
राजावादीको प्रदर्शनले उग्र रूप लिएको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित पाँच जनाविरुद्ध लुटपाट, आगजनी, तोडफोड र ज्यान मार्ने उद्योग कसूरमा अनुसन्धान अगाडि बढाइने भएको छ ।
प्रहरी नियन्त्रणमा रहेका मिश्र र राणासहित स्वागत नेपाल, सन्तोष तामाङलगायत पाँच जनाविरुद्ध लुटपाट, आगजनी, तोडफोड र ज्यान मार्ने उद्योगलगायत पाँच कसूरमा अनुसन्धान गरिने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले लोकान्तरलाई जानकारी दिए ।
उनका अनुसार आज बिदा भएकोले उनीहरू प्रहरी हिरासतमै रहनेछन् । आइतबार कार्यालय खुलेपछि माथि उल्लेखित अभियोगमा म्याद थपगरी अनुसन्धान अगाडि बढाइने छ ।
प्रहरीले उनीहरू पाँचै जनालाई गएराति पक्राउ गरेको थियो । उनीहरूसँगै थप केही प्रदर्शनकारी पनि पक्राउ परेका छन् ।
यस्तै, प्रहरीले नवराज सुवेदीलाई पनि घरमै नजरबन्द गरेको छ । राजावादीको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक हुन् ।
राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त संघर्ष समितिका जनकमान्डर भनिएका दुर्गा प्रसाईं भने फरार भएका छन् । शुक्रवार दिउँसो काठमाडौँको तीनकुने क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनपछि उनी फरार भएका हुन् ।
आन्दोलन भड्काउने मुख्य योजनाकारको रूपमा प्रसाईंको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।
शुक्रवार राजावादीको प्रदर्शन चलिरहेको समयमा कमान्डर तोकिएका प्रसाईंले आफैँले गाडी चलाएर प्रहरीको घेरा तोड्ने प्रयास गरेका थिए । घरबाट तीनकुनेसम्म गाडीको हुटमा उभिएर आएका प्रसाईंले त्यसपछि तीनकुनेमा सुरक्षा घेरा दिइरहेका प्रहरीलाई धक्का दिनेगरी गाडी चलाएका थिए ।
त्यसपछि तीनकुने क्षेत्रमा झडपको स्थिति सृजना भएको थियो ।
प्रसाईंको नेतृत्वमा भएको आन्दोलनले हिंसात्मक रूप लिँदा शुक्रवार २ जनाको मृत्यु भएको थियो । दर्जनौं घरमा तोडफोड र गाडीमा आगजनी गरिएको थियो ।
परिस्थिति नियन्त्रण बाहिर गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले कोटेश्वर, तीनकुने क्षेत्रमा कर्फ्यु लगाएको थियो । आज बिहानबाट भने कर्फ्यु स्थगित गरिएको छ ।