
कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएका अमेरिकी राष्ट्रपति राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनका प्रतिश्पर्धी जोए बाइडेनले शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
उहाँले ट्रम्प पत्नी मेलानिया ट्रम्पसमेत सङ्क्रमित भएकोमा दुवै जनाको शिघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।
अहिले ७४ बर्ष पुग्नु भएका राष्ट्रपति ट्रम्प र ५० बर्षीया उनकी पत्नी मेलानिया शुक्रबार कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, “ट्रम्प दम्पत्तिको शिघ्र स्वास्थ्य लाभका लागि हामीले निरन्तर प्रार्थना गरिरहने छौँ ।”
त्यसैगरी पूर्व राष्ट्रपति बाराक ओबामाले पनि ट्रम्प दम्पत्तिको स्वास्थ्य लाभको कामना गरेका छन् । उनले ट्रम्प दम्पत्तिसँगै कोरोनाभाइरसबाट सङ्क्रमित सवैको स्वास्थ्य लाभको कामना गरेका छन् ।
अमेरिकामा अहिले ७३ लाख ३२ हजार १९ जना सङ्क्रमित भएका छन् भने दुई लाख आठ हजार ६९३ जनाको मृत्यु भएको छ । यो दुवै तथ्यांक देश अनुसार हेर्दा विश्वभरी कै सवैभन्दा धेरै हो ।
त्यसैगरी पूर्व राष्ट्रपति विल क्लिन्टन, ट्रम्पसँगै राष्ट्रपतिमा यसअघि प्रतिश्पर्धा गर्नुभएकी हिलारी क्लिन्टन, अहिले डेमोक्र्याटको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार रहेकी कमला हारिसलगायतले पनि ट्रम्पको स्वास्थ्य लाभको कामना गरेका छन्।
स्वदेशी नेता बाहेक अन्य देशका पनि दर्जनौ नेताहरुले उनलाई शिघ्र स्वास्थ्य लाभको सन्देश पठाएका छन् । उनीहरु मध्ये उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले शनिबार पढाएको सन्देशलाई महत्वका साथ हेरिएको छ ।
“उहाँहरुलाई जतिसक्दो चाडो स्वास्थ्य लाभ हुनेछ भन्ने मैले विश्वास लिएको छु,” किमले सम्प्रेषण गरेको सन्देशमा उल्लेख गरिएको छ ।
लामो समयदेखि एक अर्कालाई मुख्य दुश्मन मान्दै आएका अमेरिका र उत्तर कोरियाका शिर्ष नेताद्धय ट्रम्प र किमबीच पटक पटक शिखर वार्ता भएका थिए । त्यसैले पनि उनीहरुले एक अर्काप्रति विषेश निकटता प्रदर्शन गर्ने गरेका छन् । यसअघि किम अस्वस्थ भएको खवर सार्वजनिक भएको बेला पनि ट्रम्पले तत्कालै उनको शिघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।
राष्ट्रपति ट्रम्प दम्पत्तिलाई शुक्रबार कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको छ । उनलाई ज्वरो आउनेलगायतका कोरोनाका सामान्य लक्षणहरु देखिएपछि उहाँलाई अस्पताल भर्ना गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।
उहाँलाई शुक्रबार राती वाल्टर रिड नेस्नल सैनिक अस्पताल लगिएको हो । उनी बिहीबार मध्यान्ह एउटा चुनावी कार्यक्रममा सहभागी भएर फर्केपछि सङ्क्रमित भएको बताइएको छ ।