प्रचण्डभन्दा विप्लवसँग नजिक छौं, तर उनको कार्यदिशा स्पष्ट भएन: मोहन वैद्य [विशेष कुराकानी]

ईश्वर अर्याल
ईश्वर अर्याल

पत्रकार अर्याल लोकान्तरका लागि राजनीति, समसामयिक घटनाक्रम र वैदेशिक रोजगारीमा रिपोर्टिङ गर्छन् ।

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपामाथि सरकारको प्रतिबन्ध र धरपकडलाई लिएर विभिन्न कोणबाट टिप्पणी भइरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लवलाई आपराधिक क्रियाकलाप छाडेर राजनीतिको मूलधारमा आउन बारम्बार आग्रह गरिरहेका छन् । आफ्नो आग्रहलाई नमाने नियन्त्रणमा लिने चेतावनी पनि प्रधानमन्त्री ओलीले दिएका छन् ।

यद्यपि सरकारले गरेको आग्रह र चेतावनीको प्रभाव विप्लव समूहमा देखिएको छैन । 'सामाजिक फासीवादी' सरकारको प्रतिरोध गर्ने आशयका वक्तव्यबाजी विप्लव समूहले गरिरहेको छ । दुवै पक्ष झुक्न तयार नभएको देखिएपछि जनतामा देश पुनः मुठभेडमा जाने हो कि भन्ने सन्त्रासको स्थिति पैदा भएको छ । यसको कसरी समाधान गर्नुपर्ला भन्ने विषयमा सत्तारुढ पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र प्रतिबन्धित पार्टीका महासचिव विप्लव समेतका गुरु मानिने मोहन वैद्य 'किरण'सँग लोकान्तरकर्मी ईश्वर अर्यालले कुराकानी गरेका छन् ।


Advertisement

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का अध्यक्ष 'किरण'ले वैचारिक हिसाबले आफू प्रचण्डभन्दा विप्लवसँग बढी नजिक रहेको बताए ।


Advertisement

विप्लव नेकपा र सरकारबीच देखिएको टसलबारे

विप्लव र सरकारबीच अहिले जुन टसल चलिरहेको छ, यसमा सबभन्दा पहिलो कुरा के लाग्छ भने, यो समस्या कुन किसिमको समस्या हो भनेर सरकारले विश्लेषण गर्नुपर्‍यो । सरकारले जसरी धरपकड गरिरहेको छ, गिरफ्तार गरिरहेको छ र यातना आदि दिइराखेको छ, त्यो गलत हो । अझ पार्टीमाथि नै प्रतिबन्ध लगाउने कुरा ठूलो गल्ती हो ।

विप्लवले उठाएको विषयलाई सरकारले राजनीतिक विषयका रूपमा लिनुपर्छ र त्यसको समाधान पनि त्यही हिसाबले गर्नुपर्छ । हाम्रो पार्टीको स्पष्ट धारणा के हो भने, विप्लवमाथिको प्रतिबन्धलाई राजनीतिक ढंगले हेर्नुपर्छ यसलाई कानून, न्याय, प्रशासनको दृष्टिकोणबाट हेर्नुहुँदैन ।

विप्लवको राजनीतिक कार्यदिशा अस्पष्ट

विप्लवको कुरा पनि कस्तो छ भने, एउटा कुरा त विप्लवले वर्तमान सरकार राम्रो तरिकाले जान नसकेको कुरा उठाएका छन् । त्यही आधारमा सरकार अवैज्ञानिक छ भन्ने कुरा उठेको छ । यो विषय ठीकै हो । सरकार असफल भएकै हो र अवैज्ञानिक पनि छ । तर उनीहरूले जसरी एकीकृत जनक्रान्तिको कार्यदिशा भनेका छन्, त्यसमा त्यति प्रस्टता छैन ।

उनीहरूले हामी प्रहरीका विरुद्ध लडेको होइन भन्छन् । सेनाका विरुद्ध पनि होइन भन्ने कुरा यीनीहरूले गरेका छन् । त्यसो भए कसका विरुद्धमा हो ? केका लागि हो भन्ने कुरा स्पष्ट छैन । उनीहरूले आफ्नो राजनीतिक कार्यदिशा प्रस्ट पार्नुपर्छ ।

विप्लव पक्षबाट यी कुराहरू प्रष्ट गर्नुपर्‍यो । यदि विप्लवहरू प्रहरीका विरुद्ध पनि छैनन्, सेनाका विरुद्ध पनि छैनन्, राज्य सत्ताका विरुद्ध पनि छैनन् भने यो विषयलाई यति ठूलो बनाएर प्रतिबन्ध नै लगाउनुपर्ने, नियन्त्रण गर्नुपर्ने, धरपकड गर्नुपर्ने लगाउनुपर्ने जरुरत पनि छैन । विप्लवहरूले गर्न खोजेको के हो, त्यसलाई ठीक ढंगले बुझ्नुपर्‍यो, त्यसको उपचार पनि ठीक ढंगले गर्नुपर्‍यो ।

