×

NMB BANK
NIC ASIA

संस्मरण

पात्रहरू

माघ २४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel
  • निर्मोही व्यास

जीवन भन्नु एउटा अपूर्व यात्रा र ठूलो मेलाजात्रा रहेछ, जहाँ नानाथरी झाँकीहरू देखिन्छन्, भोगिन्छन् अनि अनेकथरी व्यक्तिपात्रहरू भेटिन्छन्, व्यहोरिन्छन् र केही कालपछि छोडिन्छन् ।

Muktinath Bank

तीमध्ये कुनै हुन्छन् स्मृति–सुखद र कुनै चाहिँ स्मृति–दुःखद । फूलको भन्दा काँडाको सम्झना गाढा हुँदो रहेछ । जतिजति बिर्सूं भन्यो उतिउति झन् ताजा भएर आउने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसो त दुच्छर काँडाको भन्दा सौम्य फूलको सम्झना प्रगाढ हुनुपर्ने हो तर त्यस्तो हुँदो रहेनछ । यस सन्दर्भमा अरूको अनुभव फरक पनि हुन सक्छ, मेरो वैयक्तिक अनुभव चाहिँ यस्तै छ ।


Advertisment
Nabil box
Kumari

संवेदनाशून्य हृदय र विवेकशून्य मस्तिष्क भएकाहरू भौतिक रूपमा त मान्छे होलान् तर भावनात्मक रूपमा भने ती ढुंगा नै हुन् । मानवशरीरधारी ढुंगा । फगत ढुंगा, जसमा मुटु र मस्तिष्क हुँदैन । 

Vianet communication
Laxmi Bank

आफ्नो ६७ वर्षे जीवन यात्रामा मैले त्यस्ता अनेक ढुंगाहरूसित साक्षात्कार र बसउठ गर्नुपर्‍यो, साइनो गाँस्नुपर्‍यो र बाहिरी रूपमा बाध्य भएर नजिकिनु परेपनि भित्री रूपमा चाहिँ तिनको छायाँदेखि पनि हजार कोस टाढा रहने आत्मज्ञान प्राप्त भयो ।

त्यस्ता मानवदेहधारी ढुंगाहरू मेरो व्यावहारिक जीवनक्रममा कुनै एक सन्दर्भमा मात्र नभएर विविध सन्दर्भमा आइलागे । ती अनेक सन्दर्भमध्ये आज एउटै मात्र सन्दर्भमा आफ्नो स्मृतिलाई केन्द्रित तुल्याउँछु । त्यो सन्दर्भ मेरी प्रिय पत्नी ‘कल्पना’को देहावसानसित सम्बन्धित छ र त्यस सन्दर्भसित ५ जना स्मृति–दुःखद पात्र  जोडिएका छन् । म यहाँ कालक्रमअनुसार तिनको चर्चा गर्छु ।

मुटुकी जीर्णरोगी कल्पनाले कल्कलाउँदो ४१ वर्षे उमेरमै संसार छाड्नुपर्‍यो । नेपाल र भारतका नामीनामी अनेकौं अस्पतालमा अनेकौं डाक्टरद्वारा गम्भीर रूपले लगातार १७ वर्षसम्म उपचार गरिँदा पनि केही सीप लागेन । मेरा ३ जना लालाबाला कलिलै उमेरमा मातृवात्सल्यबाट वञ्चित हुन पुगे, मातृशोकमा चुर्लुम्म डुब्न पुगे । त्यस्तै साढे २२ वर्षको उमेरमा बेहुला बनेको म त्यसको ठीक साढे २२ वर्षपछि ४५ वर्षको उमेरमा विधुर बन्न पुगें । बाबाको बरखी सकिएको ६ महिनापछि यो अर्को महावज्रपात भएको थियो मेरो जीवनमा ।

