कात्तिक २४, २०८०
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
पुस ८, २०७५
ट्राफिक जवान हृदयेश कुमार सिहंले एकबारको जुनीमा धेरै मास्क फटाइसके । दालभात तरकारी उनको दोस्रो शर्त हो, पहिलो शर्त त मास्क नै हो । यस्तो लाग्छ कि मास्क र ट्राफिक प्रहरी एकअर्काका परिपूरक भइसके । त्यसो त काठमाडौंमा सर्वसाधरण पनि मुखमा मास्क नै लगाएर पैदलयात्रा गरेको देखिन्छ । गाउँघरमा एउटा कथन थियो, लाज लाग्यो भने मानिसले आफ्नो मुख छोपेर हिँड्छन् । तर यो शहरमा मुख छोपेर हिँड्नका लागि लाज मान्नुपर्ने कुनै कारण छैन ।
निकै व्यस्त गोंगबु चोकको बीचमा उभिएर दुवै हात हल्लाउँदै, सिट्ठी बजाउँदै सवारी साधनहरूलाई व्यवस्थित गर्ने सिंह जस्ता कैयौं राष्ट्रसेवक ट्राफिक प्रहरीहरू लाज माने जसरी मुखमा मास्क लगाएर काम गरिरहेका हुन्छन्, यद्यपि कारण भने अर्कै छ । तिनीहरूले भयङ्कर प्रदूषणको मार खेपिरहेका छन् । बरू हाकिमले दिएको मार खासै ठूलो हुन्न, सडकमा हिँड्ने ठूला कुलघरानाका मानिसले दिएको मार पनि सबैभन्दा खतरनाक हुन्न, तर सबैभन्दा खतरनाक हुन्छ यो काठमाडौंको धूलोधूवाँ । यही धूलोधूवाँ फोक्सोभरि भरेर देशसेवा गर्दैछन् ट्राफिक प्रहरीहरू ।
स्वास्थ्यप्रतिको चिन्ता कसलाई हुन्न होला । केहीबेर प्रदूषित सडकमा हिँड्न मुश्किल हुन्छ आम मानिसलाई । तर ट्राफिक प्रहरीहरू घण्टौंसम्म, त्यो पनि एक दिन हैन, दुई दिन हैन, तीन दिन हैन । हमेशा हमेशा । प्रसंग उठ्ला, उनीहरूले रोजेको जागिर नै यस्तै हो त गर्ने के ? हो, उनीहरूले रोजेको जागिर नै यस्तै हो । तर जागिर यस्तै हो भन्दैमा राज्यले कसैको स्वास्थ्य जोखिममा पर्ने गरेर ट्राफिक ड्युटी खटाउन मिल्छ र ? यो मानवअधिकार हननको विषय हो । यो गम्भीर विषय हो । सबैभन्दा महत्त्वपूर्ण कुरा त विदेशी यात्रुहरूको नजरमा नेपाली भन्ने मनुष्यहरू जंगली युगमै रहेछन् भन्ने बलियो प्रमाण पेश गर्छ यस्ता दृश्यहरूले ।
अर्बौं भ्रष्टचार गर्न हुन्छ हल्लुँडहरूले तर के राजधानी काठमाडौंको मुख्य चोकहरूको ट्राफिक लाइट जडान गर्न हुन्न । नेताहरूलाई सरकारी तेलको पैसा हसुर्न लाज लाग्दैन, कोठाभाडाको पैसा हसुर्न पनि लाज लाग्दैन । तर कम्तीमा ट्राफिक व्यवस्थापनको हरिबिजोक देखेर त लाज लाग्नुपर्ने हो । नेताहरू विदेश नघुमेका पनि हुन्नन्, चिल्ला सडक नदेखेका पनि हुन्नन् । तर किन मुख्य चोकहरूमा ट्राफिक लाइट जडान गर्ने नीति ल्याउन यिनीहरूलाई मरेसरहको दुःख हुन्छ । कहिलेकाहीँ जडान हुन्छन् पनि तर आज छ, भोलि छैन । ट्राफिक लाइटहरूको मर्मतसुधार गर्न कसैले आमरण अनशन गरिदिनु नै पर्ने हो जस्तो ।
ट्राफिक जवान हर्क थापामाथि दुःखको पहाड नै छ । ठूलाबडा कुलघरानाका छोराहरूलाई हेल्मेट लगाएर बाइक चलाउन अनुरोध गर्दा, ‘तेरो जागिर खाइदिन्छु’ भन्ने धम्की सुन्नुपर्छ । भावुक हुँदै थापा थप्छन्, ‘अरे यार, उनीहरूकै टाउको जोगियोस्, दुर्घटना भइहालेमा अंगभंग नहोस् भनेर उनीहरूकै भलाइका लागि हेल्मेट लगाउन भन्यो उल्टै जागिर खाइदिन्छु भनेर धम्की दिन्छन् । कता कता फोन लगाउँछन् । ठीकै छ, हाम्रो त जागिर जाला तर यस्ताहरूको एकदिन जीवन जान्छ । साना मानिसले भनेको कुरा पनि सुन्नुपर्छ । रहर लागेर मजाक गर्न सडकमा उभिएका हैनौं हामी पनि ।’
