काठमाडौँ, ७ बैशाख - मधेसी मोर्चा सहमतिमा नआए पनि ३१ वैशाखमै स्थानीय तहको निर्वाचन गर्न प्रमुख पाँच दल सहमत भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बालुवाटारमा बोलाएको बैठकमा पाँच दल घोषित मितिमै निर्वाचन गराउन दृढ देखिएका हुन् । संघीय गठबन्धन र मधेसी मोर्चालाई मनाउन सकिने सम्भावना र निर्वाचनका विषयमा छलफलका लागि प्रधानमन्त्रीले कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा र फोरम लोकतान्त्रिकको बैठक बोलाएका थिए ।
बैठकमा कसले के भने ?
निर्वाचनमा आए मोर्चालाई समय: प्रधानमन्त्री
मोर्चाका नेताहरू अहिले पनि सम्पर्कमै हुनुहुन्छ । कथंकदाचित उहाँहरू निर्वाचनमा सहभागी हुनुहुने भयो भने त्यसवेला के गर्ने ? अहिलेकै मितिमा त समेट्न अप्ठेरो पर्छ । केही दिनको समय दिनुपर्ने पनि हुन सक्छ । त्योवेला के गर्ने भनेर सुझाब लिन तपाईंहरूलाई बोलाइएको हो । मोर्चा र गठबन्धनसँग सल्लाह गरेरै विधेयक दर्ता गरिएको हो, तर किन धोका दिनुभयो, थाहा भएन । हठात् अस्वीकार गर्ने उहाँहरूको निर्णयले म पनि आश्चर्यचकित छु ।
मोर्चा आए निर्वाचन दुई चरणमा : देउवा
प्रधानमन्त्रीज्यूले राख्नुभएको धारणा नै कांग्रेसको पनि धारणा हो । सकेसम्म मधेसी मोर्चालाई सहमतिमा ल्याउने प्रयास गरौँ, उनीहरू सहमतिका लागि तयार भएर निर्वाचनमा भाग लिन्छन् भने दुई चरणमा गर्दा पनि केही फरक पर्दैन भन्ने कांग्रेसको मान्यता हो । तर, धेरै प्रयास गर्दा पनि मोर्चा सहमतिमा आउँदैन, निर्वाचनमा भागै लिँदैन भने मिति सारेर मात्रै समाधान हुँदैन, ३१ वैशाखमै निर्वाचन हुन्छ र गर्नुपर्छ ।
सहभागिता निश्चित भए सहयोग गर्छौं : वामदेव
मोर्चाले त पहिले संघीय संसद्को निर्वाचन गर्नुपर्ने, स्थानीय तहको अधिकार कटौती गरेर प्रदेशलाई शक्तिशाली बनाउनुपर्ने माग अघि सारेको छ । तर, अझै उनीहरू निर्वाचनमा आउँछन् भनेर मिति सार्ने कुरा गरिरहनुभएको छ । ठीकै छ, तपाईंलाई उनीहरू सहमतिमा आउने विश्वास छ भने भन्नुहोला । तर, अहिल्यै अनुमानका आधारमा हामी जवाफ दिन सक्दैनौँ । अहिलेलाई एउटै चरणमा ३१ वैशाखमा निर्वाचन गराउनुको कुनै विकल्प छैन ।