प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि सम्पूर्ण रूपमा प्रहार भइरहेको बताएका छन् ।
गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सोमवार पोखरामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो ज्यान नै तलमाथि भएपनि अनौठो नमान्न आग्रह गरे ।
'सम्पूर्णरूपमा ममाथि प्रहार अत्यन्तै तीव्र गतिले केन्द्रित छ। ममाथि कुनै शारीरिक हमला नै भयो, मेरो ज्यान नै तल-माथि भयो भने पनि अनौठो नमान्नुहोला,' प्रधानमन्त्री ओलीले भने, 'तर त्यसो हुन दिइने छैन । हामी शतर्कता अपनाउनेछौं ।'
उनले आफू नरहे पनि पार्टीलाई तलमाथि हुन दिन नहुने बताए ।
उनले पार्टी एकता भनेर चलाइएको हल्लामा नअल्मलिन कार्यकर्तालाई आग्रह गरे ।
'तपाईं छाड्दिनुस्, जिम्मेवारी छाड्दिनुस् एकता हुन्छ, त्यसो भएदेखि हामीले देशलाई भँडखालामा लगेर हाल्न पाउँछौं भन्ने उनीहरूको कुरा छ,' प्रधानमन्त्री ओलीले भने, 'त्यस कुरामा अल्मलिनु हुँदैन साथीहरू ।'
उनले अर्को पक्षले आफूहरूसँग केन्द्रीय कमिटीमा बहुमत रहेको दाबी गरे पनि त्यो बहुमत आफूले नै दिएको दाबी गरे ।
लोकान्तर संवाददाता