चौरजहारी हत्याकाण्डको लुकेको पाटो

  • दीपेन्द्र खड्का

गत जेठ ११ गते बिहानै रुकुमको चौरजहारी नगरपालिका–८ मा अन्तरजातीय प्रेमकै कारण १ दलित युवाको हत्या भएको समाचार सुनियो ।


Advertisement

आफू हुर्किएको, खाए खेलेको, पढे लेखेको नगरपालिकामै अपत्यारिलो घटना भएको सुन्दा मन थाम्न सकिएन । मेरो सम्पर्कमा रहेका धेरै साथीहरूले तपाईंको जिल्लामा त यस्तोसम्म भएछ नि भनेर प्रसंग कोट्यान थाले ।

नियमित संवाद भइरहने जिल्लाका जनप्रतिनिधिसँग कुरा गरें । तथाकथित माथिल्लो जातको किशोरीसँगको प्रेमलाई वैधानिकता दिन खोज्दा गरिएको नरसंहारका अगाडि लामो संघर्ष र बलिदानबाट प्राप्त गणतन्त्र फिका भइदियो ।


Advertisement

आजको राजनीतिक परिवर्तनका लागि मेरा अग्रज र स्वयं मेरो पुस्ताले धेरै ठूलो त्याग, तपस्या र बलिदानी व्यहोरेको छ तर पनि समाजमा जातभात, छुवाछुत र कुसंस्कार जीवतै रहेछ ।

आज पनि सदयौंदेखि गरीबी र अशिक्षाको पासोमा पर्दै आएका दलितमाथि जघन्य अपराध हुने क्रम रोकिन सकेको छैन । चौरजहारीमा गरिएको सामूहिक हत्याकाण्डका विपक्षमा सिंगो देश उभिएको छ तर पनि कतिपय मानिसहरू घटनालाई सामान्य झडपका रुपमा अर्थ्याउने कोशिश गरिरहेका छन् ।

अपराधलाई कालो पर्दाले छोप्न उनीहरूले विभिन्न किसिमको आरोप लगाउन खोजिरहेका छन् । घटनालाई सर्सर्ती हेर्दा ती आरोपलाई पुष्टि गर्ने आधार भने कदापी भेटिँदैन ।
 
घटनास्थल चौरजहारीको सोती गाउँ र मृतक नवराजको गाउँ जाजरकोटको भेरी नगरपालिका आमुन्ने–सामुन्ने अवस्थित छन् । जिल्ला फरक भएपनि भेरी भेगका मानिसको लवज, संस्कार, रीतिरिवाज सबै एकै किसिमको छ ।

घटनामा हत्या गरिएका नवराज विक, गणेश बुढा र टिकाराम सुनार लगायतका युवामाथि कतिपय मानिसले रक्सी, गाँजा सेवन गरेर स्थानीय मानिसमाथि हातपात गरेको, लकडाउन उल्लंघन गरेको जस्ता आरोप लगाएका छन् । यी आरोप मिथ्यापूर्ण, तथाकथित माथिल्लो जात भएको र सत्तामा आफ्नो पकड रहेको कुत्सित मानसिकताबाट ग्रसित छन् ।

लागूऔषध सेवनको आरोप !

प्रेमिका लिन गएका युवाले रक्सी र लागूपदार्थ सेवन गरेको कुरा हालसम्म कसैले पनि पुष्टि गर्न सकेको छैन । मृतक तीनै जनाको शव पोस्टमार्टमको रिपोर्ट नआउँदै यस किसिमको आरोप लगाइनु अत्यन्तै निकृष्ट कार्य हो । सत्यलाई बंग्याएर नशाको मातमा स्वयं मृतकले नै झडप निम्त्याएको तर्क गर्न यस्तो झूटा तर्क गरिएको हो ।

आमासँग बुहारी लिन जान्छु भन्दै घरबाट निस्किएका नवराजले रक्सी सेवन गरे होलान् भनेर कसले पत्याउँछ ? भेरी नदीको किनारमा तैरिरहेका नवराज, टिकाराम र गणेशले लगाएको कपडामा भाङ भेटियो भनिँदैछ । न त यस विषयमा घटना घटिरहेकै बेला सँगै रहेका प्रहरीले बताएको छ, न पोस्मार्टम रिपोर्टबाट पुष्टि नै भएको छ ।

यो सुन्दा छोरा गुमाएर भावविह्वल बनेकी नवराजकी आमा उर्मिलालाई कस्तो महसूस भइरहेको होला ? मानवीय संवेदनाहीन मानिसले शुरू गराएको हल्लाले पीडितको घाउमा नून खुर्सानी छर्किए जस्तै भएको छ । यस विषयमा प्रहरीले समयमै अनुसन्धान गरी हल्ला चलाउनेमाथि पनि अनुसन्धान गर्नुपर्छ । 

बालविवाहको दण्ड हत्या ?

