रवीश कुमारको ‘द फ्री भोइस’ : अभिव्यक्ति स्वतन्त्रताको प्रखर पैरवी

विन्देश दहाल
विन्देश दहाल

विन्देश दहाल लोकान्तर डट् कममा अन्तर्राष्ट्रिय राजनीतिबारे लेख्छन् । 

संसारको सबभन्दा ठूलो लोकतन्त्र कहलिने भारतमा अभिव्यक्ति स्वतन्त्रता कसरी खुम्चिँदैछ भन्ने स्पष्ट तस्वीर पेश गर्नका लागि पत्रकार रवीश कुमारको पुस्तक ‘द फ्री भोइस : अन डेमोक्रेसी, कल्चर यान्ड द नेसन’ सफल छ । पुस्तकलाई हिन्दीबाट अंग्रेजीमा चित्रा पद्नाभन, अनुराग बस्नेत र रवि सिंहले अनुवाद गरेका हुन् । 

२०१९ को रामोन म्यागसेसे पुरस्कार जितेका रवीशले सन् २०१४ मा नरेन्द्र मोदी भारतको प्रधानमन्त्री भएदेखि मोदीका नीतिको विरोध गर्ने जोकोही पनि कसरी धाकधम्कीको शिकार भइरहेका छन् भनी पुस्तकमा विस्तृत विवरण दिएका छन् ।


Advertisement

भारतमा मूलधारको मिडियाका रूपमा प्रख्याति कमाएको एनडीटीभीमा कार्यकारी सम्पादकको भूमिकामा रहेका रवीश निडर रिपोर्टिङ र समालोचनात्मक टिप्पणीका लागि प्रसिद्ध छन् । पत्रकारको धर्म नै सत्ताको कमजोरी देखाएर सुधारका लागि पहल गराउने हो । त्यही धर्म निर्वाह गर्ने क्रममा रवीशले मोदी सरकारका केही नीतिहरूको विरोध गर्ने गर्छन् । तर उनलाई मोदीसमर्थक (भक्त) हरूले कम्युनिस्ट, पाकिस्तानी, अर्बन नक्सल लगायतका उपाधि दिएर कटु र यदाकदा अश्लील आलोचना गर्दै निरन्तर खोइरो खन्ने गरेका छन् । 

आफूले भोगेका तिनै तीता अनुभवहरू रवीशले यस पुस्तकमा संकलित नौवटा निबन्धमा अभिव्यक्त गरेका छन् । यसमा संकलित व्यक्तिगत अपमानका घटनाहरूले भारतमा लोकतन्त्र कसरी खतरामा परिरहेको छ भनी बृहत्तर परिदृश्य देखाएको छ जबकि परिसंवाद र सकारात्मक आलोचनाका लागि अवसर दिनुमा नै लोकतन्त्रको सुन्दरता अडेको हुन्छ । 


Advertisement

रवीशले पुस्तकमा कसरी भारतमा भयको साम्राज्य खडा गरिँदैछ भनी विमर्श गरेका छन् । विरोधी तथा अल्पसंख्यकहरूमा भयको सञ्चार गर्ने राष्ट्रिय परियोजना निर्माणको अन्तिम चरणमा पुगेको उनी बताउँछन् । सत्ताविरोधीहरूलाई दानवीकरण गर्दै उनीहरू राष्ट्रविरोधी भएको भनिन थालिएको छ । सबैले सत्ताकै स्वर बोल्नुपर्ने स्थिति ल्याइँदैछ । यस्तोमा सत्ताविरोधी स्वर निकाल्नु सहज छैन र मोदी शासनको भारतमा यस्तो काम पनि शूरताका रूपमा लिने गरिन्छ । रवीशलाई शुभचिन्तकहरूले ‘डर लाग्दैन ?’ र ‘सुरक्षित रहनुस्’ भनी बारम्बार प्रश्न सोध्ने र भन्ने गरेका छन् । यो प्रश्न नै भारतमा भयको साम्राज्यको सशक्त उदाहरण हो । रवीश भन्छन्, ‘सुरक्षित बस्नका लागि गरिएका यी आग्रहहरूले मानिसलाई डरपोक बनाएका छन् । किनकि ती विचार गरेर बोल्न दिइएका चेतावनी नभई बोल्दै नबोल्न दिइएका चेतावनी हुन् ।’