२०५४ असोज २० गते सोमवार नौरथाको पञ्चमी तिथिका दिन बिहान ठीक पौने ६ बजे रक्सौलको डंकन अस्पतालमा कल्पनाको प्राणपखेरु उड्यो । ७ बजे कलैया भवानीपुरको आफ्नो घरमा उनको पार्थिव शरीरलाई लिएर आयौं र १० बजे हरियो बाँसको खटमा सुताएर घरबाट क्रमशः देवकोटाचोक, कलैयाबजार र भरतचोक हुँदै शवयात्रा अघि बढ्यो गढीमाई जाने बाटोमा पर्ने पसाहाखोलाको श्मशानघाटलाई लक्ष्य गरेर । मेरा २ जना छोरा र २ जना सहोदर भाइले काँध दिएका थिए र अन्य २–४ आफन्तले उनीहरूलाई बेला–बेला पालो दिएका थिए ।

मेरा १ जना टोले थिए अत्यन्त दुच्छर, नितान्त स्वार्थी, दुर्दान्त घमन्डी र हेपाहा मिचाहा स्वभावका प्रौढ पुरुष । पौडेल थियो उनको थर । उनी आफूलाई महाचतुर र अरूलाई महाबुद्धु ठान्दथे । कसैलाई अकारण पनि हेप्नु र उपहास गर्नु उनको चरित्र नै थियो । कोसँग कस्तो बेलामा के कस्तो बोली–व्यवहार गर्नुपर्छ भन्ने सामान्य सञ्चेतनासम्म पनि नभएका अडबाङ्गे वज्रस्वाँठ । अहिले तिनै पुरुषले मेरी पत्नीको मलामीका अगुवा बनेर एकोहोरो शंख फुक्तै र अबीर–फूल–लावा छर्दै बाटो लिएका थिए । म गन्जी–लुङ्गी लगाएर खाली खुट्टा उनको पछिपछि र लाशको अघिअघि डाँको छाड्दै कछुवाको गतिले पाइला घिसारिरहेको थिएँ ।

२०३१ सालको माघको तेस्रो हप्ताको कुनै दिन हेराहेर गर्ने दुईतर्फी पारिवारिक योजनाअनुसार हजुरआमासित कलैयाबजार आएकी कल्पनालाई पहिलोचोटि देखेको बेलादेखि २०३२ वैशाख ७ गते आइतवारका दिन विवाह गरेको र भोलिपल्ट बेहुली अन्माएर ल्याएको, जीवनयात्राको सहयात्रीका रूपमा सँगसँगै असंख्य घामपानी झेलेको, तीनथान बचेरालाई जन्माई–हुर्काई पखेटा लगाइदिएको आदि साढे २२ वर्षे सहजीवनावधिका र अहिले उनको शवयात्रामा पाइताला घिसारिराखेकोसम्मका यावत् घटना–प्रसङ्गहरू चलचित्रका दृश्यहरूझैं बनेर झल्झलाइरहेका थिए मेरा आँखामा ।

हामी दम्पतीले कामविशेषले रोजैजसो सँगसँगै ओहोरदोहोर गर्ने गरेका तिनै बाटा र चौबाटाहरू, किनमेल गर्ने गरेको उही बजार र उनै पसलहरू जहाँ हाम्रो संयुक्त उपस्थितिको गन्ध साँचिएर रहेको होला अझै र पाइतालाका असंख्य असंख्य छापहरू छ्याप्छ्याप्ती अंकित रहेका होलान् अझै । तर उप्m ... !

