चलचित्रका पर्दामा भन्दा टिकटकमा राम्रा कलाकार !

दिलनिशानी मगर
दिलनिशानी मगर

समसामयिक विषयमा कलम चलाउने दिलनिशानी मगर लोकान्तरका नियमित स्तम्भकार हुन् । 

हुन त म कुनै घडघडान चलचित्र समीक्षक हैन । जसले कहलिएका समीक्षकको पगरी गुथेका छन्, तिनले पनि अक्सफोर्ड युनिभर्सिटीबाट चलचित्र विषयमा पीएचडी गरेका भने छैनन् । मलाई केही कथित समीक्षकहरूसँग रिस उठिरहेको छ । ती समीक्षक जसले मलाई चलचित्र हलसम्म तान्न उक्साए, तर हलभित्र २० मिनेट पनि टिकाउन सकेनन् । त्यो २० मिनेट बडो कष्टकर रह्यो ।

हुन त हरेक चिजलाई हेर्ने र बुझ्ने दृष्टिकोण समान हुँदैनन् । जैविक अस्तित्वमा रहेका परिवर्तित जिनिसहरू बाहेक अरू सबै सामाजिक परिघटनाका उपज हुन् । मलाई मन नपरेको कुरा अरू कसैलाई निकै मन परेको हुन सक्छ । फिक्सन र ननफिक्सनमा मानिसहरूको आ-आफ्ना रुचि हुन्छन्, तर नेपाली चलचित्र जगतको समीक्षा क्षेत्रमा जुन किसिमको गलत प्रचारबाजी भइरहेको छ, त्यो कस्तो भन्दा 'चरालाई कुखुराको भाले' हो भने जस्तो भएको छ ।


Advertisement

कोठामै बसिरहेको थिएँ । नियमितजस्तै पत्रिका आयो । एउटा चलचित्रको समीक्षा छापिएको रहेछ । निकै मनमोहक लाग्यो । मलाई के लाग्छ भने नेपाली उत्पादनहरू जे सुकै हुन्, माया गर्नुपर्छ । कमजोरी छन् भने सुधार गर्नुपर्छ । तर हुँदै नभएको प्रचार गरेर एक दिनलाई ब्ल्याकमेलिङ गर्न त सकिएला तर यस्तो किसिमको प्रचारले दर्शकहरूको मानसिकतमा गिरावट आउन सक्छ ।

त्यो समीक्षामा चलचित्र हाउसफूल भएको, सबै हलमा टिकट बूकिङ भैसकेको र नेपाली इतिहासमा एउटा नयाँ चिलचित्र जुन हेर्न लायक हुन्छ, त्यो बनेको लेखिएको थियो । बिहीवार खासै काम थिएन । हलमै पुगेर चलचित्र नहेरेको धरै भएको थियो । म चलचित्र हल र चलचित्रको नाम लिन चाहन्न तर मित्र नरेश रोकायालाई सँगै लिएर बेलुकीको शो हेर्न गएँ । तपाईंहरूलाई अचम्म लाग्ला अघिल्लो दिन हाउसफूल भनेर लेखिएको समीक्षा पढ्ने म र नरेशबाहेक अरू ९ जना मात्र हलमा थियौं । जम्मा ११ जना ।


Advertisement

एकछिन त बडो रमाइलो लाग्यो । अजीव पनि लाग्यो । चलचित्रसम्बन्धी खासै चासो र नलेज नभएपनि मूडफ्रेसका लागि हेरौं न त भन्ने हुन्छ । कम्तिमा पाँच सयजना दर्शक अट्ने हलमा जम्मा ११ जना दर्शक हुँदा रमाइलो त लाग्ने नै भयो । तर मेरा निम्ति त्यो हल, चलचित्रभन्दा पनि समीक्षक दोषी थिए । सुरक्षा गार्डहरूले मोबाइलबाट फोटो तथा भिडियो खिच्न बन्देज लगाए । 

निकै हल्लाखल्ला गरिएको चलचित्र हलमा किन मैले आफूलाई शून्य पाएँ ? किन अपेक्षा गरिए अनुरूपको दर्शक भएनन् ?

