×

हाम्रा विरोधी यत्तिकै आत्तिएका होइनन्, पर्सि सिंहदरबारबाट बताउँछु : केपी ओली

फागुन १, २०७७

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विरोधीहरू यत्तिकै आत्तिएका नभएकाले यसबारे पर्सि ११ बजे सिंहदरबारबाट बताउने जानकारी दिएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको लुम्बिनी प्रदेश कमिटीले बुटवलमा आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले गरेका विकासका काम देखेर विरोधी आत्तिएका बताए ।


Advertisment

‘पर्सि ११ बजे सिंहदरबारबाट ३ वर्षका कामको समीक्षा गर्दैछौं । पर्सी फागुन ३ गते मैले प्रधानमन्त्रीको पद ग्रहण गरेको तेस्रो वर्ष पूरा हुँदैछ,’ उनले भने, ‘पर्सि प्रेस कन्फ्रिन्स गर्दैछु । सबै भन्न त भ्याइँदैन, केही मोटामोटी रूपमा महत्त्वपूर्ण कुरा यसभित्र सामेल गर्नेछु, पर्सि बोल्नेछु ।’


Advertisment

सरकारले धेरै विकास गरेका कारण विरोधीहरू आत्तिएका उनले बताए । ‘अरु डेढ–दुई वर्ष सरकार चल्यो भने चुनावमा जाँदा अरुका बाकस रित्तै हुन्छन्, खाली नेकपा बाकस मात्रै भरिन्छ भन्ने डर छ । देशी, विदेशी, प्रतिक्रियावादी शक्ति यसरी आए कामसँग डराएर ।’

सरकारले देशभर नै विकासको लहर ल्याएका प्रधानमन्त्री ओलीले बताए । ‘राष्ट्रिय स्तरमै यतिधेरै बाटा बनेका छन्, कालोपत्रे, चौडा सडक यतिधेरै बनेका छन् । यस देशमा पहिला १० किलोमिटर वर्षको हिसाबले बाटो बन्ने गर्थ्यो । अहिले प्रत्येक दिन ७ किलोमिटर बाटो कालोपत्रे भइरहेको छ । अहिलेसम्म ५–६ हजार किलोमिटर कालोपत्रे गरिसकेका छौं, सिंगल लेन होइन, डबल लेन,’ उनले भने ।,

देश सुरुङ युगमा प्रवेश गरेको बताउँदै ओलीले काठमाडौ‌ं–नौबिसे सुरुङ बनिरहेको र सिद्धबाबा सुरुङ निर्माण छिट्टै अगाडि बढ्ने बताए । ‘सिद्धबाबा सुरुङका लागि गत वर्ष नै बजेट छुट्याएका छौं, योजनामा छ, अब काम हुन्छ,’ उनले भने, ‘हाम्रो उद्देश्य विकास हुनुपर्छ, भ्रष्टाचारी, अनैतिक र अपराधीलाई कारवाही हुनुपर्छ भन्ने पक्षमा छौं, त्यसका लागि काम गरिरहेका छौं ।’

देशभित्र प्रधानमन्त्री रोजगार कार्यक्रम, युवा स्वरोजगार कार्यक्रम लगायत अनेक कार्यक्रमले रोजगारी बढाएको उनले बताए । ‘ज्येष्ठ नागरिक भत्ता महिनाको १ सयबाट शुरू गरेको अहिले दिनको १ सय दिइन्छ, यसको क्षेत्र विस्तार गरिएको छ,’ उनले भने, ‘ज्येष्ठ नागरिकलाई १ लाखसम्म निःशुल्क स्वास्थ्य बिमा प्रबन्ध गरेका छौं ।’

प्रतिनिधिसभा चल्नै नसक्ने अवस्था भएकाले विघटन गरिएको उनले बताए । ‘प्रतिनिधिसभा किन चल्न सकेन ? तपाईंले देख्नुभएको छ । ३ वर्षअघि नेकपा एमाले र माओवादीलाई मिलाएर सशक्त पार्टी निर्माणको अगुवाइ गरेको थिएँ,’ उनले भने, ‘केही मानिसले देश बनाउने होइन, आफू बन्ने उद्देश्य छाडेनन्, गुटबन्दी बलियो बनाउने उद्देश्य छोडेनन् । त्यस्ता गलत अभ्यासबाट अगाडि बढ्दै गएर पार्टी छोड्ने स्थितिमा पुगे । पार्टी छोडेर हिँडेका छन् ।’