रवीश कुमार

सत्ताविरोधी स्वरहरूलाई भारतमा हिंस्रक रूपमा दबाइएको उदाहरणहरू रवीशले पुस्तकमा प्रस्तुत गरेका छन् । पत्रकार बसित मलिकलाई उनी मुसलमान भएकै कारण भीडले ‘पाकिस्तान, मूर्दाबाद’ भन्न लगाएको र दुर्व्यवहार गरेको घटनादेखि लिएर सन् २०१७ मा पत्रकार गौरी लंकेशको हत्यासम्मका घटनाले पत्रकारिता तथा अभिव्यक्ति स्वतन्त्रताको गला घोटिएको चित्र प्रस्तुत गर्छ । 

त्यससँगै भारतमा बहुसंख्यकवादी (मेजोरिटेरियन) समूहले दलित र मुसलमानहरूलाई धर्म वा राष्ट्रियताका नाममा कुटीकुटी हत्या गर्ने काम पनि गरिरहेका छन् । गाई मारेको भनी झूटो आरोप लगाउँदै मुसलमान समुदायका मानिसलाई भीडले मारेका अनेकौं घटना भारतमा भइरहेका छन् र त्यसमा वृद्धि मोदी सरकारको पालामा भएको हो । रवीशले पुस्तकमा त्यस प्रवृत्तिको कडा निन्दा गरेका छन् ।

पुस्तकमा रवीशले निजतादेखि प्रेमसम्म अनि रोबोट जस्तो गरी सत्ताले जे भन्यो त्यही दोहोर्‍याउने जनतादेखि धार्मिक बाबाहरूका बकवाससम्मलाई चिरफार गरेका छन् । 

मोदी सरकारमा भयको साम्राज्यका साथै झूटको साम्राज्य पनि फैलिएको रवीश कुमारले पुस्तकमा देखाएका छन् । सत्तारूढ भारतीय जनता पार्टीको आईटी सेलले नयाँ नयाँ झूटको खेती गर्ने गरेको छ । भारतको स्वतन्त्रता संग्राममा अतुल्य योगदान गरेका स्वतन्त्र भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरुविरुद्ध आईटी सेलले गलत तथ्यहरू सम्प्रेषण गर्ने गरेको छ किनकि मोदीलाई नेहरु मन पर्दैनन् । नेहरुका हजुरबुवा मुसलमान भएको र उनी हिन्दूविरोधी भएको भनी भ्रम फैलाइँदैछ । त्यससँगै नेहरु र सरदार वल्लभभाई पटेलबीचको सुसम्बन्धलाई नजरअन्दाज गरेर उनीहरूबीचको भिन्नतालाई प्रस्तुत गर्ने गरिएको रवीशको कथन छ । यस्ता गलत समाचार र तथ्यहरू ह्वाट्सयापमार्फत फर्वार्ड गरेर बहुसंख्यक जनतामा भ्रम छर्ने गरिएको र ‘ह्वाट्सयाप विश्वविद्यालय’ मा दीक्षित ‘विज्ञ’ हरूले यसलाई बढाइचढाइ गर्ने गरेको रवीश लेख्छन् । 

भयको साम्राज्यसमक्ष आत्मसमर्पण गर्न नहुने रवीशको आग्रह छ । लादिएको मौनताविरुद्ध संघर्ष गर्न उनी पुस्तकका पाठकहरूलाई आग्रह गर्छन् । मुसलमानलाई हिन्दूले मार्दा चुप लाग्नेहरू कुनै मुसलमानले हिन्दू (अंकित सक्सेना) लाई मार्दा ‘खै त बोलेको’ भनी चिढ्याउँछन् । तर अपराधको जातधर्म नहुने भन्दै उक्त हत्यालाई पनि रवीश कडा शब्दमै निन्दा गर्छन् । डरलाई कसरी जित्नुहुन्छ भनी कसैले उनलाई प्रश्न सोध्दा उनी भन्छन्, ‘आफ्नो कुरा निर्धक्कसँग राख्नका लागि मसँग कुनै जादूयी मन्त्र छैन ।’