अब त्यो सबै इतिहास भइसकेको थियो ४ घण्टाअघि नै । अहिले त उनी आत्मीय जनको काँधमाथि हरियो बाँसको खटमा निश्चेष्ट रूपले लम्पसार परेर खरानी तुल्याइन घाट लगिँदै थिइन् र म सद्यःविधुर कंकला शब्द गरी रुँदै जाँतो बाँधिएका पाइतालालाई घिसार्दै थिएँ कसैगरी । मेरा आँखामा उर्लिरहेको थियो आँसुको महासमुद्र र मुटुमा मच्चिरहेको थियो कैयौं रेक्टर स्केलको संवेदनाको भुइँचालो । 

यसरी दुर्भाग्यको भयंकर चक्रवातमा परेर निस्सासिँदै र क्वाँ ... क्वाँ ... डाँको छाड्दै लुरुलुरु हिँडिरहेको मलाई बाटो लिइरहेका ती ‘दाजु’ भनाउँदाले अनायासै चर्को स्वरमा हप्काउँदै भने, ‘अब बढी क्याँ ... क्याँ ... गर्ने होइन, खुरुक्क छोराको बिहे गर्देऊ’

सुनेर म अक्क न बक्क भएँ । के भनेको होला यो मान्छेले ! कस्तो २ कौडीको पनि सोमत नभएको ! यस्तो अवस्थामा स्नेह, सहानुभूति र समवेदनाका वाक्यका साटो यति निकृष्ट प्रस्तुति ! त्यसपछि पनि उनी टिमुर्केको बोलीमा बुज्रुक्याइँ छाँटिरहे बाटोभरि । अरू बेला हुँदो हो त मैले जानेको थिएँ तर अहिलेको अवस्थामा म बबुरो के बोल्नु !

यी थिए पात्र नम्बर १ । जो, पछि मेरी श्रीमतीको मासिक श्राद्धका दिन बिहान छोराहरू मुडुलो टाउको लिएर श्राद्धको तरखरमा लागेको बेलामा कालोनीलो अनुहार लगाएर हुरीको वेगमा मेरो आँगनमा आए र आफ्नी पत्नी सिकिस्त भएको खबर सुनाएर कान्छो भाइ र दुवै छोराहरूसँग गुहार मागे ।

उनको पीडालाई आत्मसात् गरेर भाइसँगै छोराहरू पनि मासिक केही ढिलो गर्ने भनी घरमा आइसकेका पुरेतलाई पर्खाएर कुदाकुद गरी रोगीलाई लिएर अस्पताल पुगेका थिए । उनकी श्रीमतीलाई बिसेक भयो र उनी अहिले पनि सकुशल छिन् ।  

कल्पनाको क्रियाकर्मको १३ दिने अवधिभरि हामी बाबु–छोरा–छोरीलाई भेटेर समवेदना प्रकट गर्न आउनेहरूको लर्को लागिरह्यो घरमा । मदनमणि दीक्षितज्यू र प्रा.डा. केशवप्रसाद उपाध्यायज्यूजस्ता स्वनामधन्य पुरुषहरूले पनि १–२ दिनको फरकमा आएर वात्सल्यले ओतप्रोत वचनले हाम्रो आलो घाउमा सान्त्वनाको मल्हम लगाइदिनुभयो ।

म मदनमणिजीको घुँडामा घोप्टो परेर डाँको छोडिरहेको बेला मलाई उहाँले करुणाविगलित स्वरमा भन्नुभएको थियो, ‘व्यासजी, यस्तो अवस्थामा म तपाईंलाई रुनोस् पनि कसरी भनूँ र नरुनोस् पनि कसरी भनूँ !’

अब पात्र नम्बर २ः

दोस्रा पात्र पनि मेरा टोले–छिमेकी नै हुन् र मलामी जानेमध्येकै हुन् । उनको थर घिमिरे हो । स्नातकोत्तीर्ण उनी त्रिवि सेवाका अधिकृतस्तरीय कर्मचारी हुन् । उनीसितको मेरो निकटता ४ दशकभन्दा लामो समयदेखिको हो । उनकी श्रीमती पनि स्नातक र शिक्षक हुन् । उनीहरू दम्पती नै हामी दम्पतीलाई आदरपूर्वक ‘दाजु–भाउजू’ भन्थे र आत्मीयतापूर्ण बोलीवचन गर्थे ।

