
प्रधानमन्त्री केपी शर्मा ओलीले तराई–मधेशमा खानेपानी र सिँचाइको अभाव हुन नदिन युद्धस्तरमा काम गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को आजकै बैठकबाट मधेश प्रदेशलाई प्राकृतिक विपद्ग्रस्त घोषणा गरिएको जानकारी दिँदै सम्पूर्ण शक्ति प्रयोग गरेर खानेपानी र सिँचाइ उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
‘यो सरकार राष्ट्रकासामु देखापरेका चुनौतीहरूको सामना गर्न लागेको छ । स्थिरता र स्थायित्वलाई कायम गरेर अघि बढ्ने हाम्रो संकल्प रहेको छ । अहिले पहाडमा वर्षा र बाढीको प्रभाव छ भने तराई-मधेश सुक्खा समस्याले ग्रस्त छ । यी समस्या समाधानका लागि सरकारले आवश्यक कदम चालेको छ’, प्रधानमन्त्री ओलीले भने, ‘प्राकृतिक विपद्ग्रस्त घोषणापछि तराई–मधेशमा कुनै सामग्री आवश्यक परेमा वा डिपबोरिङ गर्नुपरेमा सहज हुनेछ । यसतर्फ सरकार गम्भीर छ । अब अल्पकालीन र दीर्घकालीन उपाय खोजेर समस्या समाधानतर्फ लाग्नुपर्नेछ । यससम्बन्धी गर्नुपर्ने काममा सरकारले कुनै कसर बाँकी राख्ने छैन ।’