२२ असार २०८३, सोमबार

नेपाल र ओली समुहबीचको वार्ता निष्कर्षविहिन

नेपाल र ओली समुहबीचको वार्ता निष्कर्षविहिन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच भएको वार्ता निष्कर्ष विहिन भएको छ ।

पार्टी कार्यालय धुमबाराहीमा सोमबार भएको वार्तामा दुवै पक्षले पार्टीलाई एकतावद्ध गर्दे अघि बढाउने प्रतिवद्धता जनाएपनि आ आफ्ना अडानमा रहेपछि ठोस सहमति हुन नसकेको हो ।

फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि एकिककरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपा पुर्ववत् रुपमा नेकपा एमाले  र नेकपा माओवादी केन्द्रको अवस्थामा पुगेको भन्दै त्यसपछिका निर्णयहरुको प्रभाव शुन्य हुनुपर्ने अडान नेता नेपाल पक्षले राखेको थियो ।

सो प्रस्ताव अनुसार अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चको फैसलापपछि फागुन २८ गते गरेको निर्णय फिर्ता वा खारेज गरेको जानकारी गराउनुपर्ने थियो । तर २८ गतेको निर्णय खारेज गर्ने पक्षमा ओली नरहेपछि वार्ता सकारात्मक दिशामा अघि बढ्न नसकेको प्रतिक्रिया नेता नेपाल पक्षका नेताहरुले दिएका छन् ।

वरिष्ठ नेता माधवकुमार नेपालले पुरानै अवस्थामा फर्किऔ भनेर गरेको प्रस्ताव अध्यक्षले स्वीकार नगर्दा बैठकको अन्त्य टर्रो रुपमा भएको प्रतिक्रिया दिए ।

उनले भने, 'सुरुवातमा राम्रो कुरा भयो । छुट्टिने बेलामा टर्रो कुरा भयो । यथास्थानमा रहने स्थिति बन्यो । सर्वोच्च अदालतले फैसला गरिसकेको अवस्थामा पुर्व एमालेको जुन पुरानो अवस्था हो यो अवस्थामा पार्टीको संरचना, पादधिकारी र सदस्य यथावत स्वीकार गर्ने स्थितिमा जाउँ भनी हामीले भन्यौ ।'

उनले पार्टीलाई एकतावद्ध बनाउँ, आन्दोलनलाई पनि, अरु पार्टीलाई पनि समेटेर लैजाने काम गरौ भन्ने आफ्नो प्रस्ताव रहेको बताए ।

'अरु कुरा भन्दा पनि २८ गतेको उहाँको आफ्नो सानो गुटको भेला हो त्यसलाई उहाँले केन्द्रीय कमिटीको बैठकको नाम दिनुभएको छ । त्यसैमा कुरा मिलेन,' नेपालले थपे ।

नेता नेपाल पक्षका उपाध्यक्ष भीम रावलले पार्टी एकतावद्ध गरेर जाने विषयमा सबैको एकमत भएपनि सर्वोच्च अदालतको फैसला पछिका क्रियाकलावहरुको प्रभाव शुन्य बनाएर अघि बढ्ने विषयमा सहमति जुट्न नसकेको जानकारी दिए ।

उनले भने, 'नेपाल कम्युनिष्ट पार्टी एमालेलाई कसरी एकतावद्ध गरेर लैजाने भन्ने विषयमा छलफल गर्यौं । सर्वोच्च अदालतको फैसलापछि तात्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र जसरी नेपाल कम्युनिष्ट पार्टी नेकपा भनेर एउटै पार्टी बनेको थियो । अब त्यो स्थिति नरहेर हामी अलगअलग नेकपा एमाले र नेकपा माओवादी केन्द्र भ रहने स्थिति उत्पन्न भएपछि स्वभाविक रुपमा हामी ३ बर्ष अगाडि जुन स्थितिमा थियौ त्यही स्थितिबाट हाम्रा सबै गतिविधिहरु,कामकारवाहीहरु अगाडि बढ्नुपर्छ भन्ने कुरा स्पष्ट छ ।'