उनीहरूको दाम्पत्य प्रेम ढुक्कुरका जोडी वा परेवाका जोडी वा चखेवाका जोडीको जस्तो थियो । आ–आफ्ना जागिरमा जाँदाबाहेक अरू बेला सधैं सँगै हुन्थे । कतिसम्म भने कतै टाढा जानुपर्दा मात्र नभएर दैनिक तरकारी–सरकारी किन्न केही मिनेटको दूरीमा पर्ने बजार जाँदा पनि कहिल्यै एक्लै जाँदैनथे । छुट्टिन त उनीहरूले जानेकै थिएनन् ।

परिस्थितिवश कुनै दिन जागिरबाट घर आउन निर्धारित समयभन्दा केही समय मात्र ढिलो भयो भने पनि एकअर्काको विरहमा आकुलव्याकुल भएर सोधखोज गर्न यताउती भौंतारिने गर्दथे । केहीबेर पनि छुट्टिनुपर्दा चखेवा–चखेवी सूर्यास्तदेखि सूर्योदयपूर्वसम्म छट्पटिएजस्तै छट्पटिन्थे उनीहरू । 

त्यसै क्रममा तेस्रो दिन बिहान ८ बजेतिर ‘पात्र नम्बर २’ आए । म जतिबेला पनि रोइरहेकै हुन्थें । उनी आइपुग्दा पनि रोइनै रहेको थिएँ घरको मूलढोकाको बाहिरपट्टि उभिएर । त्यसै बेला च्याँट्ठिएको स्वरमा उनले मलाई भने, ‘स्वास्नीको शोकमा रुन तपाईंलाई लाज लाग्दैन ?’

उनीजस्ता निकट व्यक्तिको मुखबाट निम्नस्तरको लवजमा त्यो अमानवीय संवाद अप्रत्याशित रूपले सुनेर म फेरि अक्क न बक्क भएँ र छिनभरमै आफूलाई सम्हालेर जवाफ फर्काएँ – ‘मित्र ! म तुलसीदास होइन र मेरी श्रीमती केही दिनका लागि माइत गएकी पनि होइनन् । उनी त अब कहिल्यै–कहिल्यै नफर्कने गरेर संसारबाटै बिदा भएकी हुन् अनि मलाई उनको शोकमा विह्वल भएर रुन किन लाज लाग्ने ?’

त्यसपछि उनी केही नबोली अर्कोतिर लागे । 

तेस्रो नम्बरका पात्र वीरगञ्जका हुन् । भट्टराई थरका उनी स्नातकोत्तर गरेका शिक्षण व्यवसायी हुन् । उनी पनि मेरा पुराना परिचित व्यक्ति हुन् । उमेरका हिसाबले उनी मलाई ‘दाजु’ भन्थे । उनी पाँचौं दिन वीरगञ्जतिरकै अरू २ जना मित्रका साथ मलाई भेट्न आए । मेरो रुवाइ थामिँदै थामिँदैनथ्यो ज–जसले जतिसुकै सम्झाए–बुझाए पनि । मेरो पारिवारिक जीवनको जहाज नै डुबेको थियो । मेरो चारैतर्पm अन्धकार छाएको थियो । जीवन–जगत्लाई मैले पनि धेरथोर बुझेकै थिएँ र ‘जातस्य हि ध्रुवो मृत्युः’ जन्मेकाको मृत्यु निश्चित छ भन्ने गीताको महावाणी मैले पनि पढे–जानेकै थिएँ । मृत्युको शाश्वतता मलाई पनि थाहै थियो । अरूलाई उपदेश दिन सजिलो हुन्छ, आफूलाई भोग्न गाह्रो ! 