पर्दामा चलचित्र शुरू भयो, जति छौं बसेर हेरौं भन्ने लाग्यो । हिरो चकलेटी अनुहारको छ भन्ने समीक्षा थियो । अरे यार, दूधे बच्चाजस्तो न उचाई छ, न जिउडाल छ, न कुनै थिएटरमा काम गरेजस्तो लवज छ, न डाइलगमा परिपक्वता छ, न अभिनयको कुनै छनक छ । मलाई हाँसो लाग्यो । हिरो चाहिँ कुन हो भनेर नरेशलाई सोधेको, हिरो त यही हो भन्यो । म छक्क परें ।

यसरी प्रचार भव्य तर हल शून्य शायद नेपाली चलचित्रको कमजोर पक्ष हो कि भन्ने लाग्छ ।

सुनेको थिएँ किताबका लेखकहरूले यसरी नै प्रायोजित समीक्षा पत्रिकामा लेखाउछन् र त्यसबापत सँगै बसेर दारुपानी खान्छन्, भनेर । किताबको सन्दर्भमा पनि चलचित्र जस्तै अनुभव छ मेरो । किनै प्रचार हुन्छ, किताबको तर ४/५ पाना पल्टाइसकेपछि विषयवस्तु हराउँछ । धित मर्छ ।

लेखन साहित्यमा सिन्डिकेट हुदाँ यस्तो भएको हो भन्ने मेरो बुझाई छ । गुटबन्दी पनि छ । यसको चर्चा यहाँ नगरौं, तर चलचित्र भनेको हेर्ने कुरा हो । अभिनयको कुरा हो । सिन्डिकेट भएपनि मनोरञ्जनका लागि मानिसहरूले हेर्छन् नै । जस्तो कि युट्युबका सामग्रीहरूमा सिन्डिकेट हुन्न, तपाईंहरू युट्युबको नियमअनुसार सामग्री बनाउन सक्नुहुन्छ ।

सेन्सर बोर्डले पास गरेपछि चलचित्रमा आफ्नो कला देखाउने हो कलाकारले । लगानीकर्ताले लगानी गर्ने हो प्रविधिमा । तर त्यसो हुन सकिरहेको छैन ।

नेपाली चलचित्रहरू सफल छन् कि असफल त्यो म जान्दिनँ । दर्शकहरूको माया कति छ त्यो कलाकारले जान्ने कुरा हो । निर्माणकर्तालाई थाहा हुने कुरा हो, तर त्यो दिन निकै हल्लाखल्ला गरिएको चलचित्र हलमा किन मैले आफूलाई शून्य पाएँ ? किन अपेक्षा गरिएअनुरूपको दर्शक भएनन् ?

चलचित्र एउटा उद्योग हो- हलिउड, बलिउड हेरौं । तर नेपालमा यसले उद्योगको रूप लिन सकिरहेको छैन । कलाकारहरू पनि टिक्न सकिरहेका छैनन् । कलाकारको कला पनि खासै ओहो! भने जस्तो देखिन्न । उदाहरणका लागि हाँस्य कलाकारहरूले मलाई कहिल्यै हसाउन सकेनन् । मुख बाङ्गो बनाएर बोल्न नजान्ने मान्छेजस्तो कर्कस लाग्दो आवाजमा बोलेर पनि हाँसो लाग्छ र ? झन् इरिटेट पो हुन्छ त । तर के गर्ने मुख बाङ्गो बनाएर बोल्नेहरू नै महान कलाकार ठहरिन्छन् ।

कुन चलचित्रलाई अवार्ड दिने, कुनलाई नदिने भन्ने पनि लेनदेनमा हुने गरेको हल्ला सुनिन्छन् । आजभोलि चलचित्रका अवार्ड विदेशमा हुने गरेको पाइन्छ । आफ्नो टिकट काटेर विदेशमा हुने कार्यक्रममा जो जान सक्छ, ऊ अवार्डको दाबेदार हुन्छ । जान नसक्ने लिस्टबाट बाहिर हुन्छ, भन्ने सुनिन्छ । कतिपय चलचित्रका निर्माता/ निर्देशक राति सँगै बसेर मदिरा सेवन गर्छन् । मदिरा खाँदाखाँदै कथाको सृजना हुन्छ भन्ने सुनिन्छ । लहडको भरमा कलाकार छनोट हुन्छ र भोलिबाट क्यामेरा लिएर सुटिङमा हिँड्छन् भन्ने सुनिन्छ । त्यसैले होला आजकल अभिनय र कलाहरू टिकटकमा गएर थुप्रिएजस्तो लाग्छ । न सिन्डिकेट, न समीक्षा, न सेन्सर बोर्ड । मैले टिकटक नियाल्न लागेको धेरै भयो । खासगरी टिकटकमा केही समय बितायो भने संसारको 'म्यूजिक ट्रेन्ड' बुझिन्छ । विश्व डिजिटल बन्दै गर्दा यसको प्रत्यक्ष प्रभाव नेपालीहरूमा पनि परेको छ । अहिले टिकटकमा १५ सेकेन्ड लामो संवाद र गीतमा आफैंले अभिनय गर्दै भिडियो बनाउने ट्रेन्ड धेरै चलिरहेको छ । 

नेपाली चलचित्रमा देखिने भन्दा राम्रा अभिनय गर्ने कलाकारहरू टिकटकमा देखिन्छन् । कम्तिमा म चाहिँ यो निष्कर्षमा पुगें । म गलत पनि हुन सक्छु, तर मलाई चलचित्र हलभन्दा टिकटक मनपर्‍यो । चलचित्र हलमा भन्दा टिकटकको सानो फ्रेममा मैले धेरै आनन्द लिएँ । टिकटकमा निकै मज्जा लिएँ । त्यसो त मैल पनि टिकटकमा २ वटा भिडियो बनाएको थिएँ । एउटा सार्वजानिक पनि गरें, जुन निकै हिट भयो । म पनि कलाकार भएँ । 

वास्तवमा छोटा भिडियो शेयर गर्न मिल्ने किसिमको पहिलो एप २०१२ मै आएको थियो । ‘भाइन’ नामक सो एप २०१६ मा बन्द गरियो, त्यसपछि टिकटकको पहिलो स्थानीय भर्जन रिलिज भएको हो । टिकटक निर्माण कम्पनी बाइटडान्सले म्युजिकल्लीलाई १ अर्ब डलरमा खरिद गर्दै अन्तर्राष्ट्रिय भर्जन बाहिर ल्याएको हो । टिकटकको सफलताको श्रेय यसको स्वतन्त्र दर्शक प्रणालीलाई दिने गरिएको छ । कुनैपनि सामग्री बनाएपछि प्रयोगकर्तालाई दर्शकसम्म पुग्न स्वतन्त्र टुल दिइएको छ । 

म यत्ति कुरा भने दाबाका साथ भन्न लायक छु, नेपाली चलचित्रको पर्दामा भन्दा टिकटकको पर्दामा कलाकारहरूको अभिनय गज्जबको हुन्छ ।

टिकटकको लत र लोकप्रियता यति बढ्यो कि भारतको तमिलनाडुका सूचना प्रविधि मन्त्री एम मनिकन्दनले पनि टिकटकमाथि प्रतिबन्धका लागि केन्द्र सरकारसँग सहयोग माग गरेका छन् । समाजमा व्यवधान गर्ने सामग्रीलाई प्रोत्साहित गरिरहेको र भारतीय संस्कृतिलाई अपहेलना गरिरहेको भन्दै अदालतले टिकटक एपमाथि तत्काल प्रतिबन्ध गर्न भनेको छ । भारतमा एक अर्ब ४ करोडले टिकटक प्रयोग गर्छन्, तर भारतको यो षड्यन्त्र मात्रै हो ।

लामाथिको प्रतिबन्ध हो, किनभने टिकटक चीनमा निर्माण भएको म्युजिकल एप हो । चीनमा बनेको एपले विश्वव्यापी बजार लिएको छ । यसले भारतलाई हैरानी भएको छ । आफ्नो अभिनय देखाउने,  विभिन्न देशको कला संस्कृति र संगीतको प्रचार गर्ने सजिलो माध्यम टिकटक बनेको छ ।

भारतकै अर्को उदाहरण मद्रासको उच्च अदालतले प्रतिबन्ध लगाउन केन्द्र सरकारलाई आदेश दिएको छ । यतिसम्म कि टिकटक एप डाउनलोड निषेध गर्नसमेत आदेशमा भनिएको छ ।

सन् २०१६ देखि चीनबाट शुरू भएको हो टिकटक । चिनियाँ भिडियो शेयरिङ एप ‘टिकटक’ २०१८ मा सबैभन्दा बढी डाउनलोड गरिएको एप हो । यसरी फेसबुक र इन्स्टाग्रामलाई हराउँदै टिकटक फरक सेवामार्फत् प्रयोगकर्तालाई आकर्षित गर्न सफल भइरहेको छ । एसियाली क्षेत्रमा अत्यन्तै लोकप्रिय मानिए पनि पश्चिममा भने अझै टिकटकलाई साचेजस्तो नरुचाइएको बताइन्छ । यसका पनि केही व्यापारिक कारण छन्, त्यसको चर्चा गर्म म लायक छैन ।

म यत्ति कुरा भने दाबाका साथ भन्न लायक छु, नेपाली चलचित्रको पर्दामा भन्दा टिकटकको पर्दामा कलाकारहरूको अभिनय गज्जबको हुन्छ ।

कमेन्ट गर्नुहोस्