रवीशको यस पुस्तकमा लोकतन्त्र र स्वतन्त्रताका बारेमा गहन विमर्श गरिएको छ । यस क्रममा उनी आफूसम्बद्ध मिडिया क्षेत्रको समेत आलोचना गर्न चुक्दैनन् । पत्रकारितामा नैतिकताको ह्रास आएको विषयमा उनको चिन्ता छ । सरकारको निगरानी गर्ने वाचडग हुनुपर्ने मिडिया सरकारी भजन गाउने ल्यापडग बनेको उनी लेख्छन् । पत्रकारहरूले सूचनाको सत्यता नजाँचिकनै प्रकाशन प्रसारण गर्ने अनि भाजपाको आईटी सेलले दिने झूटा जानकारी तथा ह्वाट्सयापमा फोटोशप गरिएका तस्वीरका आधारमा सनसनीपूर्ण समाचार बनाउने काम गरेकोमा रवीशको चित्त कुँडिएको छ । अनि टेलिभिजनमा बोलाएर पाहुनालाई अपमानित गर्ने र सभ्य संवादको साटो चिच्याहटमा जोड दिने समकालीन पत्रकारितालाई पनि उनले आलोचना गरेका छन् ।

पुस्तक पढेर भारतको वर्तमान स्थितिका विषयमा निराश त भइन्छ तर केही पत्रकारहरू सत्यको पक्षमा लागेकाले आशाको दियो पनि बलिरहेकै प्रतीत हुन्छ । रवीशले पुस्तकमा राजस्थान पत्रिकाका गुलाब कोठारीको चर्चा गरेका छन् । राजस्थानकी तत्कालीन मुख्यमन्त्री वसुन्धरा राजेले सरकारी कर्मचारी, मजिस्ट्रेट र न्यायाधीशहरूका विरुद्ध भ्रष्टाचारको मुद्दामा रिपोर्टिङ गर्नबाट रोक्ने अध्यादेश ल्याएकी रहिछन् । उक्त अध्यादेश खारेज नगरुन्जेलसम्म आफ्नो पत्रिकाले मुख्यमन्त्रीको बहिष्कार गर्ने भनी कोठारीले सम्पादकीय नै लेखेका थिए । अनि रवीशको पुस्तकमा त उल्लेख छैन तर पत्रकार सौरभ द्विवेदीले यूट्युबमा द लल्लनटप च्यानलमार्फत, अनि स्ट्यान्ड अप कमेडियनहरू वरुण ग्रोभर र कुनाल कामराले आफ्ना प्रस्तुतिहरूमा मोदी सरकारका गलत नीतिहरूको कटु आलोचना गर्ने गरेका छन् र उनीहरूको सब्स्क्राइबरको संख्या पनि ठूलै छ ।

पुस्तकमा अनुवादका क्रममा कमजोरीहरू भएका पाइन्छन् । प्रूफरीड राम्ररी नगरिएको देखिन्छ । अनि अंग्रेजीमा आउनुपर्ने फ्लेयर पनि यसमा पाइँदैन । थप सम्पादनको दरकार परेको देखिन्छ । 

रवीश कुमारको पुस्तक द फ्री भोइस नेपालको सन्दर्भमा पनि सान्दर्भिक छ किनकि यहाँ पनि सत्ताविरोधी स्वरहरूलाई दबाउने प्रयास गरिन थालेका देखिन्छन् । बहालवाला मन्त्रीको आलोचना गर्ने ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट गरिनु, सत्ताको आलोचना गरिएको पशुपति शर्माको गीत ‘लुट्न सके लुट् कान्छा’ लाई यूट्युबबाट हटाउन लगाइनु, प्रधानमन्त्री स्वयंले सरकारविरुद्ध बोल्नेमाथि अरिंगाल झैं जाइलाग्न भन्नु लगायतका कुरा अभिव्यक्ति स्वतन्त्रता हननको प्रयास नै त हुन् । तर रवीशले पुस्तकमा लेखे झैं सत्ताको गलत कामको आलोचना गर्न पत्रकारले खुट्टा कँपाउनुहुँदैन र सामान्य मानिसले पनि मनमा लागेका कुरा खुलस्त भन्ने गर्नुपर्छ । आखिर सभ्य विमर्शले नै लोकतन्त्रको मर्मलाई जीवित राख्ने हो ।

कमेन्ट गर्नुहोस्