राष्ट्रकवि माधव घिमिरेको सम्झनामा उबेलाको दशैं

असोज २०, २०७६

हाम्रो नेपालको सबैभन्दा ठूलो चाड कुन हो ? दशैं । 

सबैभन्दा रमाइलो ऋतु जहाँ वर्षदिनसम्मको मेहेनत फल्न लागेको छ ।  


ADVERTISEMENT

प्रकृति एकदम सुन्दर छ । खोलानाला शान्त भएका छन् । निलो बगेका छन् । प्रकृतिले पनि केही गरूम् भनेको छ ।

आफूलाई पनि फुर्सद भएको छ, र त्यसमाथि दुईटा कुरा थपिएका छन् । 

पहिलो कुरा- वर्षदिनसम्म परदेशतिर गएका मान्छे यही बेलामा घर आउँछन् ।

नौ दिनसम्म लगातार पूजा भएर दशौं दिन प्रसादका रूपमा टिका लगाउँछौं ।

रमाइलो जीवनमा चाहिन्छ । सधैं काम मात्रै गरेर पनि साध्य हुँदैन । विश्राम चाहिन्छ ।  हामीलाई आफ्नो संस्कृति पनि चाहिन्छ ।

आफ्नो संस्कृति रमाइलो नभएको देश शून्य देश हो । हामीले पहिलेको दशैंमा वर्षदिनसम्म नयाँ लुगा लगाउन पाएको थिएनौं ।

अहिले त दिनको तीनचोटि लुगा फेर्छन् । उ बेलामा वर्षमा दुई जोर लुगा हुन्थे । एउटा राख्ने लुगा अर्को लाउने लुगा । उ बेलामा बाहिर गएका मान्छे लर्को लाएर आउँथे ।

अहिले बाहिर गएकाहरू भन्नेबित्तिकै आउन नपाउने बाध्यता पनि हुन सक्छ । 

अमेरिकामा कुनै कम्पनीमा काम गर्दैछ भने भन्नासाथ हवाइजहाजको टिकट नपाउन पनि सक्छ ।

यद्यपि आँट्यो भने २४ घण्टामै आउन पनि सकिने अवस्था छ अहिले । उ बेलामा चाहिँ चाहेर पनि ढिलो हुन्थ्यो ।

धेरै फरक छ  पहिलेको र अहिलेको दशैंमा । 

***

टुँडिखेलमा धमाधम च्याङ्ग्रा आउँथे । 'धमोधम' भन्थे । धमाधम आए भनेको 'धमोधम' भन्थे । रमाइलो हुन्थ्यो टुँडिखेलमा पनि ।

अहिले त च्याङ्ग्रा ल्याएर राख्ने ठाउँ पनि छैन । र उबेलाको च्याङ्ग्राको मोल र अहिलेको च्याङ्ग्राको मोल पनि आकाश र जमिनको फरक छ ।

अहिलेको वर्ष त सागको मोल पनि त्यो बेलाको च्याङ्ग्राको मोल जति भएको छ । 

***
परदेशबाट आउने मानिसहरूको दुईटा कुरा छ ।

एउटा त माया हो । बाउआमा, इष्टमित्र साथीसंगीसँग भेटघाट । हामी मेसिन त होइन नि ! परिवारको माया पनि चाहिन्छ । सधैं काम गर्न सकिँदैन ।

अर्को भनेको कल्चर हो । त्यो भनेको पूजाआजा अनि आशिर्वाद आदानप्रदान हो । ठूलाबडाबाट लिइने आशिष र माया हो ।

सबै वर्ष सबैले आशिष पाउँछन् भन्ने छैन । यो आशिषको निम्ति पनि एउटा समारोह जोडेर आशिष लिइन्छ र दिइन्छ भने त्यसको कति महत्त्व होला ? 

***

नवदुर्गाको पाठ । चण्डीको पाठ । त्यसै बसिरहेको थियो । जय देवी भैरवी… मालश्रीको धुन सुनियो । दशैं आयो कि के हो ? हो त नि । 

ओहो दशैं पो आयो । 

घटस्थापना आयो । 

ए घटस्थापना आइसक्यो ? 

हो त नि ! 

हाम्रो त घरमा आमाले माटो ल्याएर जमरा राखिसक्नुभयो । उसकोमा शंखघण्ट बजाएर धुपधुँवा गरेर धुन्धान छ । तिमीहरूको घरमा छैन ? 

