
नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण नभइसकेको स्पष्ट पारेको छ ।
नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भण्डारीको पार्टी सदस्यता हालसम्म नवीकरण नभएको बताएका हुन् ।
पार्टीको दुई दिने पोलिटब्युरो बैठकपछि निर्णयहरू सार्वजनिक गर्ने क्रममा गौतमले भण्डारीको सदस्यता विषयमा छलफल हुने जानकारी दिँदै हाल त्यो प्रक्रिया ‘पेन्डिङ’ अवस्थामा रहेको बताए।
पत्रकारहरूको प्रश्नमा उनले भने, “अहिले उहाँको सदस्यता नवीकरण पेन्डिङ अवस्थामा छ। हामीले विधानका धारा ८ र ९ पनि हे-यौं, ती धाराहरू आकर्षित हुन्छन्। त्यसैले यो अवस्था स्थगनकै हो भन्ने बुझिन्छ।”
राष्ट्रपति हुनुअघि भण्डारीले पार्टी सदस्यता परित्याग गरेकी थिइन्। त्यसैले नवीकरणका लागि पार्टीभित्र निर्णय आवश्यक पर्ने गौतमको भनाइ छ।
यसअघि भण्डारीले आफूले एमालेको सदस्यता नवीकरण गरिसकेको बताएकी थिइन् ।