दारुण पीडाको कटु अनुभव र अनुभूति त भुक्तभोगीलाई नै थाहा हुन्छ । त्यसैले समवेदना प्रकट गर्न आउने आत्मीयजनका सामु मेरो रुवाइ झन् चर्किन्थ्यो भावना र संवेदनाको सागरका उत्ताल छालहरू छताछुल्ल भएर ।

अँ त, वीरगञ्जदेखि भेट्न आएका ती पात्रले सान्त्वनाका रूपमा मलाई कठोर स्वरमा र्‍याखर्‍याखती पार्दैै यस्तो संवाद ओकले – ‘व्यासदाइ, तपाईं अझै रुँदै हुनुहुन्छ ! हेर्नोस् है, भन्दिया छु, अब पनि रुनुभयो भने तपाईंप्रतिको हाम्रो श्रद्धा मर्छ, बुझ्नुभो !’

उनको आशय असल हुँदो हो, त्यो कुरा बेग्लै हो । तर समय देश–काल–परिस्थितिको प्रतिकूल प्रस्तुतिले गर्दा मेरो चित्त कुँडियो र मैले भनें — ‘मित्र ! तपाईंको मप्रतिको श्रद्धा मर्छ भनेर पत्नीको आलो शोकमा उर्लेको मेरो भावनाको उखर्माउलो भेलबाढी बिजुलीको गतिमा रोकिन्छ र ? मध्य बर्खामासमा खोलो सङ्लिन्छ र ? त्यसको लागि त हिउँद नै कुर्नुपर्छ ।’

त्यसपछि उनी बिदा भए र ‘व्याससित भेटघाट र बोलचाल गर्न हुँदैन, रिसाउँछ’ भनी उनी वीरगञ्जका मेरा अरू मित्रजनहरूमा मप्रति नकारात्मक सन्देश प्रवाह गर्न पछि नपरेको कुरा मैले कालान्तरमा थाहा पाएँ । 

‘पात्र नम्बर ४’ चाहिँ कलैया भवानीपुरमा मेरो टोलछिमेकमा डेरा गरेर कर्मकाण्ड पेशा गरी बस्ने एक जना पुरेतबाजे हुन् । उनको थर नेपाल हो । ‘लाटो देशका गाँडो तन्नेरी’ उनी घनघोर अहंवादी, चिप्ले र गफाडी बाहुन हुन् । उनको घर चाहिँ बारा जिल्लाको उत्तरी भेगमा जंगलको मुखैमा रहेको कुनै गाउँमा हो । उनी मेरा पुरेत नभए तापनि तेह्रौंका दिन पूजा, हवन र विभिन्न धार्मिक ग्रन्थको पाठ समेत गर्नुपर्ने भएकाले पुरेतको सहायकका रूपमा चण्डी पाठ गर्नका लागि अतिरिक्त रूपमा निम्त्याइएका थिए । 

उनले चण्डीपाठ आधाआधी पुर्‍याएपछि उनका एक जना गाउँले युवक हस्याङफस्याङ गर्दै मेरो आँगनमा कर्मकाण्ड चलिरहेको ठाउँमा आइपुगे र उनले मलगायत त्यहाँ उपस्थित सबैका सामुन्ने ती बाजेलाई भने – ‘गुरु, आज बिहान झिसमिसेमा गुरुआमालाई गोमन सर्पले टोकेर हतारहतार वीरगञ्जको सरकारी अस्पतालमा पुर्‍याइएको छ । त्यसैले तपाईं तुरुन्तै हिँडिहाल्नुपर्‍यो ।’

अप्रत्याशित रूपमा आफ्ना गाउँलेको त्यो दारुण संवाद सुनेपछि ती बाजेको सातोपुत्लो उड्यो र अनुहार कालोनीलो भयो । त्यसपछि उनले रुन्चे स्वरमा मलाई भने – ‘गुरु, पाठ आधा मात्र पुगेको छ, उता जहानलाई त्यस्तो भएछ । अब म कसो गरूँ ? हजुरबाट के मर्जी हुन्छ ?’

