
काठमाडौं, २० फागुन– संघीय संसद र राष्ट्रियसभाका सांसदहरुले आज पद तथा गोपनियताको शपथ ग्रहण लिँदै छन् ।
दिउँसो चार बजे प्रतिनिधिसभा र पाँच बजे राष्ट्रियसभाका सदस्यहरुको शपथ ग्रहणका लागि ‘माननीय’हरु यति बेला संघीय संसदको भवन नयाँ बानेश्वर पुगेका छन् । 
त्यसका लागि सांसदहरु आफ्नो जात, भाषा, धर्म अनुसारको भेसभुषामा संसद भवन पुगेका छन् ।

कोहीले बख्खु लगाएका छन् भने नेवार समुदायका सांसद पारम्परिक पोशाकमा सजिएका छन् । मधेसी मुलका सांसद कुर्ता पाइजामा र फेटामा देखिएका छन् ।
पूर्व सभामुख ओनसरी घर्ती मगर समुदायको पारम्परिक पोशाकमा देखिएकी छिन् ।
राष्ट्रपतिबाट ज्येष्ठ सदस्यलाई शपथ
राष्ट्रपति विद्यादेवी भण्डारीले आज ज्येष्ठद सदस्य प्रतिनिधिसभाका महन्थ ठाकुर र राष्ट्रियसभाकी तारादेवी भट्टलाई पद तथा गोपनीयताको शपथ गराएकी छिन् ।
ठाकुरले मातृभाषा मैथिली भाषा र भट्टले नेपाली भाषामा शपथ लिएका थिए । गत मंसिर १० र २१ गते प्रतिनिधिसभा र माघ २४ गते राष्ट्रियसभाको निर्वाचन भएको थियो ।
ज्येष्ठ सदस्य ठाकुर प्रदेश नं २ अन्तर्गत महोत्तरी जिल्ला निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित भएका हुन् । उनी हाल ७१ र भट्ट ६९ वर्षका हुनुहुन्छ । शीतल निवासमा आयोजित समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश गोपाल पराजुली, मन्त्रिगण, संवैधानिक एवं सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ कर्मचारीलगायतको उपस्थिति थियो ।

नेपालको संविधान २०७२ को धारा ९१ को उपधारा ५ अनुसार सभामुख र उपसभामुखको निर्वाचन नभएका अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने प्रावधान छ ।
त्यसैगरी धारा ९२ को उपधारा ५ अनुसार राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचन नभइसकेका अवस्थामा उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले राष्ट्रियसभाको बैठकको अध्यक्षता गर्ने प्रावधान छ । 