न समयमा गरी ती मोटरसाइकललाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया शुरू गरेको हो । कार्यालयका प्रमुख, प्रहरी निरीक्षक गायत्री राज शर्माका अनुसार स्वरूप परिवर्तन गरेर चर्को आवाजमा चलाइराखेको समयमा ती मोटरसाइकल नियन्त्रणमा लिइएको हो । 

उनका अनुसार विभिन्न समयमा स्वरूप परिवर्तन गर्ने मोटरसाइकललाई कारबाही गरिँदै गरिएकोमा ध्वनि प्रदूषण नघटेको पाइएको हुँदा स्वरूप परिवर्तन अन्तर्गत साइलेन्सर, ह्यान्डल, सिटलगायतका सामान कम्पनीको वा सवारी दर्ता किताबभन्दा फरक राखी चर्को आवाज निकाल्ने मोटरसाइकल नियन्त्रणमा लिइएको हो । यस्ता मोटरसाइकल आइतबार मात्रै ३० वटा नियन्त्रणमा लिइएको उनले जानकारी दिए । 

सामान्यतया ६० डेसिबलसम्मको आवाजलाई सामान्य मान्ने भए पनि यस्ता मोटरसाइकलले १२० देखि १९० डेसिबलसम्म आवाज निकाल्ने गरेको पाइएको छ । यसले मावन स्वास्थ्यमा प्रतिकूल असर गर्ने रक्तचाप बढ्ने, थकान महसुस हुने, तत्कालै रिसाउने, झर्किने, कान कम सुन्नेजस्ता समस्या आउन सक्ने कुरालाई मध्यनजर गर्दै ती मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक शर्माले बताए । 

यस्तो कार्यमा संलग्नलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ३९ बमोजिमको कसुरमा दफा १६० बमोजिम एक हजारदेखि पाँच हजारसम्म जरिवाना र बागमती प्रदेश सवारी तथा यातायात व्यवस्था गर्न बनेको ऐन २०७५ को दफा ४३ बमोजिमको कसुरमा दफा १९४ बमोजिम सात हजारदेखि १५ हजार रूपैयाँसम्म जरिवाना हुने शर्माले बताए । यस्ता मोटरसाइकललाई पूर्ववत् अवस्थामा फर्काएर जरिवाना तिराएर मात्रै छोडिने उनले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्