समृद्धिको सपनालाई अस्वीकार गर्ने तत्वहरू पार्टी छाडेर बाहिरिएका ओलीले बताए । ‘पार्टी फुटेको पनि छैन, जस्ताको त्यस्तै पनि छैन, केही मान्छे बाहिरिएका छन् । समृद्धिको सपनालाई अस्वीकार गर्ने तत्वहरू पार्टी छाडेर बाहिरिएका छन्, आत्तिएका छन्, संकीर्ण डम्फु बजाइरहेका छन् । संसद विघटन भनेको, चुनाव हुने भनेको प्रतिगमन हो रे ! त्यसो भए जनताका बीचमा जानै हुँदैन, चुनाव हुनै हुँदैन भने तपाईंहरूले कस्तो व्यवस्था खोजेको हो ?’ उनले भने ।

समृद्धि, सुशासन र जनतालाई सुख कसरी दिन सकिन्छ भनेर अगाडि बढिरहेको सरकार ढाल्न विरोधीहरू लगातार लागेका उनले बताए । ‘गत वर्षको वैशाखदेखि नै त्यो प्रकट भयो । प्रधानमन्त्रीले राजीनामा गर्नुपर्छ भनेर एकैचोटी आवाज आयो । मैले सोधे – प्रधानमन्त्री राजीनामा गर्न तयार छ तर किन ? जवाफ आयो – मलाई चाहियो । किन चाहियो ? मलाई प्रधानमन्त्री हुन मन छ । अर्काे आवाज उठ्यो – अध्यक्षबाट राजीनामा दिनुपर्‍यो । किन ? मलाई अध्यक्ष हुन मन छ । मैले महाधिवेशनमा जानुस् भने । उधार हुँदैन, हातहातै चाहियो, नगद चाहियो भनियो । जतिबेला मैले देशको भूभाग समेटेर नक्सा प्रकाशित गरे, त्यतिबेला यी आवाज आए । नक्सा छापेका कुरा अनुमोदन गरेपछि उहाँहरू आत्तिनुभयो ।’

प्रतिनिधिसभा विघटन संविधानसम्मत नै रहेको प्रधानमन्त्री ओलीले बताए । ‘संविधान विपरीत विघटन गर्‍यो प्रतिनिधिसभा भन्ने कुरा गर्दैछन्, मैले धेरै ठाउँमा भन्ने गरेको छु, संविधानसम्मत विघटन भएको छ,’ उनले भने, ‘म ६४ प्रतिशतको प्रतिनिधित्व गरेकोले विघटन गरेपछि अर्काे कुनै विकल्प छैन । फेरि किनबेच, मोलतोल, अनुचित प्रकारका समीकरण बन्ने भएपछि मैले संसद विघटन गरेको हो । काम गर्न नदिने, अस्थिरतातिर लैजाने भयो ।’

संविधानको धारा ७६ उपधारा (१) अनुसारको प्रधानमन्त्रीले उपधारा ७ अनुसार र धारा ८५ अनुसार विघटन गरेको प्रधानमन्त्री ओलीले बताए । ‘संसद विघटन नभएको भए बाँकी डेढ वर्षमा लोकतन्त्रको हुर्मत लिने काम हुन्थ्यो । तसर्थ सोझै जनतामा जानुपर्छ,’ उनले भने, ‘कसैलाई लोकप्रिय छौं भन्ने लागेको छ भने जनमतमा आउनुस् । मान्छे हेर्ने मात्रै किन ? गनौंला नि बाकसबाट मतपत्र निकालेर । कसले कति प्रत्यक्षमा ल्याउँछ ? ५० लाख हामी समानुपातिक मत ल्याउँछौं, घटाएर देखाउनुस् । प्रत्यक्षतर्फ बहुमत सिट ल्याउँछौं, त्यो घटाएर देखाए भयो । किन आत्तिएको चुनावबाट ?’

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवालाई उचालेर सत्तामा जाने भर्‍याङ बनाएको प्रधानमन्त्री ओलीले बताए । ‘हिजो युवाहरूलाई उहाँहरूले उचाल्नुभयो, जनवाद आउँछ, क्रान्ति आउँछ, सुखका दिन आउँछ । जीवन केही होइन, मर्न तयार हुनुस्, टाउकोमा कफन बाँधेर हिँड्नुस् भनेर सिकाउनुभयो । आफू सत्तामा पुग्ने भर्‍याङ बनाउनुभयो । हिजोका लडाकुको अवस्था के छ ? बाँचेकाहरू, शहादत प्राप्त व्यक्तिका परिवार कस्तो अवस्थामा छन् ? सबै पीडितको हालत के छ ? उनीहरूको समस्या हेर्नुपर्छ कि पर्दैन ?’ उनले भने, ‘हिजो प्रचण्डले उचालेर, झूटा सपना बाँडेर कतिलाई मराए, कतिलाई अंगभंग बनाए, कतिलाई विधवा बनाए, कतिलाई टुहुरा बनाए, ती सबैको व्यवस्था अहिलेको सरकारले गर्छ । सम्मानपूर्ण ढंगले परिचयपत्र वितरण गर्छाैं । घाइतेलाई उपचार गर्छाैं । परिवारका सदस्यलाई रोजगारीमा प्राथमिकता दिन्छौं ।’