नवराज विककी प्रेमिका भनिएकी किशोरीको उमेर नपुगेकाले मात्रै परिवारले विवाह गर्न नदिएको तर्क किशोरी पक्षको छ । बाल विवाहको सहारामा अन्तरजातीय विवाहलाई नकार्ने सोच मल्ल परिवारमा देखिन्छ । घटना हुनुभन्दा पहिले पनि चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्लको प्रभावमा प्रहरीले उनीहरूलाई एकआपसमा सम्पर्क नै गर्न नपाउने गरी कागज गराएर छोडेको छ ।

सोही क्रममा नवराज १ रात प्रहरी हिरासतमा बसेका तथ्य पनि सार्वजनिक भएको छ । प्रहरीको काम बिहे भएपछि कानून अनुसार बालविवाहको मुद्दा अघि बढाउने हुनुपर्थ्यो । बिडम्बना स्वयं प्रहरीको व्यवहारले दलित र गैरदलितबीच बिहे हुन नदिने गरी भूमिका खेलेको देखिन्छ ।

घटना घटिरहेकै बेला घटनास्थलमा पुगेको प्रहरीले घरेलु हतियारसहित करीब १०० जनाको संख्यामा रहेका गाउँलेलाई नियन्त्रण गर्नुको साटो दशैंमा मार हान्दा बिच्किएको राँगोलाई लखेटे जसरी पीडित युवालाई लखेट्न दिइरह्यो ।

शायद त्यहाँ उपस्थित प्रहरीलाई थाहा थियो, वडाध्यक्ष डम्बरबहादुर मल्लको सम्बन्ध स्थानीय सरकार प्रमुखदेखि केन्द्रसम्मकै नेतासम्म छ । त्यतिबेला वडाध्यक्षको समूहलाई नियन्त्रण गर्दा आउने सम्भावित परिणामबाट प्रहरी प्रभावित भएको देखिन्छ । यदि प्रहरीले चाहेको भए विभिन्न झडप नियन्त्रणका विधि प्रयोग गरेर यस किसिमको मानवता विरुद्धको अपराधलाई रोक्न सक्थ्यो । 

नेकपा र जनप्रतिनिधिको विवादित भूमिका

स्थानीय राजनीतिक नेतृत्वको भूमिका पनि विवादित छ । रुकुम पश्चिमको ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य तथा नेकपाका जिल्ला अध्यक्ष गोपाल शर्माले निकालेको विज्ञप्ति पनि गैरजिम्मेवार छ । शर्माले ३ जनाको सामूहिक हत्या र ३ जना बेपत्ता भएको गम्भीर घटनाको छानबिन गर्न पार्टीको तर्फबाट पार्टीभित्रैका दलित नेतालाई राखेर छानबिन समिति बनाए ।

सामूहिक हत्या जस्तो जघन्य अपराधको छानबिन गर्ने काम राजनीतिक दलको होइन । राजनीतिक दलको कर्तव्य अपराधको छानबिनमा सघाउने हो तर उनले अहिलेसम्म आफ्नो विज्ञप्ति सच्याएका छैनन् ।

रुकुम पश्चिमबाट निर्वाचित सांसद तथा पूर्व गृहमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा बोल्दा जाजरकोटबाट आएका युवा र स्थानीयबीच झडप भएको र झडप हुँदै जाँदा युवाले भेरी नदीमा हाम फालेको तर्क गरेका छन् । के उनलाई प्राप्त विवरण सत्य छ ? जातीय भेदभावविरुद्ध शुरू गरिएको जनयुद्धको एक सशक्त कमाण्डर रहेका सांसदले पीडकलाई पक्षपोषण गरेको जस्तो देखिने गरी सदनमा बोल्नु त्रुटि हो ।

आफ्ना कार्यकर्ता समेत रहेका वडाध्यक्ष डम्बर मल्लले दिएको सूचनालाई एकपटक पनि सत्यापन नगरी सम्मानित सदनमा बोल्नु गलत थियो । यसले पात्र फेरिएपनि निमुखा दलितमाथिको भेदभाव कायमै रहेको संकेत गर्‍यो ।