कतिपयले आफैंमाथि गाडी हुत्त्याएर चलाउन खोजेको अर्का ट्राफिक जवान राजकुमार खड्काको अनुभव छ । उनी भन्छन्, ‘हामीलाई देख्यो भने झन् छिटो सवारी हाँक्छन् । शान दिनको लागि होला शायद । ठूलाबडाका आफन्तहरूलाई सम्झाउन गाह्रो हुने उनको अनुभव छ । मादक पदार्थ सेवन गरेर बाइक चलाउनेहरूले कहिलेकाहीँ हान्न पनि खोज्छन् तर आत्मरक्षाको लागि हतियार हुन्न । हुन्छ त केवल एउटा सिट्ठी । रातको समयमा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनेहरूबाट बढी प्रताडित हुनुपर्ने खड्काको अनुभव छ । कानून र आदेश अनुसार काम गर्दा पनि जागिर खाइदिन्छु भन्ने धम्की सामन्य जस्तो भइसकेको छ ।
हो, ट्राफिक प्रहरीहरूमा पनि गल्ती कमजोरी हुन्छन् तर अहिले पढेलेखेका ट्राफिकहरू पनि छन् । पहिलेजस्तो एक सय रुपैयाँ थापेर सवारी नियम उल्लंघन गर्नेहरूलाई छुट दिने कमै हुन्छन् । एकपटकको चोर सयपटकको चोर हुन्न । गौशालामा खटिने ट्राफिक प्रहरीहरूको गुनासो यस्तै छ । संगठनमा सबै दूधले धोएका छन् भन्न सकिन्न, एक दुईजनाको बदमासीले गर्दा हामी सबै चोर जस्तो देखिएको उनीहरूको बुझाइ छ । ट्राफिक प्रहरी जवान हर्क थारू भन्छन्, ‘रिचार्ज कार्डमा बिक्नेहरू पनि थिए, तर अहिले धेरै सुधार भएको छ ।’ उनी थप्छन्, ‘ट्राफिक प्रहरीलाई सधैंभरि एउटै आँखाले हेरिदिनुभएन, बोराको आलुमा एकदुईवटा आलु कुहिएका पनि त हुन्छन् । हामी पनि जनताकै सेवामा खटिएका हुन्छौं, हामी कुहिएका आलु हैनौं ।’
जोखिमको बीचमा उभिएका ट्राफिक प्रहरीहरू
केही समयअघि सर्वोच्च अदालतले काठमाडौं उपत्यकाको धूलोधूवाँ नियन्त्रण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र स्थानीय विकास मन्त्रालयसहितका निकायहरूलाई परमादेश जारी गरेको थियो । त्यसपश्चात् गृहमन्त्री रामबहादुर थापाले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न तथा धूलोधूवाँ हटाउन विद्यमान कानून संशोधन गरेर कडा कानून ल्याइने बताएका थिए । वायुलगायत प्रदूषणले काठमाडौंको जनजीवन नराम्ररी प्रभावित भएको कुरा सर्वमान्य भइसक्यो । सवारीसाधनले फालेको धूवाँ, सडकको धूलो र अन्य प्रदूषणले पैदल हिँड्न र सास फेर्न कठिन भइरहेको छ ।
वायु प्रदूषण नियन्त्रण गर्न उपभोक्ताबाट उठाइएको रकम सरकारले के कामका लागि खर्च गर्ने गरेको छ त्यो रहस्यको विषय बन्दै गइरहेको छ । जस्तो कि, पेट्रोलियम पदार्थबाट डिजेल र पेट्रोल प्रयोग गरेबापत उपभोक्ताबाट प्रतिलिटर ५० पैसा प्रदूषण शुल्क लिने गरिएको छ । यसरी उठाएको रकम हिसाब गर्दा पाँच अर्बभन्दा बढी हुन आउँछ । नेपाल आयल निगमले २०६६ सालदेखि डिजेल र पेट्रोलमा प्रतिलिटर ५०÷५० पैसाका दरले उठाएर सरकारलाई बुझाउँदै आएको छ । तर पनि दुःखको कुरा, विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा वायु प्रदूषणका कारण लाग्ने रोगबाट प्रत्येक वर्ष १० हजारको मृत्यु हुने गरेको छ ।
