०२ असार २०८३, मंगलबार
फ्ल्यास ब्याक : लकडाउनपछिका एक वर्ष

शहरबाट घर फर्किने ‘क्याराभान’ पच्छ्याउँदै राजमार्ग चहार्दा

चैत ११, २०७७
शहरबाट घर फर्किने ‘क्याराभान’ पच्छ्याउँदै राजमार्ग चहार्दा

कोरोना संक्रमण फैलिन नदिन सरकारले बन्दाबन्दी (लकडाउन) शुरू गरेको एक वर्ष पूरा भएको छ । सरकारले हवाइ उडान र अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरी २०७६ चैत्र ११ गतेदेखि देशव्यापी लकडाउन शुरू गरेको थियो । 

सरकारले बन्दाबन्दी (लकडाउन) गर्नुभन्दा २ दिनअघिदेखि नै हामी लोकान्तरकर्मी साथीहरू सबैले घरबाटै काम गर्ने निर्णय भइसकेको थियो । अनलाइन सञ्चारमाध्यमको एउटा विशेषता जहाँबाट पनि काम गर्न सकिने भएकाले घरबाट काम गर्न सकिने सहजता थियो । 

सरकारले लकडाउन गरेको शुरूआतका केही दिन घरबाटै समाचार बनाउने र अपडेट गर्ने काम भयो । काम त जसोतसो चलिरहेको थियो, तर मनमा त्रास ज्यादा थियो । नेपालमा कोरोना संक्रमितको संख्या त फाट्टफुट्ट मात्र देखिएको थियो । मानिसहरू आतंकित बढी थिए ।  

शुरूमा एक साताका लागि गरिएको लकडाउन दोस्रो, तेस्रो हप्तामा प्रवेश गर्दै गयो । बन्दाबन्दी तेस्रो हप्तामा प्रवेश गर्दैगर्दा काठमाडौंमा कोठाभित्र निसास्सिएका मजदूरहरू घरबाट बाहिर निस्कन थाले । 

दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्नेहरू सर्वाधिक मारमा थिए । खाद्यान्न र पैसा सकिएपछि श्रमजीवी वर्ग पैदलै घर फर्किन थाले । 

काँधमा लालाबाला बोकेर मानिसहरू पूर्वतर्फ हिँड्दै छन् भनेर भक्तपुर बस्ने एकजना साथीले जानकारी गराएका थिए ।

चैत्र–वैशाखको गर्मीमा सयौं किलोमिटर पैदलै हिँडेर मानिसहरू पैदलै हिँडेको कुरा धेरै रुचिकर थियो । जसरी २०७२ सालमा महाभूकम्पपछि मानिसहरू ज्यान जोगाउन उपत्यका छाडेर थातथलो फर्किएका थिए, त्यसैगरी कोरोनाको समयमा मानिसहरू गाउँ फर्किदै थिए । यो संख्या, दर्जन, सयमा होइन हजारौंमा थियो । पैदलै घर फर्किने यात्रुको दुःखबारे रिपोर्टिङ गर्न फिल्डमै जाने कुरा भयो । 

माओवादीको सशस्त्र संघर्षको समयदेखि नै अलिकति जोखिम मोलेर रिपोर्टिङ गर्ने बानी परेका र जोखिम नमोली नयाँ कुरा आउँदैन भन्ने मान्यता राख्ने लोकान्तर सम्पादक विमल गौतम र म फिल्ड रिपोर्टिङमा जाने निर्णयमा पुग्यौं । कोरोना संक्रमणको जोखिम मोलेर हामी फिल्ड रिपोर्टिङमा हिँड्यौं । 

गाउँमा पुगेपछि भोकै मरिन्न भन्ने सोच बनाएर गाउँ पुग्न हतारिएका गरीब, सर्वसाधारण र दीनदुःखीको समाचार बनाउन हामी बीपी राजमार्ग हुँदै खुर्कोट, पृथ्वी राजमार्ग हुँदै मुग्लिन र दक्षिणकालीको बाटो हुँदै कुलेखानीसम्म पुग्यौं ।  काठमाडौंको नागढुंगा र काभ्रेको साँगा त कयौंपटक गयौं । 