यद्यपि घटनालाई राजनीतिकरण नगरियोस् भन्ने उनको आग्रह जायज थियो तर उनले झडपको मानसिकतामा आएका युवासँग कुनै न कुनै किसिमको हतियार हुनुपथ्र्यो, उनीहरूको कुटाइबाट स्थानीय कुनै १ जना पनि मानिस घाइते भएको प्रमाण सार्वजनिक हुनुपथ्र्यो तर झडपलाई पुष्टि गर्ने कुनै पनि आधार देखिँदैन ।

चौरजहारी घटना केवल एउटा झडप मात्र थिएन, त्यो मानवता विरुद्धको अपराध हो । समग्र परिवर्तन विरुद्धको दुष्साहस हो । हिजो दलितमाथि अन्याय हुँदा केवल दलितले मात्र आवाज उठाउँथे तर आज दलितमाथि अन्याय हुँदा सिंगो देश र संसारभर छरिएका सारा नेपाली एकजुट भएका छन् । अपराध लुकाउन नसक्ने अवस्था सिर्जना भएको छ ।

स्थानीय केही मानिसले रुकुमेली र जाजरकोट बीचको लडाइँका रुपमा पनि यसलाई उभ्याउन खोजेका छन् । यस किसिमको प्रयास झन् खतरनाक छ । जाजरकोटबाट प्रतिनिधित्व गर्ने वनमन्त्री शक्ति बस्नेत र रुकुमबाट प्रतिनिधित्व गर्ने पूर्व गृहमन्त्री जनार्दन शर्मामध्ये को बढी न्यायको पक्षमा उभिन्छन् भन्ने जिज्ञासामा पनि दुबै जिल्लाका वासिन्दामा उत्तिकै छ । 

प्रमाण संरक्षणमा बेवास्ता ?

स्थानीयका अनुसार घटनास्थल चौरजहारी नगरपालिका–८ को सोती गाउँ पनि शोकमा छ । केही मानिसले गरेको अपराधको जाँतोले सिंगो गाउँ र चौरजहारी नगरपालिकालाई नै बदनाम बनाएको छ । स्थानीय धेरै मानिस अपराधको पक्षमा अहिले पनि देखिँदैनन् । बरु उनीहरू राज्यको तर्फबाट घटनास्थल र दशीप्रमाणहरू संरक्षण गर्नेतर्फ राज्यको ध्यान नगएकोमा चिन्तित छन् ।

पीडितले दिएको जाहेरीका आधारमा २० जनालाई पक्राउ गरिएपनि घटनामा प्रयोग गरिएका घरेलु हतियार, घटनाका प्रत्यक्षदर्शीको संरक्षण कार्यमा राज्यले बेवास्ता गरेको देखिन्छ । घटनाबाट बाँच्न सफल युवाको भनाई अनुसार करीब १०० जनाले ३ तिरबाट घेरा हालेका थिए । संलग्न सबैलाई किन पक्राउ गरिएन ? गृह मन्त्रालयले बनाएको अनुसन्धान टोली नपुगुञ्जेलसम्म प्रहरीले घटनास्थल सील गर्नुपथ्र्यो । त्यसो गरिएको पनि देखिन्न । 

संक्षिप्तमा भन्दा यस किसिमका घटनाले हाम्रोसामु ठूलो चुनौती खडा गरेको छ । राजनीतिक परिवर्तन भयो । शासन व्यवस्था र शासक फेरिए तर चेतनाको स्तर माथि उठेन । यसले देखाउँछ, राज्यले सामाजिक अपराधमा मोलाहिजा गर्नुहुँदैन । भौतिक विकासले मात्र समाज हामीले चाहेको जस्तो शान्त, समृद्ध र समातामूलक बन्न सक्दैन ।

अब भौतिक पूर्वाधारमा जस्तै सामाजिक चेतना अभिवृद्धिमा पनि लगानी गर्न आवश्यक छ । यस्ता घटना अनुसन्धान र नियमन गर्ने निकायलाई राजनीतिको छायाँबाट मुक्त बनाउनुपर्छ । नत्र फेरि भविष्यमा मुलुकले जातीय, सांस्कृतिक तथा धार्मिक युद्धको सामना गर्नुपर्ने दिन आउन सक्छ ।

dependrarrs@gmail.com

कमेन्ट गर्नुहोस्