काठमाडौँ, २५ मङ्सिर - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सबैलाई मिलाएर राष्ट्रिय एकता कायम गर्न संविधान संशोधनको प्रस्ताव ल्याइएको बताएका छन् ।
नेपाल जेसिसको ४३औँ राष्ट्रिय अधिवेशनको आज टोखास्थित भूतखेलमा उद्घाटन गर्दै उनले हिमाल, पहाड र मधेस तथा सबै जातिलाई मिलाएर एकताबद्ध गर्नका लागि संशोधनको प्रस्ताव ल्याइएको स्पष्ट पारे ।

पहाडी र मधेसीका बीचमा वैमनस्यता सिर्जना गरेर पहाड र मधेसलाई अलग गर्न खोजिएको भन्दै पूर्व प्रधानमन्त्री देउवाले नेपालीका बीचमा सङ्कट पैदा गर्ने राष्ट्रवादी हुन्छ कि मिलाउने राष्ट्रवादी हुन्छ भने ।
नेकपा (एमाले)ले छिनछिनमा कुरा बदल्न नहुने बताउँदै उनले काँग्रेसका पूर्व सभापति सुशील कोइराला र नेकपा (एमाले) अध्यक्ष केपी ओलीले हस्ताक्षर गर्नुभएको सम्झौताका आधारमा संविधान संशोधन प्रस्ताव ल्याइएको स्पष्ट पारे ।