आगामी सातादेखि ‘स्मार्ट’ चालक अनुमतिपत्र छापिने

‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइ हटाउन आगामी सातादेखि दैनिक ३ कार्य समयमा अनुमतिपत्र छापिने भएको छ ।

‘मास प्रिन्टर’मार्फत दैनिक धेरै घण्टा छापेर अहिले रहेको अभाव हटाउने योजना बनाइएको हो । 


Advertisement

केही दिनदेखि ‘मास प्रिन्टर’मार्फत छपाइ शुरू गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । अहिले दिनमा एक कार्य समयमा मात्रै छपाइ भइरहेको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।

उनका अनुसार अहिले विभागका ७ जना कर्मचारीले उपकरण सञ्चालनको तालिम समेत लिइरहेका छन् । उनीहरूले तालिम सकेसँगै उपकरण पूर्णरुपमा चलाउन लागिएको हो ।


Advertisement

‘१ साताभित्रमा तालिम सकाएर मास प्रिन्टर पूर्णरुपमा छपाइमा जानेछ,’ उनले भने । मास प्रिन्टरले दैनिक साढे ७ हजारसम्म चालक अनुमतिपत्र छाप्ने बताइएको छ । ‘मास प्रिन्टर’सँगै विभागमा रहेका पुरानो छपाइ उपकरण (प्रिन्टर) पनि प्रयोगमा आउने उनको भनाइ छ । पुरानो उपकरण कुनैमा समस्या आएपनि विभागले मर्मत गरेर सञ्चालन गरिरहेको छ । 

अहिले पनि एक कार्य समयमा छाप्दा दैनिक २ हजार ५०० कार्ड छापिरहेको छ । ३ कार्य समयमा चलाउन पनि विभागसँग पर्याप्त जनशक्ति रहेको उनले बताए ।

देशभरका यातायात व्यवस्था कार्यालयबाट आएका आवेदनका आधारमा विभागले झण्डै ८ लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न बाँकी छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्