
काठमाडौँ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युद्ध लडेका योद्धाले हरेक क्षेत्रमा आफ्नो प्रतिभा देखाएर कमजोर नरहेको पुष्टि गर्दै आएको बताएका छन् ।
विगतकी लडाकु मिरा राई धाविका बनेर विश्वमा नाम चलाउँदा गर्वको अनुभूति भएको र जनयुद्धका १० सिपाही सगरमाथा चढेर एउटा किर्तिमान कायम गरेको स्मरण गर्दै अध्यक्ष दाहालले भने, “सामान्य या बुद्धि नभएका मान्छे युद्धमा लागेको होइन । बुद्धि भएका नै युद्धमा लागेका थिए भनेर आज पुष्टि भएको छ ।”
आज राजधानीमा सरल सहयात्रीले लेखेको उपन्यास ‘शिखरको ढुङ्गा’ सार्वजनिकीकरण तथा अन्तरसंवाद कार्यक्रममा उहाँले यो उपन्यास पनि त्यसैको कडी भएको जिकिर गरे ।
सहयात्री वौद्धिकता र साहित्यिक अनुभूतिको तीब्रतासहितको लेखक भएको औँल्याउँदै दाहालले लेखक र दिवङ्गत छोरा प्रकाश दाहालसहित १० जनाले खास उद्देश्यले सगरमाथा चढेको बताए ।
सगरमाथा चढ्ने बेलामा सरकारबाट सहयोग दिन खोज्दा चर्को आलोचना भएपछि आफैँले सहयोग दिने निर्णय खारेज गरेको स्मरण गर्दै दाहालले उनीहरु आफैँले चन्दा सङ्कलन गरेर आरोहण गरेको उल्लेख गरे ।
फरक प्रसङ्ग जोड्दै अध्यक्ष दाहालले पहिलो पटकको प्रधानमन्त्रीत्वको कार्यकाल झिलिमिलीमै बितेकोे र दोस्रो कार्यकाल राष्ट्रलाई नयाँ दिशा दिनका लागि योजना निर्माणको अवधिका रुपमा रहेको बताउँदै अहिले देश नयाँ अभियानसँगै समाजवादतर्फ अघि बढेको बताए ।
सहयात्रीको उपन्यास शिखरको ढुङ्गामाथि टिप्पणी गर्दै उपन्यासकार नयनराज पाण्डेले उपन्यासमा भाषाको लालित्यता गजबको रहेको प्रतिक्रिया दिए ।
लेखक सहयात्रीले जनयुद्धका योद्धा कमजोर नभई नयाँ कर्ममा सफल हुन सक्छौँ भन्ने विश्वास दिलाउन पुस्तक लेखेको जानकारी दिँदै जनयुद्धका योद्धाकै आधारबाट प्राप्त गणतन्त्रलाई नयाँ ढङ्गले प्रयोग गर्न सक्छौँ भन्ने उद्देश्यले १० यात्रीले सगरमाथा चढेको र त्यही उद्देश्य परिपूर्ण गर्न उपन्यास लेखेको बताए ।