गाडीमा पानीका बोत्तल, बिस्कुट र केही फलफूल बोकेर राजमार्गको  यात्रा, उद्देश्य एउटै हुन्थ्यो– पैदल यात्रुले व्यहोर्नुपरेका समस्याबारे रिपोर्टिङ । बाध्यता भएपनि पैदलै बाँके, बर्दिया र सुर्खेतसम्म पुग्ने भन्दै सडकमा भेटिएका मानिसहरू साहसी लाग्थ्यो । 

बीपी राजमार्ग हुँदै पूर्व जाँदै गरेका सर्वसाधारणको पहिलो स्टोरी लेखियो– चैत्र २७ गते । ​

लालाबाला काँधमा बोकी काठमाडौंबाट पैदल हिँडेर सप्तरी र सिराहा !

लकडाउनको समयमा पैदलै घर फर्किने मजदूरहरूको स्टोरी गर्दा नेपालको श्रम बजार र यसको सामाजिक परिवेशबारे पनि केही कुरा थाहा भयो ।

काठमाडौंबाट पश्चिमतर्फ जाने अधिकांश बर्दियाका थिए भने पूर्व जानेहरू सप्तरीका थारू । श्रम र रोजगारीका लागि नेपालका श्रमिकहरू कसरी छरिएका छन् भन्ने यो अध्ययनको विषय हुनसक्ला ।

सिन्धुपाल्चोकका गाउँमा विद्यालय भवन र घर बनाउन सुर्खेत र जाजरकोटका कामदार आएका । म्याग्दीमा भवन निर्माणका लागि रामेछापका कामदार पुगेको पाइयो ।  

त्यो चप्पलको स्टोरी 

कोरोना संकटका बीच धुलिखेल चोकमा राखिएका पुराना जुत्ताको कथा

लकडाउनको समयमा स्थानीय सरकारले कसरी काम गरिरहेका छन् भनेर रिपोर्टिङका लागि काभ्रेको पाँचखाल पुगिएको थियो । पाँचखाल नगरपालिकाले सर्वसाधारणका लागि अत्यावश्यक औषधि काठमाडौंबाट किनेर घरघरमै पुर्‍याउने व्यवस्था गरेको थियो । राहत वितरणमा पनि पाँचखालले अन्य पालिकालाई पाठ हुने खालको काम गरेको थियो । 

पाँचखालबाट फर्किँदै गर्दा धुलिखेल चोकमा देखिएको एउटा दृष्यले हाम्रो ध्यान खिच्यो । सडकको किनारामा केही पुराना जुत्ता र चप्पल पुछ्दै मिलाएर राखिएको थियो । ती चप्पल पक्कै पनि पैदल यात्रुका लागि राखिएका हुन् भन्ने कुरा बुझ्न कठीन थिएन । केही अगाडि बढिसकेको गाडीलाई ब्याक गर्न लगाएर धुलिखेलमा राखिएको चप्पलको रिपोर्टिङ गर्‍यौं ।

धुलिखेलमा राखिएका पुराना चप्पलको कथा शीर्षकमा एउटा फिचर लेखियो । मानवीयता र समाजसेवाको अनुपम नमूना थियो त्यो । व्यक्तिगत रूपमा पनि मलाई धेरै फोन आएको फिचर थियो । राज्यका निकाय गाउँ घर फर्किन हिँडेका सर्वसाधारण जनतालाई गौंडा-गौंडामा कुरेर फर्काइरहेका थिए, तर सचेत युवाहरू भने पैदल यात्रुका लागि पुराना भएपनि जुत्ता चप्पलको जोहो गर्दै थिए । हातहातमा जीवनजलको प्याकेट थमाउँदै थिए ।

बजार पसल पूर्ण रूपमा बन्द भएका कारण पैसा भएपनि जुत्ता किन्न नपाइने, तिनै पुराना जुत्ता पैदल यात्रुका लागि सहारा भएका थिए । जुत्ताका साथमा पैदल यात्रुको सहजताका लागि च्युरा दालमोठसहित खाजाको पोको, पानीको बोत्तल र जीवनजलका प्याकेट पनि धुलिखेलमा बाँडिएको थियो । 

धुलिखेलका युवाले पुराना जुत्ता, जीवनजल र खाजाको प्याकेट बाँडेको समाचार लोकान्तरमा पढेपछि काठमाडौं थानकोटका केही युवाले पनि त्यो अभियान शुरूआत गरेका रहेछन् ।