प्रधानमन्त्री ओलीले निर्मला पन्त र भागरथी भट्टका बलात्कारी हत्यारालाई अदालतको कठघरामा उभ्याइने बताए । ‘यस्ता हत्याकाण्डका अपराधीलाई पानीमुनि गए पनि छोडिने छैन, विश्वका कुनै भागमा गए पनि छाडिने छैन । खोजेर ल्याइने छ,’ उनले भने, ‘एक वर्ष उम्केला, एक वर्ष डरले थर्कमानको जिन्दगी बिताएर लुके पनि सजाय घट्ने छैन, पूराको पूरा सजाय गराइने छ । केही समयभित्रै भागरथीका हत्याराहरू र निर्मला हत्याकाण्डका अपराधीलाई अदालतका कठघरामा उभ्याएर सजाय दिनेछौं ।’

कार्यक्रममा बोल्दै नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले नेकपा फुटेको नभई केही स्वार्थी षड्यन्त्रकारीहरू चोइटिएका बताए । उनले ओली समूह नै आधिकारिक नेकपा भएको दाबी गरे ।

‘कतिपय मानिसहरूलाई नेकपा फुट्यो भन्ने लागेको छ । तर धनगढीदेखि शुरू भएको जनसभा बुटवलमा हुँदैछ, विराटनगर, सुर्खेत, पोखरामा हुनेछ, यी जनसभाले के पुष्टि गर्दैछ भने नेकपा फुटेको होइन, फुट्ने छैन,’ उनले भने, ‘केही स्वार्थी, षड्यन्त्रकारी, विभाजनकारी तत्वहरू चोइटिएका हुन्, नेपाल कम्युनिस्ट पार्टी फुटेको छैन, नेपाली जनताले फुट्न दिँदैनन् । कमरेड केपी शर्मा ओली नेतृत्वको नेकपामा जनमत रहेको छ ।’

प्रधानमन्त्री ओलीको नेतृत्वमा नै संविधान बनेको उनले स्मरण गरे । ‘हामीले निर्माण गरेको संविधान हरेक दृष्टिले लोकतान्त्रिक छ । यो संविधान निर्माणको काम र अगुवाइ कमरेड केपी ओलीले गर्नुभएको थियो । पहिलो संविधान सभामा सबैभन्दा ठूलो दल भएर पनि प्रचण्डजीले संविधान निर्माणको अगुवाइ गर्न सक्नुभएन । अकालमै संविधानसभा अवसान भयो,’ उनले भने, ‘दोस्रोपटक निर्वाचन गरेर संविधान निर्माणको अगुवाइ केपी ओलीले गर्नुभएको थियो । संविधान बनेलगत्तै भूकम्पले थिलोथिलो भएको देशमा नाकाबन्दीको सामना गर्नुपर्‍यो । अनि कमरेड केपी ओली प्रधानमन्त्री भएर राष्ट्र, सर्वभौमसत्ताको रक्षा गर्दै देशको नेतृत्व गर्नुभयो ।’

प्रतिपक्षी दलले समेत विरोध गर्न नसकिरहेका बेला पार्टीभित्रैबाट विरोध गरेर सरकारको काममा अवरोध गर्न खोजिएको मन्त्री पौडेलले बताए । ‘नेपाली जनताले साथ दिइरहेको छ, प्रतिपक्षले विरोध गर्न सकिरहेको छैन । तर पार्टीभित्रका साथीभाइहरू एकपछि अर्काे बहानाबाजी गर्नुहुन्छ, षड्यन्त्र गर्नुहुन्छ, सरकारलाई कसरी हटाउने ? केपी ओलीलाई प्रधानमन्त्रीबाट कसरी हटाउने ? उहाँको एजेन्डा एउटै छ, ध्याउन्न त्यति मात्रै छ,’ उनले भने ।

पार्टी र मुलुकको सत्ता कब्जा गर्ने महत्त्वाकांक्षाले गर्दा केही व्यक्तिहरू चोइटिएर जाने स्थिति आएको मन्त्री पौडेलले बताए । ‘नेकपालाई विभाजित गर्न नेपाली जनताले साथ दिने छैनन्, कार्यकर्ताले साथ दिने छैनन्,’ उनले भने, ‘हामीले पार्टी एकता जोगाएर अगाडि बढ्न चाहेका हौं, सरकारलाई जनता र राष्ट्रका पक्षमा काम गरेर परिणाम अगाडि बढाउन चाहेका हौं ।’

