२४ जेठ २०८३, आइतबार

कैलालीको थारु गाउँमा साँझ ६ बजेसम्म मात्र पार्टी र भोजभतेर, नियम नमान्नेलाई जरिवाना

माघ ९, २०७५
कैलालीको थारु गाउँमा साँझ ६ बजेसम्म मात्र पार्टी र भोजभतेर, नियम नमान्नेलाई जरिवाना

धनगढी- कैलालीको भजनी नगरपालिका–९ स्थित पहलवान गाउँमा यहि माघीबाट खानपानमा निकै कडाई गरिएको छ । बुधबार सम्पन्न सो थारु गाउँको माघी डेवानी तथा/भूरा खेलबाट कडा नियम बनाइएको हो । गाउँको नव भलमन्सा (गाउँ प्रमुख) आशाराम चौधरीले गाउँमा हुने झै–झगडालगायत विकृतीलाई न्यूनीकरण गर्न खानपानमा कडाई गरिएको जानकारी दिए ।

पश्चिम नेपालको थारु वस्ती आफ्नै प्रथाजन्य कानूनबाट शासित छ, जहाँ गाउँको सर्वेसर्वा 'बरघर' तथा 'भलमन्सा' नै हुन्छन् । प्रायः थारु वस्तीमा खानपान तथा भोज भतेरको कुनै समयसीमा हुँदैन । खानपानमा उत्तिकै सौखिन समुदाय थारु जाति पनि हो ।

गाउँमा आयोजना हुने विवाह भोज, पार्टीलगायत कार्यक्रमको समयमा कडाई गरिएको बताउँदै चौधरीले त्यस्ता कार्यक्रम बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मात्र गर्ने नियम माघी डेवानी कार्यक्रमबाट बनाइएको जानकारी दिए । थारु वस्तीमा माघी पर्वलाई नयाँ वर्षको रुपमा लिइन्छ ।

पर्व मनाएलगत्तै गरिने माघी डेवानी अर्थात गाउँको नेतृत्व चयन तथा नीति नियम बनाउने सो कार्यक्रमबाट नयाँ नियम बनाउने या पुरानोलाई अनुमोदन गर्ने काम गरिन्छ । साथै गाउँको नेतृत्व पनि पुरानै अनुमोदन गर्ने या नयाँ बनाउने गरिन्छ ।

चयन हुने भलमन्सा, चौकीदारलगायतले आवश्यकता अनुसार गाउँको भेला बोलाउँछन् । तर भेलामा नआउने गाउँ सदस्यहरुलाई समेत सो पहलवान गाउँमा कडाई गरिएको छ । गाउँको भलमन्साका अनुसार डाकिएको गाउँ भेलामा उपस्थित नहुने सदस्यलाई ४ सय ५० रुपैया जरिवाना गरिएको छ । त्यस्तै तोकिएको बैठक समय भन्दा आधा घण्टा ढिलो उपस्थित हुनेलाई १० रुपैया र १ घण्टा ढिलो उपस्थित हुनेलाई १ सय रुपैया जरिवाना तोकिएको भलमन्सा चौधरीले जानकारी दिए ।

१ सय ४५ घरधुरी रहेको सो गाउँको सम्पन्न माघी डेवानी कार्यक्रमबाट गाउँको चिराकी (खबर बाहक)मा भोडुराम चौधरीलाई चयन गरेको छ । भने गुरुवा (पुरोहित)मा रिसपाल चौधरी र सचिव रामधन चौधरीलाई चयन गरेको छ । विनोद चौधरी, नवीन चौधरी, सीताराम चौधरीलाई सल्लाहकार समितिमा राखेको छ । थारु बस्तीमा नेतृत्व चयन गर्ने कार्य माघ महिनाभरि चल्ने गर्छ ।

salt training

कमेन्ट गर्नुहोस्