हामीले लेखेको समाचारबाट प्रभावित भएर थानकोटका केही मनकारी व्यक्तिले पैदल यात्रुलाई खाजा, पानी र जीवनजल बाँडेको थाहा पाउँदा मन फुरुङ्ग भयो । 

राजमार्गमा खाली खुट्टा रगत चुहाउँदै

गाउँ फर्किन चाहने सर्वसाधारणको लावा लस्कर राजमार्ग भरी देखिन्थ्यो । जिल्लाको सिमानामा प्रहरी र प्रशासनले प्रवेशमा निषेध गरेपछि सामान बोकेका ट्रकले पनि सर्वसाधारणलाई लैजान मानेका थिएनन् ।

पश्चिम जानेहरू धादिङको नौबिसे या बैरेनीबाट ट्रक चढे भने चितवनको सीमा मौवा खोलामा गएर झर्नु पर्ने ।

काठमाडौंबाट बर्दिया, सुर्खेत र जाजरकोट पुग्न पैदल हिँडेका नागरिक के खान्छन्, कहाँ सुत्छन् ?

राजमार्गमा भेटिएका एक ट्रक चालकले अलपत्रलाई उद्धार गरेबापत प्रहरीले सास्ती दिएको गुनासो गर्थे । सरकारले एक ठाउँबाट अर्को ठाउँमा जान निषेध गरेका कारण पैदल यात्रुलाई प्रहरीले सहयोग गरेको थिएन ।

बर्दिया जाने यात्रुलाई धादिङबाट नवलपरासीमा पुर्‍याएपछि प्रहरीले जहाँबाट ल्याएको त्यहीँ लगेर छाड भनेर धम्क्याएपछि चितवनमा ल्याएर छाडिदिएका थिए । 

राजमार्गमा भोकभोकै पैदल– कसैका खुट्टा फुटे, कसैका जुत्ता टुटे !

म्याग्दीबाट १४ दिन हिँडेर काठमाडौं हुँदै रामेछाप

म्याग्दीबाट ७ दिन हिँडेर काठमाडौं : रामेछाप फर्किँदै गरेका वृद्धको मुटु हल्लाउने कहानी !

​राजमार्गमा पैदल यात्रा गरेका मजदूरको रिपोर्टिङ गर्दै जाँदा एउटा फरक दृश्य पनि भेटियो । अधिकांश यात्रुहरू काठमाडौंबाट बाहिरिएका थिए । एक यस्ता यात्रु भेटिए जो पश्चिमबाट काठमाडौं आउँदै थिए ।

म्याग्दीबाट पैदलै पोखरा, पोखरामा बेखर्ची भएपछि काठमाडौं हुँदै रामेछाप हिँडेका भीमबहादुर तामाङ सडकमा भेटिए । यी वृद्धले यात्राका क्रममा व्यहोरेका दुःख र पीडा मानिसहरूका लागि जीवन जिउने हिम्मतको पाठ पनि हुन सक्छ । यो स्टोरी पढेर धेरैले प्रतिक्रिया दिए ।

यो स्टोरी पढेर केहीले सहयोग गर्न खोजेका थिए, तर उनीसँग मोबाइल नभएका कारण कनेक्ट गराउन नसकिएकोमा हामीलाई दुःख लाग्यो । बीपी राजमार्गमार्फत घर जाने बताएकाले हामी उनलाई खोज्दै गयौं, शायद उनी अर्को बाटो लागेर होला भेट हुन सकेन । 

हजारौंको उद्धार गर्ने प्रहरी इन्स्पेक्टर शान्ता वाइबा

इन्सपेक्टर वाइबाको लोभलाग्दो सक्रियता– यसरी भयो ७ हजार मजदुरको उद्धार !