मैले आफूलाई केही सम्हाल्दै उनलाई भने – ‘बाँकी पाठ म अरू कसैबाट गराउँला र तपाईंको दक्षिणा बेलुका डेरामा पुर्‍याउन लगाइदिउँला । मेरी श्रीमतीको त आज तेह्रौं हुँदैछ, तपाईंकी श्रीमतीलाई त बचाउन सकिने सम्भावना छ नि । त्यसैले तपाईं तुरुन्तै गइहाल्नोस् ।’ उनले फेरि पनि दयनीय मुद्रामा ‘जाऊँ त हजुर ?’ भनेर अनुमति मागे । मैले ‘जानोस्’ भनेपछि बोलाउन आउने युवकसितै उनी हानिँदै बाहिरिए ।

भोलिपल्ट थाहा भयो उनकी श्रीमतीलाई उपचारपछि सन्चो भएर घर लगिसकिएछ ।

दशैं बिदामा घटस्थापनाको दिनदेखि तिहार र छठसम्म गरी सवा महिना बन्द भएको मेरो कार्यस्थल वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पस खुल्यो र म उदास अनुहार र भारी मनले हाजिर गर्न गएँ ।

क्याम्पसबाट घर कलैया फर्किने क्रममा दिउँसो १२ बजेतिर वीरगञ्जको भानुचोकमा अवस्थित बस स्ट्यान्डमा आएँ र लागिराखेको बसमा पछाडिको ढोकाबाट पसेर पछिल्तिरकै सीटमा झोक्राएर बसें । अनि बसभित्र सर्सर्ती आँखा डुलाउँदा दाहिनेतिर चालकको सीटको ठीक पछाडिको सीटमा उनै पुरेतबाजे बसेका रहेछन् झ्यालमा दाहिने कुहिना टेकाएर । उनीसँगैको सीट खाली नै रहेछ । त्यसपछि पछाडि एक्लै धुम्धुम्ती झोक्राएर बस्नुभन्दा बरु तिनै बाजेसँगैको रित्तो सीटमा बस्न गए, उनीसितको कुराकानीबाट मन यसो भुलिन्छ भन्ने लागेर म उनको छेउमा गएर बसें । उनले पनि खुशी हुँदै नमस्कारपछि स्वागत गरेर मलाई झ्यालतिर बसाए ।

त्यसपछि लगत्तै उनले मलाई सम्बोधन गर्दै भने – ‘आहा ! गुरु, हजुर त कस्तो भाग्यमानी !’ मैले छक्क पर्दै सोधें, ‘मलाई कुन अर्थमा भाग्यमानी भन्नुभएको तपाईंले ?’ उनले जवाफ दिए – ‘श्रीमती बित्नुभो, मायामोहको बन्धन टुट्यो । अब निश्चिन्त भएर स्वाध्याय र चिन्तन–मननमा लाग्न पाउने हुनुभयो नि त ।’ उनको यस्तो जवाफ सुनेर मलाई भाउन्न भयो र आफूलाई सम्हाल्दै भनें – ‘यो के भनेको तपाईंले ? पत्नी मर्नु, राँडो हुनु पनि कहीँ भाग्यमानी हुनु हो ?’ उनले फेरि थपे, ‘हो नि !’

मैले मेरी श्रीमतीको तेह्रौं दिनको बिहान उनकी श्रीमतीलाई सर्पले डसेको प्रसङ्ग, उनको विदीर्ण अनुहार, रुन्चे स्वर र अत्तालिएको भाव–भङ्गिमालाई झलक्क सम्झें र मनमनै उनलाई भनें – ‘पाखण्डी बाजे, अस्ति तिम्री श्रीमतीलाई गोमन सर्पले टोक्दा किन बचाएको त ? उनलाई मर्न दिएको भए तिमी पनि गजबको भाग्यमानी हुने रहेछौ । तिम्रो पनि मायामोहको बन्धन टुटेर तिमी निर्बाध रूपले स्वाध्याय र चिन्तन–मननमा लाग्न पाउने रहेछौ नि !’ र टल्पलाएका आँखा र कोक्याएका मुटु–कलेजा लिएर जुरुक्क उठी उही पछाडिको चाहिँ सीटमा गएर बसें । 

