
बुटवल – प्रदेश सरकार गठन भएको १ वर्ष पुगेपछि बल्ल ५ नम्बर प्रदेश सरकारले स्थायी राजधानी र नामाकरणका लागि जनताको घरदैलोमा अहिले सुझाव संकलनमा व्यस्त छ ।
प्रदेश राजधानी कहाँ र नामाकरण के गर्ने भनेर सांसदहरू जनताका राय सुझाव लिन जिल्ला दौडाहामा लागेका हुन् ।
सांसदहरूले प्रदेशका १२ वटै जिल्लामा विभिन्न ठाउँमा जनताका सुझाव संकलन गरिरहेका छन् । ६ टोलीले १२ जिल्लामा जनतासँगबाट सुझाव लिएको छ । राजधानी र नामाकरणबारे के भन्छन् जनताहरू ?
राजधानीका लागि मिश्रित सुझाव
स्थायी राजधानी र प्रदेश नामाकरणका विषयमा पश्चिम नवलपरासीका राजनीतिक दल र सरोकारवालाले मिश्रित सुझाव दिएका छन् । नामाकरणका लागि आएको विशेष समितिलाई सुझाव दिँदै स्थानीयले भौगोलिक, सांस्कृतिक, सुगमता र पहिचानका आधारमा स्थायी राजधानी र प्रदेश नामाकरण गर्न सुझाव दिए ।
रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ताले लुम्बिनी क्षेत्र नेपालमा मात्र नभई विश्वमै परिचित रहेकाले प्रदेशको नाम लुम्बिनी नै हुनुपर्ने बताए । नेपाली कांग्रेसका जिल्ला सचिव विक्रम यादवले ठूलो शहरको रुपमा विकास हुँदै गएको अस्थायी राजधानी बुटवललाई नै स्थायी राजधानी कायम गर्न सुझाव दिए ।
गौतम बुद्धसँग सम्बन्धित रहेकाले प्रदेशको नाम ‘लुम्बिनी’ राख्न उनको सुझाव छ । नेकपाका जिल्ला नेता घनश्याम यादवले राजधानीको विषय विकाससँग जोडिएकाले विभिन्न कारणले पछाडि परेका जिल्लालाई प्राथमिकता दिनुपर्ने बताए ।
१ वर्षसम्म पनि राजधानी तोक्न नसक्नु लज्जास्पद !
रूपन्देहीको भैरहवामा प्रदेश नामाकरण र स्थायी राजधानी सम्बन्धी सुझाव संकलन एंव अन्तत्र्रिmया कार्यक्रममा बोल्ने वक्ताले १ वर्ष पुग्दासम्म पनि प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्न नसक्नु लज्जास्पद भएको बताएका छन् । स्थानीयले केही दिन पहिले प्रदेश स्थापना दिवस मनाएको प्रदेशले नामाकरण र स्थायी तोकिने बेला सोमवार आएर बल्ल सुझाव संकलन गर्नु जननिर्वाचित प्रदेश सभाको ठूलो कमजोरी भएको बताएका थिए ।
नेपाली कांग्रेस रुपन्देही जिल्ला कोषाध्यक्ष दिपक क्षेत्री न्यौपानेले १ वर्ष पुगेको र जन्मदिन मनाइसकेको प्रदेशले आफ्नो नाम पनि नपाएको बताउँदै नाम र स्थायी राजधानी तोक्ने बेला सुझाव संकलन गर्ने जमर्को गरेकोप्रति आपत्ति जनाए ।
बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले अन्तर्राष्ट्रिय स्तरको विमानस्थल, सभाहल, मण्डप, औद्योगिक कोरिडोर, विशेष आर्थिक क्षेत्र, औद्योगिक क्षेत्र लगायत पूर्वाधारले सम्पन्न रुपन्देहीलाई स्थायी राजधानी नतोकेर पूर्वाधार नै प्रयाप्त नभएको अन्य कतै लैजान नहुने बताए ।
शुद्धोधन गाउँपालिका प्रमुख किसुनचन्द्र चौधरीले केही जननिर्वाचित प्रतिनिधिले राजधानीकै मुद्दा उठाएर चुनाव जितेको र अहिले उनीहरूकै कारण स्थायी राजधानी लोक्ने बेला बाधा सिर्जना भएको दाबी गरे ।
