
काठमाडौं, १८ चैत — विगत दुई वर्षदेखि अड्किएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको शिखर सम्मेलन इस्लामाबादमा आयोजना गर्नका लागि प्रधानमन्त्री केपी ओलीले भारतलाई अनुरोध गर्ने सम्भावना छ ।
भारत भ्रमणका क्रममा ओलीले सार्क सम्मेलन इस्लामाबादमा आयोजना गर्नका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी गर्न सक्ने सम्भावना छ । हुन त ओलीको भ्रमणमा यो मुख्य एजेन्डा होइन । तर सूत्रहरूका अनुसार,
नेपालका प्रधानमन्त्री सार्कका विषयमा अघि बढ्न चाहन्छन् र सन् २०१८ को अन्त्यसम्ममा इस्लामाबादमा यसको आयोजनाको सम्भावनामा चर्चा गर्न सक्छन् ।
नेपाल, श्रीलंका र माल्दिभ्स जस्ता देशले इस्लामाबादमा सार्क सम्मेलन आयोजना गर्नका लागि समर्थन दिएको विषय आफूहरूलाई थाहा भएको भारतीय अधिकारीहरूले बताएका छन् । तर सम्मेलन आयोजनाका विषयमा कुनै
औपचारिक प्रस्ताव प्राप्त नभएको उनीहरू बताउँछन् । भारतले सम्मेलन बहिष्कार गरेमा आयोजना हुन सक्दैन ।
अहिले सार्कको अध्यक्ष नेपाल हो । नेपालले यो जिम्मेवारी पाकिस्तानलाई सुम्पिने विचार गरिरहेको छ । उन्न्नाईसौं सार्क सम्मेलन सन् २०१६ मा पाकिस्तानमा हुनुपर्ने थियो र जम्मु कश्मीरको उडीमा पाकिस्तानका आतंकवादीहरूले
आक्रमण गरेपछि भारतले सम्मेलन बहिष्कार गरेको थियो । त्यसपछि सम्मेलन रद्द भएको थियो ।
हालै पाकिस्तानका प्रधानमन्त्री शाहिद अब्बासीले नेपाल भ्रमण गरेर इस्लामाबादमा सम्मेलन आयोजनाका लागि समर्थन मागेका थिए । ओली प्रधानमन्त्री भएपछि नेपालको भ्रमण गर्ने पहिलो राष्ट्रप्रमुख अब्बासी नै हुन् ।
सार्क सम्मेलन आयोजना गर्ने विषयमा दुवै नेताले सहमति जनाएको ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले बताए । सबै सदस्य देशका लागि यो गजबको साझा मञ्च भएको उनको भनाइ थियो ।
नवभारत टाइम्सबाट