१२ असार २०८३, शुक्रबार

गोरखामा स्थानीय निर्वाचनको लिगलिगे दौड, आफ्नै क्षेत्रमा कमजोर बाबुराम

कात्तिक २०, २०७४
गोरखामा स्थानीय निर्वाचनको लिगलिगे दौड, आफ्नै क्षेत्रमा कमजोर बाबुराम

लिगलिगकोट (गोरखा), २७ चैत– आगामी वैशाख ३१ गते हुने स्थानीय तहको चुनावको सरगर्मी गोरखा जिल्लामा पनि बढेको छ । दुई नगरपालिका र नौ गाउँपालिका गरी ११ वटा स्थानीय तह रहेको गोरखामा खासगरी प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच नै प्रतिस्पर्धा हुने देखिएको छ ।

यसअघि २०६४ साल चैतमा सम्पन्न संविधानसभाको पहिलो निर्वाचनमा गोरखाका तीनवटै निर्वाचन क्षेत्रमा तत्कालीन नेकपा माओवादीले जीत हासिल गरेको थियो । यस्तै २०७० मंसिरमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा पनि ती सबै क्षेत्रमा माओवादी उम्मेदवार नै विजयी भएका थिए ।

पूर्व माओवादी नेता तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईको बलियो पकड रहेको मानिने गोरखामा यसपटकको चुनावमा भने उनलाई आफ्नै अस्तित्व जोगाउन हम्मे पर्ने देखिन्छ ।

२०६४ सालमा सम्पन्न संविधानसभाको चुनावमा डा. भट्टराईले ‘सबैभन्दा बढी मतअन्तरले विजयी हुने उम्मेदवार’को रेकर्ड बनाएका थिए । गोरखा क्षेत्र नम्बर २ बाट चुनाव लडेका भट्टराईले त्यतिबेला ४२ हजार २ सय ६४ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका चन्द्र प्रसाद न्यौपानेले ६ हजार ६ सय ७६ मात्रै प्राप्त गर्न सके ।

२०७० मंसिरमा सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनमा डा. भट्टराई निर्वाचन क्षेत्र परिवर्तन गरेर २ बाट १ मा सरेका थिए । २०७० मा भट्टराईले २२ हजार ८ सय २४ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठले ८ हजार ९ सय ७१ मत प्राप्त गरेका थिए ।

यसपटक कांग्रेस, एमालेलाई फाइदा

पछिल्ला दुईवटा निर्वाचनमा गोरखाका तीनवटै निर्वाचन क्षेत्रबाट माओवादीले जीत हासिल गरेको थियो । २०७० को चुनावमा क्षेत्र नम्बर ३ बाट उठेका कांग्रेसका उम्मेदवार हरिबहादुर घलेले १० हजार ३ सय ४२ मत ल्याउनुबाहेक अन्य उम्मेदवारले माओवादीका उम्मेदवारभन्दा आधा कम मत पनि प्राप्त गर्न सकेका थिएनन्् ।

तर यसपटकको निर्वाचनमा माओवादीका लागि पहिलेको जस्तो अवस्था छैन । खासगरी पार्टीमा आएको विभाजन र बाबुराम भट्टराईले समेत आफ्नै संयोजकत्वमा नयाँ शक्ति नेपाल पार्टी स्थापना गरेपछि गोरखामा माओवादीको जनाधार कमजोर भइसकेको छ ।

माओवादीका उम्मेदवारहरू जीतपछि गाउँ नफर्किएको भन्दै स्थानीयहरू रुष्ट छन् । भूकम्प गएपछि राहत वितरण र उद्धारमा समेत माओवादीले नसघाएको स्थानीयको गुनासो छ । सत्तामा हुँदा समेत आफूहरूका लागि केही नगरेको भन्ने अर्को आरोप पनि स्थानीयले माओवादीलाई लगाउने गर्छन् ।

बरू पछिल्लो समय नेपाली कांग्रेस र नेकपा एमालेले संगठन विस्तारमा जोड दिएका थिए । विगतमा ‘लालकिल्ला’ नै ठानिने गोरखामा पछिल्लो समय कांग्रेस र एमालेले आफ्नो उपस्थिति बलियो बनाउने भरमग्दुर चेष्टा गरेका छन् । जसका कारण पनि उनिहरूले आफ्नो जनाधार थप बलियो बनाउँदै गएका स्थानियको ठहर छ । यस क्षेत्रका स्थानीयका अनुसार जिल्लाका दुईवटै नगरपालिका (पालुङटार र गोरखा)मा कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा हुने देखिन्छ ।

साबिकको सातवटा गाविसलाई गाभेर बनाइएको पालुङटार नगरपालिकाको मेयरका लागि नेपाली कांग्रेसका तर्फबाट नारायण गुरुङ र दीपक कँडेल, एमालेका तर्फबाट प्रकाश न्यौपाने, नेकपा माओवादी केन्द्रबाट गुणराज देवकोटा र नयाँ शक्ति नेपालबाट उमाकान्त देवकोटाको चर्चा छ ।

पालुङटार नगरपालिकामा हाल १० वटा वडा कायम गरिएको छ ।

आफ्नै क्षेत्रमा कमजोर बाबुराम !

बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला प्रायः महिनाको एकचोटि गोरखा पुग्ने गर्थे । तर अहिले उनको त्यस्तो रुटिन छैन । पहिले भट्टराई जिल्ला पुगेको खबर सुन्दा उनका कुरा सुन्न गाउँगाउँबाट मासिनहरू उनी भएको ठाउँ पुग्थे । तर अहिले गोरखामा बाबुरामप्रतिको त्यो ‘क्रेज’ भेटिँदैन ।

‘माओवादी पार्टी छाडेपछि बाबुरामप्रतिको आकर्षण घटिसकेको छ,’ पालुङटार बजारमा भेटिएकी एक महिलाले भनिन्, ‘प्रधानमन्त्री भएका बेला उनले जिल्लाका लागि केही गर्न सकेनन् ।’

salt training

कमेन्ट गर्नुहोस्