अब पालो ‘पात्र नम्बर ५’को ।

पौडेल थरका उनी कानून व्यवसायी हुन् । घर गण्डकी अञ्चलको कुनै जिल्लामा थियो उनको । लामो समयसम्म कलैयामा डेरा गरेर बसेका थिए उनी । केही समय मेरै टोल–छिमेकमा पनि डेरा गरेका थिए उनले । उनका भाइबहिनीलाई मैले क्याम्पसमा पढाएको थिएँ ।

अँ त, ती महोदय अत्यन्त कुटिल, चिप्ले र रहस्यमय थिए । उनले सुशील, शिक्षित, जागिरे, सुन्दरी र सन्तानवती आफ्नी पत्नीलाई पहाड ससुरालीमा छाडेर छल गरी अर्की ल्याएका थिए । कलैयामा उनी कान्छीसित बसेका थिए । उनकी प्रथम पत्नी उनलाई खोज्दै भौंतारिँदै पत्ता लगाएर डेरामा आइपुगेकी थिइन् रुँदै । उनले तिनलाई भोलिपल्टै लखेटेका थिए । 

ती पात्र सामुन्ने पर्दा त मसँग आदरपूर्ण र मिजासिलो नै व्यवहार गर्थे तर पछिल्तिर भने कैंची चलाउँथे । म पत्नीशोकमा चुर्लुम्मै डुबेर अर्धमृत अवस्थामा पुगेको बेलामा उनले प्रत्यक्ष रूपमा त मलाई भेटेर त्यस्तो बिझ्ने केही भनेनन् तर पछिल्तिर चाहिँ ‘व्यास पत्नीको शोकमा बहुलायो । एमए पास गरेर क्याम्पसमा पढाइरहेको र साहित्यकार भइखाएको मान्छे पनि कहीँ यस्तो जाबो कुरामा पनि यति बढी विचलित भएर रोइरहन्छ ! अब त उसले एमए पास गरेको कुरामा पनि मलाई शंका पो लाग्यो ।’ जस्ता अनर्गल कुरा फलाक्तै हिँडेर मेरो उछित्तो काढे ।

हो, म आफ्नी पत्नीको शोकमा अत्यन्तै संवेदित भएँ । त्यसैले धक फुकाएर रोएँ महिनौं–महिनौंसम्म । मेरी पत्नी मुटुकी जीर्णरोगी भए पनि म उनीजस्तो पत्नीलाई छल गरेर त्यागी अर्की ल्याउन अघि सरिनँ । उनै जर्जर जिउकी पत्नीलाई नै एकनिष्ठ प्रेम गरिरहें । उनी बाँचुन्जेल र मरेपछि उनको शोकमा विह्वल भएर आँसुको भेलबाढी उरालिरहें । 

मेरो त्यो अविरल रोदन यस संस्मरणमा बयान गरिएका ५ वटै पात्रहरूका नजरमा विशुद्ध मूर्खता, बहुलट्टीपन र लाजमर्दो कुरा ठहरियो । 

मेरो नियतिले त मलाई नराम्रोसँग छल्यो, ती ५ वटै पात्रको नियतिले तिनीहरूलाई नछलोस् र दैवले ती पाँचै जनाका पत्नीहरूलाई अजम्मरी तुल्याइदेओस् । तिनीहरूले कहिल्यै पत्नीशोक खप्न र विरहवेदनाले आकुलव्याकुल भएर एकै थोपा पनि आँसु झार्न नपरोस् । तिनीहरूलाई मेरो हृदयदेखिको असिम शुभकामना !!!

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

मंसिर ४, २०८०

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...

कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x