हालसालैको कुरा गरौं, शनिवारदेखि सोमवारसम्म काठमाडौंको वायु प्रदूषणको दर २.५ पीएम छ । यो प्रदुषणको दर २ सय ५७ माइक्रोग्राम प्रति मिटर क्युबसम्म पुग्यो । र यो यस वर्षकै उच्च प्रदूषण भएको वातावरण विभागको तथ्यांक छ । यातायात व्यवस्था विभागले मापदण्ड नै तोकेर कालो धूवाँ फाल्ने सवारी सञ्चालनमा रोक लगाउने भनेको थियो । तर त्यो कार्यान्वयन शून्य छ । उपत्यकाको सडकमा गुड्ने १२ लाखभन्दा बढी सवारीसाधन मर्मतविना चलिरहेका छन् । तिनले पनि प्रदूषण निम्त्याइरहेका छन् । गत वर्ष प्रधानमन्त्री कार्यालयले वायु प्रदूषण न्यूनीकरण गर्न द्रुत टीम गठन गरेर अनुगमनमा ताकेता गरेको थियो । तर यस वर्ष भने सबै चुप छन् ।
समग्र अवस्थालाई दृष्टिगत गर्दा उपत्यकाको वायु चौबीसै घण्टा सास फेर्न लायक छैन । धूलोले मानिसको फोक्सोमा गम्भीर असर पुर्याएको छ, छालाको रोग निम्त्याएको छ । र सबैभन्दा जोखिम ट्राफिक प्रहरीहरू, सडकमा व्यापार गरेर बस्नेहरू, सडक बालबालिका र घरबारविहीनहरू परेका छन् । प्रदूषण मात्र हैन, तनाव पनि बढिरहेको छ । काठमाडौं ट्राफिकमा पोस्टिङ भएपछि सडकमा बेहोर्ने तनावकै कारण उच्च रक्तचापका कारण १६ जना ट्राफिक प्रहरीहरू ब्लड प्रेसर कम गर्ने औषधि खाएर काममा जान थालेका छन् । यति मात्र हैन, काठमाडौंको धूवाँले केही ट्राफिक जवानलाई क्यान्सर समेत भएको छ । तर बिरामी परेका ट्राफिकलाई उपचार खर्च दिने व्यवस्था नेपाल प्रहरीले गरेको छैन ।
मादक पदार्थ सेवन (मापसे) जाँच्ने ब्रेथलाइजर मशिन नहुँदा ट्राफिक प्रहरीलाई जाँच गर्न समस्या भएको छ । थोरै संख्यामा भएका ब्रेथलाइजर मशिन पनि बिग्रिएका कारण ट्राफिक प्रहरीले अहिले सुँघेरै मापसे जाँच गर्नुपरिरहेको छ । सुँघेर जाँच गर्दा ट्राफिक प्रहरीलाई अन्य रोग सर्ने खतरा नि उत्तिकै छ । मापसे नगरेका सर्वसाधारण अनावश्यक दुःख दिएको भन्दै ट्राफिक प्रहरीसँग रिसाउने गरेका छन् । मापसे गरे नगरेको सुँघेरै थाहा पाउनुपर्ने हुँदा जाँच गर्ने क्रममा थोरै मात्रामा मापसे सेवन गरेका नागरिकलाई पनि स्वास्थ्य जाँचका लागि अस्पताल पुर्याउनुपर्ने ट्राफिक प्रहरीको बाध्यता रहेको छ । मुखनजिकै नाकले सुँघ्नुपर्दा चालकलाई घातक सरुवा रोग लागेको भए मारमा पर्ने जोखिम छ ।
मापसे गरेर आफ्नै अगाडिबाट भाग्न लागेका अटेरी चालकलाई रोक्न खोज्दा खुट्टा भाँचिएर ट्राफिक प्रहरी घाइते भए । केही ट्राफिक प्रहरीले लगाउने टोपीमा आजकल क्यामेरा पनि जडान गरिएका कारण यस्ता घटनाहरू बाहिर आएका छन् । सीसीटीभीका फुटेजहरूमा पनि धेरै समस्या यस्तै भाग्नेहरूबाट झेल्नुपरेको देखिन्छ । ट्राफिक प्रहरीले रोक्न खोज्ने तर सवारी चालकहरू भने भाग्न खोज्ने समस्याका कारण हालसम्म काठमाडौंमा मात्रै कम्तीमा आठजना ट्राफिक प्रहरीहरू न्युरो, बीएन्डबी र अर्थोपेडिक अस्पतालमा उपचार गराइरहेका छन् ।
