सहकर्मीको हत्या गरेर दक्षिण कोरिया आएका जहाज कर्मचारीलाई उत्तर कोरियातिरै फर्काइयो

कात्तिक २२, २०७६

काठमाडौं – आफ्नो जहाजका कप्तान र १५ अन्य कर्मचारीको हत्या गरेर दक्षिण कोरियातिर भागेका दुई उत्तर कोरियालीलाई उत्तरतिरै फर्काइएको छ । 

उनीहरू जघन्य अपराधी भएको बताउँदै उनीहरूलाई बिहीवार निःशस्त्रीकृत क्षेत्रमा रहेको पानमुनजोममा उत्तरलाई बुझाइएको हो । सन् १९५३ पछि पहिलोपटक दक्षिणले उत्तरका नागरिकलाई सुपुर्दगी गरेको हो । 


ADVERTISEMENT

ती दुईजनाले अर्का एक सहयोगीसँग मिलेर कप्तानलाई मार्ने षड्यन्त्र गरेका थिए । कप्तानले आफूहरूमाथि दुर्व्यवहार गर्ने गरेको उनीहरूको आरोप छ । अनि माछा मार्ने जहाजका अन्य कर्मचारीलाई पनि उनीहरूले हत्या गरेका थिए । 

उनीहरू उत्तरको किमचाएक बन्दरगाहमा अघिल्लो साता आइपुगेका थिए । उनीहरू भाग्न खोज्दा तेस्रा व्यक्ति चाहिँ पक्राउ परेका थिए । दुईजना चाहिँ भाग्न सफल भएका थिए । 

उनीहरूलाई दक्षिण कोरियाको जलसेनाको जहाजले लखेटेको थियो र चेतावनी दिनका लागि गोली हानेको थियो । 

उनीहरूलाई जलसेनाले शनिवार नियन्त्रणमा लिएको थियो । 

उनीहरूले प्रहरीलाई दक्षिण कोरियामा बस्न चाहेको बताए तर दक्षिण कोरियाली अधिकारीहरूले उत्तर कोरियामा पक्राउ पर्नबाट बच्नका लागि मात्र उनीहरूले त्यसो भनेको निश्चित गरेर उत्तर कोरियालाई मंगलवार उनीहरूको सुपुर्दगी गर्ने कुरा बतायो । 

उत्तरमा हुने राजनीतिक दमन र गरीबीबाट बच्न भागेका उत्तर कोरियालीलाई दक्षिण कोरियाले आफूकहाँ शरण दिने गरेको छ । 

एजेन्सी

कात्तिक २२, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार