पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टी छाडेपछि अभिनेत्री करिश्मा मानन्धर कुनै पनि राजनीतिक दलमा जोडिएकी छैनन्, तर उनले राजनीतिक विषयमा सामाजिक सञ्जालबाट धारणा भने सार्वजनिक गर्दै आएकी छन् ।
त्यसबेला करिश्माले पद बाँडफाँडमा असन्तुष्टि जनाउँदै पार्टी छाडेको चर्चा थियो । तर, उनले उक्त पार्टी र डा. भट्टराईबाट देश समृद्ध नहुने निष्कर्षसहित पार्टी छाडेको प्रतिक्रिया दिएकी थिइन् ।
अहिले आएर करिश्माले सामाजिक सञ्जालमा नयाँ धारणा सार्वजनिक गरेकी छन् ।
करिश्माले बुधवार फेसबूकमा लेखेकी छन्, ‘यही हो नेपालीले पाएको गणतन्त्र ? यही हो राजनीतिक संस्कार ? देशको विकास कहिले हुने ?’
आजै उनले अर्को स्टाटस पनि राखेकी छन् । ‘संसद् विघटनको लडाइ रे ! धार त प्रस्ट छ, जनतालाई दुःख दिने । धेरै कमेन्ट हेरें, यो कामै छैन । पार्टी सिस्टम काम छैन । दुई विचार काम छ । राजा राख्ने । दुई विचारले नेपाल चलाउने,’ करिश्माले लेखेकी छन् ।
फेसबूकमा स्टाटस लेखेपछि लोकान्तरको सम्पर्कमा आएकी करिश्माले अब देशमा दुई पार्टी सिस्टम चाहिएको तर्क गरिन् ।
लोकान्तरसँग उनले भनिन्, ‘अब देशमा धेरै पार्टी भए । यति धेरै पार्टीको कुनै काम छैन । अब देशमा डेमोक्रेटिक र कम्युनिजम भएका २ पार्टीसहित राजाको आवश्यकता छ ।’
‘कुर्चीका लागि सधैँ झगडा, पदका लागि नागरिकलाई सडकमा उतार्ने, खै १७ हजारले बलिदान दिएको कुरा ? पदमा पुगेपछि नागरिकका समस्यामा कुनै ध्यान नदिने,’ आक्रोश व्यक्त गर्दै उनले भनिन्, ‘डा. जस्तो पढे लेखेको, राजनीति गर्न सक्ने व्यक्तिले अर्को पार्टीको विरोधमा मात्रै सीमित रहन मिल्छ ? सोही कारण स्टाटस राखेकी थिएँ । उहाँसहित नेपालका दल र नेताहरूको काम देखेर दुःख लाग्यो ।’
लोकान्तर संवाददाता