रक्सी अरूले पिउँछन्, तिनको मुख सुँघ्दै चिसो सडकमा रातभर ड्युटी गर्नुपर्ने बाध्यता छ ट्राफिक प्रहरीलाई । खाएको विष पो लाग्छ, नखाएको विष कसरी लाग्छ भनिन्थ्यो तर ट्राफिक प्रहरीहरूलाई नखाएको रक्सी पनि लाग्ने गरेको छ । पिउनेहरूको मुख सुँघ्दा सुँघ्दा आफैं पिएको जस्तो हुन्छ । त्यो पनि रातको २ बजे तिनका बाटो कुर्दै शून्य डिग्रीको चिसोमा बस्नुपर्दा एकबारको जुनी बडो निरस लाग्छ ट्राफिक जवान थर्कसेन मल्ललाई ।
मल्ल भन्छन्, ‘बिहान ७ देखि ११ बजेसम्मको पहिलो पीक आवरको ड्युटी र अपराह्न ३ देखि ६ बजेसम्मको दोस्रो पीकआवर ड्युटीमा बस्न निकै मुश्किल हुन्छ । भीआईपीहरूको मुभमेन्ट मिलाउन पर्यो । गाह्रो छ । तर सडकको स्तर राम्रा र अनुशासित सवारी चालकहरू नभएका कारण यस्तो भएको हो । हामीलाई काम गर्नको दुःखले हैन । ‘ठाडो लाइन’ भनिने माइतीघरदेखि जय नेपाल हलसम्मको सवारी चाप, भीआइपीहरूलाई एकछिन पनि जाममा पार्न नहुने चुनौती हुन्छ । अर्कातर्फ लामो समयको जाममा परेका सर्वसाधारण रिसले चुर हुन्छन् । हामीले फोहोर फोहोर शब्दका गाली सुन्नुपर्छ । खै किन हो किन यी गालीहरू पनि चुनौती जस्ता लाग्छन् ।’
गैरजिम्मेवार सवारी चालक
ट्राफिक व्यवस्थापनका लागि ऐन, नियमहरू बनेका छन् । नेपालमा त झन् धेरै बनेका छन् । कानून त नेपालमा जति कहाँ बनेको होला र ! यो यस्तो देश हो जहाँ संविधान बनाउन नै १० वर्ष लाग्यो । यो देशमा पनि विश्वव्यापी मान्यता र खास पद्धतिहरू लागू गरिएका छन् । तर ती सबै कागजका खोस्टा मात्र भए । नियम उल्लंघन गरेर सवारी चलाउनुलाई बहादुरी ठान्ने चालकहरू जबसम्म सडकमा देखिन्छन्, तबसम्म सभ्य समाज भन्न मिल्दैन ।
सार्वजनिक साधनमा यात्री लिएर गइरहेको चालक हँसीमजाक गर्दै मोबाइल फोनमा कुरा गरिरहेको हुन्छ । सवारीसाधन निजी होस् कि सार्वजनिक, सानो होस् कि ठूलो, चालक अगाडिको गाडीलाई ओभरटेक गर्दा जितेको महसूस गर्छन् । मानौं कि दोस्रो विश्वयुद्धकै जीत हो यो । नियम पालना त केवल सडकमा बस्ने ट्राफिक प्रहरीका लागि मानिदिनुपरेको जस्तो छ ।
काठमाडौं उपत्यकामा हर्न निषेध छ । कस्तो अवस्थामा बजाउन पाइने भन्ने पनि छ । हर्न केही कम पनि भयो तर अनावश्यक बज्न छाडेको छैन । के के गरोस् एकजना ट्राफिक प्रहरीले ? लाखौं सवारीसाधन गुड्छन् । बरू जंगलमा गाईभैंसी मिलेर हिँड्छन् तर सडकमा मानिसहरू तमाशा देखाउँछन् । पछाडिको चालकले हर्न बजाउनु आफ्नो विशेषाधिकार ठान्छ । एउटा चालक आफ्नो विशेषाधिकार झैं ट्राफिक जाम गरेर सडक किनारामा पार्किङ गरिरहेको हुन्छ । तिनलाई ट्राफिकले गएर सम्झाउँछ बुझाउँछ तर तिनको जवाफ हुन्छ – हामीले गाडी चलाएको १० वर्ष भयो, सबै कुरा थाहा छ, सिकाउन पर्दैन ।
अनि सजिलै बाटोमा गाडी पल्टाएर मान्छे मारेपछि चाहिँ तिनीहरू झ्यालबाट हामफालेर भाग्छन् ।
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...