सडकमा आन्दोलन गरिरहेका नेताहरूमध्ये केहीलाई अलमल देखिएको मन्त्री पौडेलले बताए । ‘केही मानिसहरू अहिले सडकमा गएका छन्, केहीलाई अलमल छ, अन्योल छ, उहाँहरू के हुने होला, कसो हुने होला भन्दै हुनुहुन्छ । केही मुठ्ठीभर मानिसहरू, जसले एकता देख्न चाहेका छैनन्, विकास र समृद्धि देख्न चाहेका छैनन्, जसले लोकतन्त्र सबल भएको देख्न चाहेका छैनन्, त्यस्ता केही तत्व र प्रवृत्तिहरू सडकमा लाग्लान् । जो–जो अन्योलमा हुनुहुन्छ, उहाँहरू फर्केर यही आउनुहुन्छ । अलमलमा नपर्नुस्, आउनुहोस् । कमरेड केपी शर्मा ओली नेतृत्वको यही पार्टीले समृद्धिको अभियान अगाडि बढाउँछ,’ उनले भने ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ऐतिहासिक महत्त्वका कीर्तिमानी काम गरेको मन्त्री पौडेलले बताए । ‘पार्टीकै साथीहरूको षड्यन्त्र, अवरोध र व्यवधानका बाबजुद पनि काम गर्दै सरकार अगाडि बढेको छ,’ उनले भने, ‘कमरेड केपी शर्मा ओलीको नेतृत्वमा समाजवाद स्थापना गरेरै छाड्ने छौं ।’

आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको निर्वाचन भएरै छाड्ने उनले बताए । ‘कतिपय मानिसले भ्रम छर्ने कोसिस गरेका छन्, पार्टीको आधिकारिकता र चुनाव चिह्नको सन्दर्भमा । यति ठूलो जनमत केपी शर्मा ओलीको नेतृत्वमा छ भने योभन्दा ठूलो वैधानिकता के हुन्छ ? जनताको ऐक्यवद्धताभन्दा ठूलो वैधानिकता केही हुन्छ ?’ उनले भने, ‘केही मान्छेहरू चुनाव हुँदैन भनेर भ्रम छरिरहेका छन्, चुनाव नभएर के हुन्छ ? चुनावलाई संसारको कुनै पनि शक्तिले रोक्न सक्दैन । वैशाखको चुनावलाई कुनै पनि तागतले रोक्ने छैन । वैशाख १७ र २७ गतेको चुनावको तयारीमा लाग्नुस् ।’

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हिर्काउन खोज्दा प्रचण्डले सडकमा पछारिनुपरेको बताए । उनले बुटवलको सभाले राष्ट्रलाई एकताको सन्देश दिएको बताए ।

‘जनता प्रधानमन्त्रीको पक्षमा रहेको देखिएको छ । हामी प्रधानमन्त्रीलाई भरोसा दिन चाहन्छौं, होस्टेमा हैंसे गर्न चाहन्छौं,’ उनले भने, ‘केही नेताहरूले बाटो बिराएका छन्, बाटो बिराएका नेताहरू फर्किआउनुहोस्, बाटो बिराउनुभयो भने राजनीतिक भविष्य सुरक्षित हुने छैन भन्ने सन्देश यो सभाले दिएको छ ।’

आगामी वैशाखमा चुनाव हुने र केपी शर्मा ओली नेतृत्वको पार्टीले पहिलेभन्दा राम्रो परिणाम ल्याउने दाबी समेत पोखरेलले गरे ।

‘रोल्पा–रुकुमलाई जनयुद्धको थलो भनिन्छ, प्रचण्डले जे चाह्यो त्यही हुने मानिन्छ तर अब रोल्पा–रुकुममा केपी ओलीको नेतृत्वमा विजयको झण्डा पहराउँछौं,’ उनले भने, ‘उहाँहरू जनताबाट डराएर चुनावबाट भाग्न खोज्दै हुनुहुन्छ, उहाँहरू प्रथम अध्यक्षलाई आरोपित गर्दै हुनुहुन्छ ।’

एमाले विभाजनबाट लाभ लिन खोज्ने प्रचण्डलाई हिजोको जनयुद्धका कमाण्डरले नै छाडिरहेको उनले बताए । ‘अब परिवर्तन, विकास र समृद्धिको यात्रा कमरेड केपी ओलीको नेतृत्वमा अगाडि बढ्नेछ,’ उनले भने ।

कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले जनयुद्धका उपलब्धी र जनमुक्ति सेनाको रक्षा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा हुने बताए । उनले प्रचण्डको नेतृत्वमा रहेका नेताहरू सडकछाप भइसकेका बताए ।

‘अब जनमुक्ति सेनाको रक्षा केपी शर्मा ओलीले गर्नुहुन्छ, जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा हुन्छ,’ उनले भने ।

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

x