यसरी हेर्दा हामीले भन्ने के हो भने, यो राजनीतिक विषय हो र यसको हल पनि राजनीतिक ढंगबाट गर्नुपर्छ ।

क्रान्तिकारी माओवादीको तत्कालीन कार्यक्रमका बारेमा

हामीले मेची महाकाली राष्ट्रिय जनजागरण कार्यक्रम भर्खरै सक्यौं । अब हामीले राष्ट्रियता जनतन्त्र र जनजीविकाका मुद्दामा अर्को नयाँ कार्यक्रम बनाएर जाने भन्ने विषयमा सोचिरहेका छौं । हामीले ठोस कार्यक्रम बनाउछौं । अहिले देशभक्त जनक्रान्ति मोर्चा राष्ट्रिय सम्मेलनको प्रक्रिया अघि बढिरहेको छ । त्यसलाई सफल पारिसकेपछि फेरि हामीले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको विषयलाई लिएर एउटा आन्दोलनको कार्यक्रमको छिट्टै घोषणा गर्छौं ।  

अधिकतम र न्यूनतम कार्यक्रम 

हाम्रो अधिकतम कार्यक्रम भनेको वैज्ञानिक समाजवाद हो, लक्ष्य भनेको साम्यवाद हो । हाम्रो न्युनतम कार्यक्रम भनेको नेपालमा नयाँ जनवाद अथवा जनगणतन्त्रको स्थापना हो । संसदीय राजनीतिबाट यी लक्ष्यहरू प्राप्त हुँदैनन् भन्ने कुरामा हामी प्रस्ट छौं । संसदीय व्यवस्था त आइसक्यो, यो व्यवस्थाभन्दा अझ बढी वैज्ञानिक दिशातर्फ जानका लागि देशमा नयाँ जनवादको स्थापना गर्नुपर्छ र वैज्ञानिक समाजवादको दिशातर्फ जानुपर्छ ।

अहिलेको गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता जस्ता कुराहरू आंशिक उपलब्धि हुन्, तर समग्र उपलब्धि होइनन् । राज्यसत्ता, व्यवस्था सबै पुराना छन् । अब पुरानो राज्यसत्ता र पुरानो व्यवस्थाका विरुद्ध नयाँ जनवादी व्यवस्थाको स्थापना गर्दै वैज्ञानिक समाजवादतर्फ अगाडि बढ्नुपर्छ भन्ने हाम्रो भनाइ हो । 

सरकारको समाजवाद 'सारसंग्रहवादी' समाजवाद !

समाजवाद धेरै किसिमका हुन्छन् । मार्क्सले त प्रतिक्रियावादी समाजवाद पनि हुन्छ भन्नुभएको छ । सामन्ति समाजवाद पनि हुन्छ । नेपाली कांग्रेसले पनि समाजवाद नै भनेको छ । काल्पनिक समाजवाद पनि हुन्छ । जुन संविधानले उल्लेख गरेको छ, त्यो चाहिँ सारसंग्रहवादी समाजवाद हो । यो संसदीय व्यवस्थाभित्रको समाजवाद हो । यसको काम छैन, भनेर भन्नुस् । 

आवश्यकताका आधारमा संसदीय निर्वाचनको उपयोग 

चार वर्षपछिको निर्वाचनमा कसरी जाने, प्रयोग गर्ने कि नगर्ने भन्नेबारे केही सोचिएको छैन । त्यो कार्यनीतिक प्रश्न भएको हुनाले त्यसमा अहिल्यै सोच्नुपर्ने विषय भएन । आवश्यकता अनुसार कुनै बेलामा उपयोग गर्न सकिन्छ, कुनै बेलामा बहिष्कार गर्न सकिन्छ, त्यो त्यतिबेलाको स्थिति हेरेर गर्ने कुरा हो । 

राजनीतिक रूपमा प्रचण्डभन्दा विप्लवसँग नजिक 

प्रचण्डसँग व्याक्तिगत रूपमा हेर्ने हो भने कहिलेकाहीँ आवतजावत भइहाल्छ । त्यो ठीकै छ, तर हाम्रो राजनीतिक सम्बन्ध छैन ।

विप्लवजीसँगको कुरा के हो भने, तपाइँहरूको राजनीति अलि अस्पष्ट छ भनेर भनिराखेका छौं, उहाँहरूसँग त मिलेरै जाने भन्ने पनि थियो । तर उहाँहरूको राजनीतिक कार्यदिशा अस्पष्ट भएको हुनाले अहिलेकै अवस्थामा सँगै जान सम्भव देखिएन । तपाईंको कार्यदिशा के हो प्रस्ट पार्नुस्, भनेर भनिरहेका छौं । प्रचण्डभन्दा बढी नजिकको त हामीले विप्लवलाई नै मान्छौं । (कुराकानीमा आधारित )

कमेन्ट गर्नुहोस्