हाम्रो पनि बिहान सबै गरियो । 

किन गरेको भनेको त दशैं पो लागेछ । 

ओहो ! रमाइलो अब । 

सबै रमाइलै रमाइलो । 

पिङ हाल्नुपर्‍यो । धर्ती छोड्नुपर्‍यो । एक किसिमको पिङ हो र ! दुई किसिमको । रोटे पिङ र लिंगे पिङ । रोटे पिङमा त स्वर्ग गयो अनि फेरि धर्तीमा आयो । 

***

कसैले हाम्रो गालामा चट्कायो भनेदेखि हामीले पनि चट्काइदिने । अनि शक्तिको पूजा गर्ने । नवदुर्गाको पूजा गर्ने । अष्टमातृकाको पूजा गर्ने । मातृका देवीहरूको रूप झल्झलाउँदो हुन्छ अरे ।

कन्याको रूपमा पूजा हुन्छन् । काठमाडौंको देवालयहरूमा अरूको चाहिँ कम बढी भगवतीका मूर्ति हुन्छन् । भुटानबाट पनि आफ्नो पुर्खाको देवी भनेर पूजा गर्न नेपाल आउँछन् ।

शक्तिको पीठहरूमा कन्याको नवदुर्गाको पूजा गर्नु नै शक्तिको पूजा गर्नु हो । संस्कृतमा एउटा उक्ति छ, मुर्खमाथि मुर्ख्याइँ नै गर्नु ।

शठे शाठ्यम् समाचरेत् । कसैले मुर्ख्याइँ गर्छ भने आफूले पनि मुर्ख्याइँ गर्ने । 

***
अब धार्मिक कुरा, चण्डीमा कस्तो कल्पना छ भने खलबल सुनियो । दैत्यले के को खलबल हो भनेर भने । यस्सो हेरेको त हिमाल भर्खर घामको झुल्कामा परेको पहेंलो सुनौला हिमालमाथि सिंह अनि सिंहमाथि पनि भगवती चढेको पो देखियो । बा… चण्डीको कत्रो बडा कल्पना । अनि अष्टमातृकाहरू सप्पै हाम्रो मनको भावनाहरू । कामवासना र प्रेम । 

अहिले कामवासना उत्पात भएर कन्याहरूलाई बाहिर हिँड्नै मुस्किल भएको छ । लाजमर्नु कुराहरू पनि भएका छन् । 

हाम्रा नौवटै मानवीय मूल्यहरू छन् । तिनीहरूलाई कामवासनाको मूर्तिकरण गरेर देवीको रूप दिएर प्रेमको रूपमा प्रस्तुत गरिन्छ । कामवासना मात्रै भयो भने पशु र हामीमा के फरक भयो र ? कामवासनासँगै प्रेम पनि हुनुपर्छ ।  हाम्रा मानवीय मूल्यहरूमा विचलन आउन थाल्यो भने हतियार लिएर चण्डीको अवतारमा आह्वान गर्छन् । 

***
कहिलेकाहीँ समाज परिवर्तन हुन्छ । तर आफ्नो चाडबाडलाई निन्दा गर्नु हुँदैन । 

त्यो पर्व हिन्दूको हो, नमनाउने त्यो भन्ने होइन । 

हिन्दूको हो, रमाइलो नै हुन्छ । आफ्नै देशको पर्व हो । जाने हो रमाइलो हेर्ने हो । बिदा पनि दिइएको छ । टुँडिखेलमा त्यही दिन बन्दुक पनि पड्किन्छ । जानुपर्छ रमाइलो गर्नुपर्छ । 

छठमा पनि हामी जाने हो, हेर्ने हो । एउटाले मनाएको दशैं अर्कोले हेर्नुपर्छ किनभने राष्ट्रभित्रको कुरा हो नि त ! राष्ट्रमा फरक-फरक संस्कृति, पर्व छ भने त्यो आफ्नै त हो । 

मेरै गण्डकी हो भनेर भन्न थालियो भने बाग्मती के गर्ने ? बाग्मती उतै राख मलाई गण्डकी भए पुग्छ भन्ने त होइन नि !

सबै खोलानाला, नदी चाहियो । सातै प्रदेश चाहियो । मिलेर बस्नुपर्छ । त्यो चाहिँ हामी नेपालीको विशेषता पनि हो ।

एउटालाई पर्दा अर्कोले सहयोग गर्नु हाम्रो काम हो । त्यो नै मानवीय मूल्य हो । परस्परमा माया गर्ने र रमाइलो गर्ने कुरा पो बढी त । 

(राष्ट्रकवि माधव घिमिरेसँग लोकान्तरकर्मी प्रदिप अधिकारीले गरेको कुराकानीमा आधारित) 

असोज २०, २०७६ मा प्रकाशित

प्रदिप अधिकारी

अधिकारी लोकान्तरका लागि मनोरञ्जन र खेलकुदमा कलम चलाउँछन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस