२२ असार २०८३, सोमबार

‘वर्तमान सरकार गठन भएपछि मुलुकमा सकारात्मक परिवर्तन देखा परेका छन्’

चैत ८, २०८१
काठमाडौं
‘वर्तमान सरकार गठन भएपछि मुलुकमा सकारात्मक परिवर्तन देखा परेका छन्’

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले वर्तमान सरकार गठन भएपछि मुलुकमा आर्थिक, सामाजिक क्षेत्रमा सकारात्मक परिवर्तन देखा पर्न थालेका बताएका छन् । 

नेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो महाधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उनले नेपाली कांग्रेस र एमालेको संयुक्त सरकार बनेपछि मुलुकमा आर्थिक गतिविधि चलायमान हुँदै गएको उल्लेख गरे । “दुई ठूला दलबीच समझदारी भएर वर्तमान सरकार बनेकाले यो सरकार परिवर्तन हुँदैन”, उनले भने, “यो सरकारले जनता केन्द्रित भएर काम गरिरहेकाले पनि यसलाई स्थायित्व दिनुपर्ने जरुरी छ ।”

महासचिव पोखरेलले भने, “जतिबेला मुलुकको आर्थिक अवस्था नाजुक बन्दछ र जनतामा निराशा फैलिन्छ । राज्यको शासन व्यवस्थामाथि सङ्कट आउँछ, त्यस्तो अवस्थामा प्रमुख पार्टी मिलेर जनताको निराशा अन्त्य गर्ने, अर्थतन्त्रलाई उकास्ने र मुलुकलाई सही मार्गमा हिँडाउने जिम्मेवारी रहन्छ । अहिले त्यही कर्तव्य पूरा गर्न दुई पार्टी मिलेका हुन् ।”

उनले पार्टीले यही चैत ११ गतेदेखि सञ्चालन गर्ने जनचेतनामूलक अभियानमा सरकारले गरेका राम्रा कामका बारेमा जनतालाई जानकारी गराइने बताए । महासङ्घका अध्यक्ष एनपी साँवाले सरकारले उद्योग व्यवसाय गर्ने वातावरण तयार गर्नुपर्नेमा जोड दिए । आजको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्