
काठमाडौं –चीनको चार दिने भ्रमणमा रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतवार दिउँसो चिनियाँ क्रान्तिका ऐतिहासिक स्थलहरूको अवलोकन गरेका छन् । अध्यक्ष प्रचण्डले सन् १९४५ मा चीनको येनान प्रान्तमा सम्पन्न भएको चिनियाँ कम्युनिस्ट पार्टीको सातौं महाधिवेशन स्थलको अवलोकन गरेका उनको सचिवालयले जनाएको छ ।
उक्त महाधिवेशनले चिनियाँ क्रान्तिलाई विजयमा पुर्याउने ऐतिहासिक निर्णयहरू गरेको मानिन्छ । प्रचण्डले त्यसपछि सन् १९४२ मे मा सम्पन्न ऐतिहासिक येनान साहित्यिक गोष्ठी स्थलको अवलोकन गरे । सोही सन्दर्भमा अध्यक्ष प्रचण्डले येनानमा सन् १९३८ देखि सन् १९४५ सम्म रहेका माओले पहाड खोलेर बनाएको घरको अवलोकन गरे।
सो स्थानमा माओले प्रयोग गरेका कोठा, पुस्तक, टेबुल, पत्रपत्रिका आदिको प्रचण्डले अवलोकन गरे । उनले त्यसपछि येनानमा बनेको प्यागोडा शैलीको नौ तले टावरको अवलोकन गरे । उक्त स्थानबाट येनानको सानो भ्याली देखिन्छ । त्यसको ठीक माथिल्लो डाँडामा प्यागोडा शैलीको मन्दिर छ । उक्त स्थानबाट चिनियाँ लालसेनाले दुश्मनको निगरानी गर्ने गर्दथ्यो ।

सोही स्थानमा जनयुद्धको समयमा माओका लालसेनाले जापानी सेनाका लगभग १ सय जनालाई नियन्त्रणमा लिई प्रशिक्षण दिई जापानी आक्रमणकारीको बिरुद्धमा तयार पारेको थियो ।
त्यसैगरी उक्त स्थानमा चाउयनलाइ प्रधानमन्त्री भइसकेपछि गाडीमा आउँदा गाडी फसेपछि जनताले निकालिदिएका थिए ।
तत्कालै प्रधानमन्त्रीको आदेशमा सरकारले उक्त स्थानमा पुल निर्माण गरेको थियो । त्यस पुललाई आजभोलि मानिसहरू प्रधानमन्त्री पुलको नामले सम्बोधन गर्दछन् ।
स्थानीय उपमेयर, पार्टीका नेताहरू र जनमुक्ति सेना पोषाक नै लगाएर अध्यक्ष प्रचण्डको भव्य स्थागत गर्दै अवलोकनमा सहभागी बनेका थिए ।
अवलोकनको क्रममा प्रचण्डले चिनियाँ कम्युनिस्ट पार्टी, चिनियाँ सरकार र चिनियाँ जनताले चिनियाँ क्रान्तिमा महत्वपूर्ण स्थान राख्न सफल ऐतिहासिक स्थलहरूको संरक्षण गरेर विश्वभरीकै मुक्तिकामी जनताको निम्ति क्रान्तिलाई अध्ययन गर्ने महत्वपूर्ण सामाग्री प्रदान गर्ने काम गरेको बताए । उनले अवलोकन गरिएका स्थलहरूका बारेमा पुस्तकमा पढेको, तर अहिले प्रत्यक्ष अवलोकन गर्दा खुसी लागेको बताए ।
प्रचण्ड आइतवार बिहान ग्वान्जाओबाट सान्सी प्रस्थान गरेका थिए । उक्त सहर विश्वकै ठूलो मोटरसाइकल फ्याक्ट्रीका लागि प्रसिद्ध छ ।
सो प्रान्तका विदेश विभाग प्रमुखले अध्यक्ष प्रचण्डको स्वागत गरेका थिए । प्रचण्डले मोटरसाइकल, मोटर र सूचना प्रविधिसम्बन्धी उद्योगहरूको अवलोकन गरेका थिए ।
अवलोकनका क्रममा उनले भने, ‘नेपालमा बलियो कम्युनिस्ट पार्टीको नेतृत्वमा दुई तिहाईको सरकार बनेको छ । यो बेला नेपालको बिकास गर्ने बेला हो । चीन र नेपालका बीचमा चारवटा बन्दरगाह प्रयोग गर्न पाउने ट्रेण्ड एण्ड ट्रान्जिट सम्झौता भएको छ । यो नेपाल र चीनका लागि धेरै महत्त्वपूर्ण छ ।’
उनले आफूले नेतृत्व गरेको पार्टीले सञ्चालन गरेको जनयुद्धकै जगमा गणतन्त्र आएको उल्लेख गर्दै आफूहरूले माओ र चाओबाट धेरै सिकेको बताएका थिए ।