
प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डले खुमलटारलाई पार्टीभित्रका निश्चित व्यक्तीहरू मात्रै बस्ने थलोका रुपमा विकास गर्दा नेकपामा समस्या आएको बताएका छन् ।
शनिवार सचिवालय बैठकमा आफ्नो प्रस्ताव पेश गर्दै उनले कार्यकारी अध्यक्षका रुपमा जिम्मेवारी प्राप्त व्यक्तिले आफ्नु निवासलाई गुटबन्दीको हेडक्वार्टर बनाएकोमा आपत्ती जनाएको बताएका हुन् ।
उनले पेश गरिएको राजनैतिक प्रतिवेदनमा भनिएको छ, समस्या त त्यहाँबाट सिर्जना भएको हो, जब कार्यकारी अध्यक्ष स्वयंले खुमलटारलाई पार्टीभित्रका निश्चित कमरेडहरु मात्रै बस्ने थलोका रुपमा विकास गर्नुभयो । यसप्रति मैले असहमति जनाएको हुँ । कार्यकारी अध्यक्षका रुपमा जिम्मेवारी प्राप्त व्यक्तिले आफ्नो निवासलाई निश्चित समूहका साथीहरुमात्रै बस्ने गुटबन्दीको हेडक्वार्टर बनाउनु पर्ने, मसँग छलफल गर्नु पर्दा या कमिटीमा कुनै निर्णय गर्नु पर्दा आफ्नाहरुबीच साझा धारणा बनाएर मात्रै आउनु पर्ने र कमिटी बैठकहरु गुटका निर्णय अनुमोदन गर्ने असहाय थलो जस्तो हुनु पर्ने स्थितिप्रति मैले आपत्ति जनाएको हुँ ।
उनले आफू कार्यकारी अध्यक्षलाई बैठक चलाउन सहज होस् भनेर बैठकमा सहभागी नहुने गरेको पनि बताएका छन् ।
उनले भनेका छन्, 'केन्द्रीय सचिवालयले गतः वर्ष मङ्सिरमा नयाँ निर्णय गर्यो– केपी ओलीले प्रधानमन्त्रीका रुपमा पाँचै वर्ष सरकारको नेतृत्व गर्ने र पार्टीमा कार्यकारी अधिकारसहित पुष्पकमल दहाल ‘प्रचण्ड’ ले पार्टी कामको नेतृत्व गर्ने। त्यस निर्णयमा मेरो कहिल्यै असहमति रहेन, छैन । तपाईंले बारम्बार चित्त दुखाउने गर्नुभएको टेलिभिजन कार्यक्रममा मैले भनेको के मात्रै हो भने– हाम्रो पार्टीमा एकजना संवैधानिक या मानार्थ र अर्को कार्यकारी अधिकारसहितको अध्यक्ष छन् भन्ने व्याख्या सही होइन । हामी दुबैजना कार्यकारी अधिकार सहितकै अध्यक्ष हौँ, तर अहिले मैले आफूलाई कार्यकारी अध्यक्षका हैसियतले सरकारको काममा केन्द्रित गराउँछु, पार्टीको काम कार्यकारी अध्यक्षका हैसियतले अध्यक्षका रुपमा प्रचण्डले गर्नुहुन्छ ।’ यसमा आपत्ति जनाउनु पर्ने कारण के छ ? के त्यस बैठकले मलाई अध्यक्ष पदबाटै निलम्बन या बर्खास्त गरेको थियो र ? के सचिवालयले विधान संशोधन गरेर पार्टीमा एकजना सेरेमोनियल अध्यक्ष, अर्को एक्जेक्युटिभ अध्यक्ष हुने व्यवस्था गरेको थियो र ?साँँच्चै भन्ने हो भने त्यसपछि आयोजित सचिवालय स्थायी कमिटी र केन्द्रीय कमिटीका कतिपय बैठक या सेसनमा म जाँदा पनि गइनँ, तपाईंलाई काम गर्न सहज होस् भनेर ।'