​अधिकांश स्थानमा यात्रुलाई प्रहरीले अवरोध गरेपनि केही प्रहरीहरू अपवाद थिए । तीमध्येकी एक थिइन्, इलाका प्रहरी कार्यालय खुर्कोटकी इञ्चार्ज इन्सपेक्टर शान्ता वाइबा । वाइबाले अलपत्र यात्रुको उद्धारमा खेलेको भूमिकाबारे एउटा फिचर स्टोरी लेखियो । यो मानवीय कामको व्यापक प्रशंसा भयो । सामान लिएर फर्किएका ट्रकमा अलपत्र यात्रुलाई गन्तव्यमा पठाउने काम गरेकी थिइन् । 

हिँड्दै सिन्धुलीको सीमामा पुगेका सर्वसाधारणलाई ट्रकमा उठाएर उनले गन्तव्यमा पठाइदिन्थिन् । गरीब मजदूरसँग पैसा नभएकाले जबरजस्ती भाडा नलिन भन्दै उनले ड्राइभरहरूलाई सम्झाइरहेकी थिइन् । हामीले फिचर लखेपछि कोरोनकालकी नायक बाइवाको कामको धेरै प्रशंशा भयो । 

पुलमा ताल्चा, आवत जावत बन्द

कोरोनाले गाउँमा अनौठा नियम : झोलुङ्गेपुलमा भोटेताल्चा, आपतै परे पुलको बीचमा गफगाफसम्म

कोरोना भाइरसले गाउँमा कस्तो असर गरेको थियो होला ? हाम्रो मनमा कौतुहलता थियो । पैदल फर्किने यात्रु खोज्दै जाँदा राजमार्ग आसपासमा केही अनौठा दृश्यहरु देखिए । शदियौंदेखि एक अर्को गाउँको अन्तरसम्बन्ध थियो । कोरोनाले गाउँ–गाउँको सम्बन्ध विच्छेद गराएको थियो, जसरी अन्तर्राष्ट्रिय नाका बन्द गरेर दुई देशबीच आवतजावत बन्द भएको थियो । 

त्रिशूली नदी माथिका झोलुंगे पुलमा ताल्चा लगाएर आवतजावत बन्द गरिएको थियो । चितवन र धादिङतर्फबाट गोरखा जोड्ने पुलका बीचमा ताला लगाइएको थियो । 

खासगरी भारतबाट फर्किने युवाहरू गाउँपालिकाको सम्पर्कमा नआई क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था छलेर सिधै घरमा जान्छन् कि भनेर पुलमा ताला लगाइएको थियो । एक अर्थमा भन्दा भारतबाट हिँड्दै आएकालाई आफ्नै गाउँघर प्रवेशमा बन्देज लगाइएको थियो । २१ औं शताब्दीको खुला समाजमा यो दृश्य नौलो लाग्ने खालको थियो ।

लकडाउनको समयमा अस्पतालमा अलपत्र बिरामीको पनि स्टोरी गरियो ।

लकडाउन बज्रपात : डाक्टरको चन्दाले उपचार, भाडा अभावमा अस्पतालमै बास !

​​सहयोगका नाममा अलपत्र यात्रुमाथि ठग्ने विचौलियाको स्टोरी पनि लेखियो । 

अलपत्र यात्रुसँग बिचौलियाको मोलमोलाइ– ट्रक भाडा बुटवलको १५ सय, धनगढीको २ हजार !

लकडाउन लम्बिएपछि झनै बढ्यो घर फर्किनेको लर्को, कोही ट्रकमा झुण्डिएर त कोही पैदलै यात्रा

कहिले घर कहिले कार्यालय 

कोरोनाको सन्त्रास फैलिन शुरू गरेपछि दैनिक पत्रपत्रिकाले आफ्नो प्रकाशन नै बन्द गर्नुपर्ने अवस्था सिर्जना भयो । त्यसैमाथि सरकारले लकडाउन गरेर बजार बन्द गरेपछि घरबाटै काम गर्ने निर्णय भयो । चैत्र ९ गते अफिसमा मिटिङ बसेर १० गतेदेखि घरबाटै काम गर्ने निर्णय लियौं । १० गतेदेखि त घरबाट काम शुरू गर्‍यौं । ११ गतेदेखि सरकारले बन्दाबन्दी शुरू गर्‍यो । 

झण्डै दुईमहिना घरबाट काम गर्‍याैं । डेढ दशकपछि कार्यालय समय अर्थात दिउँसोको समयमा यति लामो समय घरमा बसियो । 