उनले आजको छलफलमा ओली र अन्य स्थायी समिति सदस्यले आआफ्नो धारणा राखेको बताए । 'हामी जहिले पनि वामपन्थी एकताको पक्षमा थियौ । आज पनि छौ । र नेकपालाई पार्टीलाई एकतावद्ध बनाएर अगाडि लैजानुपर्छ भन्ने हाम्रो धारणा रहेको छ भनेर हामीले स्पष्ट भन्यौ,' उनले भने ।

सर्वोच्च अदालतको फैसला मान्ने हो भने फैसलापछिका सम्पुर्ण क्रियाकलाप को प्रभाव शुन्य हुनुपर्ने र त्यो गर्न आफुहरु तयार रहेपनि अध्यक्ष एवं प्रधानमन्त्री ओली तयार नभएको नेता रावलले बताए । विशेष गरी अध्यक्ष ओली २८ गतेको निर्णयबाट पछि हट्न नखोजेको उनले बताए ।

उनले भने, 'सर्वोच्च अदालतको २३ गते को फैसला पछिका क्रियाकलापको प्रभाव शुन्य हुन्छ । पार्टी अध्यक्षबाट यसबीचमा जुन कामहरु भयो, २८ गतेको केन्द्रीय कमिटि भनिएको छ, त्यसका निर्णयहरु भनिएको छ । हामीलाई खबर नगरिएको, त्यहाँ गरिएको भनिएका निर्णय को प्रभाव पनि शुन्य हुन्छ भन्ने तथ्यगत कुराहरु राख्यौ तर त्यो कुरालाई तदनुकुल स्वीकारर्ने कुरा हामीले सुन्न पाएनौं ।'

त्यसैमा सहमति हुन नसकेको रावलको टिप्पणी थियो ।

'किनभने सर्वोच्च अदालत फैसलापछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र पुर्ववत अवस्थामा गयो भनिसकेपछि त संगठनात्मक र राजनीतिक, बैचारिक र व्यवहारिक दृष्टिकोणबाट हामी पुर्ववत अवस्थामा गयौं नि त,' रावलले भने, 'पुर्ववत अवस्थामा गयौ भनिसकेपछि त्यो अवस्थालाई स्वीकार गरेनौ भने हामीले मान्ने अवस्था आउँदैन ।'

उनले आफुहरु नेकपाको विधान पद्धति अनुसार भएका कामकारवाहीमा साझा रुपमा मानेर अघि बढ्न तयार भएपनि अध्यक्षले आफुले गरेका कामलाई चाहिँ गरिहाल्ने अनि अरु कुरा मानिदिनुपर्ने भन्ने भाव देखाएकाले त्यस्तो कुरा आफुहरुलाई स्वीकार्य नहुने बताए ।

नेता घनश्याम भुसाल पार्टीको पुर्ववत अवस्थामा फर्कीऔं भन्ने प्रस्तावमा कुरा नमिलेपछि बैठक कुनै निष्कर्षमा पुग्न नसकेको बताए । उनले अपेक्षाकृत बैठक नभएको र एजेण्डाका दृष्टिकोणबाट सार्थक नभएको बताए ।

अध्यक्ष ओली पक्षका नेता सुवास नेम्वाङले पार्टी एकतावद्ध गरेर जाने भन्नेमा सबैको एकमत भएपनि पछिल्ला राजनीतिक विषयमा नेताहरुबीच मतान्तर रहेको बताए ।

त्यसैगरी महासचिव ईश्वर पोख्रेलले एमालेलाई एकतावद्ध गरेर लैजाने विषयमा छलफल भएको बताए । २८ गतेको निर्णयका सम्बन्धमा संचारकर्मीहरुले राखेको जिज्ञासामा उहाँले अर्याल होटलमा भएका कुरा, ४ र ७ गतेका कार्यक्रमको पनि कुरा आउँछ नि भन्दै नेता नेपाल पक्षले गरेको क्रियाकलापको कुरा उठाएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्