'नयाँ ठाउँमा प्रदेश राजधानी बनाउनुपर्छ'
प्युठान जिल्लाका जनताले प्रदेश नामाकरण तथा स्थायी राजधानी नयाँ ठाउँमा बनाउन प्रदेश सरकारलाई सुझाव दिएका छन् । स्थानीयले प्रदेशको राजधानी बुटवल, तुलसीपुर, घोराही हुन नसक्ने बताएका छन् ।
बुटवल, तुलसीपुर र घोराही राजधानी बन्ने चर्चा गरेपनि प्युठानीले यी तीनै ठाउँलाई अस्वीकार गरेका छन् । यी ३ वटै शहर विकसित भएकाले नयाँ ठाउँ रोज्नुपर्ने बताए । जिल्ला समन्वय समिति प्युठानका केशवराज आचार्यले राजधानी प्युठान बन्नुपर्ने बताए ।
'दाङको विकल्प छैन'
दाङ जिल्लाका जनताले प्रदेशको स्थायी राजधानी लागि दाङको विकल्प नभएको बताएका छन् । स्थायी राजधानीबारे सुझाव संकलनका लागि गठित विशेष समितिका सदस्य निर्मला क्षेत्री, कल्पना पाण्डे सहभागी सो छलफल कार्यक्रममा बोल्ने व्यक्तिले प्रदेशका १२ जिल्लाकै मध्यबिन्दू दाङ पर्ने भएकाले राजधानीका लागि यसको विकल्प नभएको सुझाव दिए । गरीबी निवारण कोषका पूर्वकार्यकारी निर्देशक तथा तुलसीपुरवासी नहकुल केसीले प्रदेशले न्यायोचित तरिकाले राजधानी तोक्छ भने दाङ नै तोकिनुपर्ने बताए ।
प्रदेशको नाम भने लुम्बिनी र त्यसो नभए स्वर्गद्वारी राख्नुपर्ने सुझाव दिइएको थियो । सुझाव संकलन विशेष समितिका सदस्य क्षेत्रीले प्रदेशका सबै जिल्लामा पुगेर छलफलका क्रममा संकलन भएका आवाजलाई राजधानीका लागि गठन भएको समितिमा बुझाउने र प्रदेशका सबै जनतालाई न्याय हुने हिसाबले राजधानी तोक्ने बताइन् ।
छलफलबाटै टुंग्याउनुपर्ने सुझाव
रोल्पा गरिएको सुझाव संकलन कार्यक्रममा सहभागीले विभिन्न स्थानमा राजधानी राख्न उचित हुने राय समेत दिएका थिए । स्थानीयले सहमति र सहकार्यबाटै उपयुक्त ठाउँ छनौट गर्नुपर्ने सुझाव दिएका छन् ।
कार्यक्रममा प्रदेशका मन्त्री कुलप्रसाद केसी, विशेष समितिका वीरवहादुर राना, दिनेश पन्थी, प्रदेशसभा सचिवालयका उपसचिव श्यामप्रसाद श्रेष्ठ लगायतको सहभागिता थियो ।
प्रदेशको विशेष समितिले गत शनिवार रुकुमकोटबाट सुझाव संकलन शुरू गरेको हो । सुझाव संकलन विभिन्न जिल्लामा सकिएको छ । विशेष समितिले प्रदेशका १२ वटै जिल्लामा जानका लागि ६ वटा टोली बनाएको थियो । १६ गते भित्रमा सबै जिल्लामा सुझाव संकलन सकिने गरी ६ वटा टोली जिल्लामा खटिएको विशेष समितिका सभापति दीपेन्द्रकुमार पुन मगरले बताएका छन् ।
जिल्ला–जिल्लामा पुगेका विशेष समितिका सदस्यले ११ वटा प्रश्न बोकेर लगेका छन् । समिति सदस्यले लगेका ती प्रश्नावली जिल्ला–जिल्लामा पुगेर विभिन्न पक्षसँग सोध्ने गरेका छन् । प्रश्नावलीमा प्रदेशको राजधानी कहाँ राख्दा उपयुक्त हुन्छ भन्ने प्रश्न छ ।
प्रदेशको नाम के राख्दा उपयुक्त हुन्छ भन्ने पनि प्रश्न रहेको छ । यस्ता किसिमका प्रश्न राजधानीका लागि ८ वटा तथा नामका लागि ३ वटा रहेका छन् ।