लकडाउन हल्का खुकुलो भएपछि २०७७ वैशाख २८ गतेदेखि फेरि अफिसबाट काम गर्न शुरू भयो । 

पर्याप्त सावधानी अपनाएर कार्यालयमा उपस्थित भएर काम गर्ने निर्णय भएअनुसार सोही अनुसार काम शुरू भयो । केही साथीहरू त्यो भन्दा अगाडिदेखि नै कार्यालयबाटै काम गरिरहेका थिए । 

वैशाख ३१ गतेसम्म कार्यालयबाट काम गरियो । कोरोना संक्रमण फैलिने दर बढेपछि फेरि जेठ १ गतेबाट घरबाटै काम गर्ने निर्णय भयो । जेठ २४ गतेसम्म घरबाटै काम भयो । फेरि जेठ २५ देखि कार्यालयमा उपस्थित भएर काम गर्न थालियो । नेकपा भित्रको विवाद, राजनीतिक घटनाक्रमका कारण पनि कार्यालयमै उपस्थित हुँदा सहज हुने भएकाले कार्यालयबाटै काम गर्ने सहमति भयो । 

कोरोना संक्रमण फैलिन थालेपछि साउन १ गतेदेखि फेरि घरबाट काम शुरू भयो । साउन २८ गतेबाट पुनः कार्यालयमा उपस्थित भएर काम गर्न थाल्यौं । असोज २५ गतेपछि फेरि कार्यालयबाट काम शुरू भयो । कोरोना संक्रमण कसैमा नफैलियोस् भनेर नै हामीले कहिले घर कहिले कार्यालयबाट काम गर्ने निर्णय गरेका थियौं । 

कोरोना संकटको समयमा पनि हामीले आर्थिक पुनरुत्थान बहस भनेर कोरोनाले थला पारेको अर्थतन्त्रलाई उकास्न के गर्न सकिन्छ भनेर लामो बहस चलायौं । 

व्यक्तिगत अनुभव– छोरीलाई उचाल्न संकोच लागेको समय

राजमार्गमा गएर मजदूरहरूको दुःखको रिपोर्टिङ त गरियो तर, घरमा भने सधैँ शंकाको नजरले हेर्ने, कतै कोरोना ल्याएको छ कि भनेर । सबभन्दा ठूलो डर त छोरीलाई लिन लाग्ने, भर्खर १ वर्ष पुग्दै गरेकी छोरीलाई केही हुने हो कि भनेर । 

खोकी लागे, हाँच्छ्यु आए, अन्य कारणले ज्वरो आउला जस्तो भएपनि कोरोना नै भयो कि भन्ने उपशंकाले घेर्ने । भौतिक दूरीसहित सावधानी त पर्याप्त अपनाइएको थियो, त्यति हुँदाहुँदै पनि कतै छोरीलाई कोरोना सर्ने हो कि भन्ने चिन्ताले सताइरहने । 

बजारबाट तरकारी फलफूल किनेर ल्याएपछि घरबाहिरै धोएर मात्र भित्र लग्ने । घरको गेटको चुकुलमा कयौँपटक स्यानिटाइज गर्ने । 

भगवान भरोसा भनौं या सावधानीका कारण कोरोना त घरमा भित्रिएन, तर कोरोनाको महामारीले जनजीवन अस्तव्यस्त बनेको समयमा पाँच दिन अस्पतालको बसाइ भयो, छोरी बिरामी परेका कारण ।

मानिसहरू अस्पतालको बाटो हिँड्न समेत हिच्किचाइरहेको समयमा अस्पतालको बसाइ कम्ति कष्टपूर्ण थिएन । 

लकडाउन भएको वर्ष दिन पुग्दै गर्दा फेरि कोरोनाको दोस्रो लहरको त्रास बढेको छ । तर फ्रन्टलाइनमा खटिनेले कोरोनाको खोप लगाइसकेको र कारोना संक्रमण भएका ९९ प्रतिशत निको भइसकेको अवस्थामा अब फेरि त्यस्तो कहालीलाग्दो दिन नआउने कल्पना गरौं । खोप लगाउँदैमा पूर्ण रूपमा सुरक्षित नहुने विभिन्न अध्ययनहरूको निष्कर्ष छ, त्यसैले पर्याप्त सावधानी अपनाऔं अनि फेरि लकडाउन हुने कल्पना नगरौं !

salt training

कमेन्ट गर्नुहोस्