२२ जेठ २०८३, शुक्रबार
सकसमा 'होमडेलिभरी'

परस्पर बाझिने नीति– नागरिकलाई घरमै थुन्ने, घरमै सामान पुर्‍याइदिन्छु भन्नेलाई हिँड्न नदिने !

बैशाख २६, २०७८
परस्पर बाझिने नीति– नागरिकलाई घरमै थुन्ने, घरमै सामान पुर्‍याइदिन्छु भन्नेलाई हिँड्न नदिने !

निषेधाज्ञाको समयमा नागरिकहरू बजारमा निस्किँदा भीडभाड हुने भएकाले अनलाइन शपिङ तथा होमडेलिभरी सेवा निकै प्रभावकारी मानिन्छ ।

पछिल्लो समय नेपालमा पनि घरमै बसीबसी सामान मगाउने ट्रेन्ड पनि बढिरहेको छ । 

तर, काठमाडौं उपत्यकामा हाल जारी निषेधाज्ञामा होमडेलिभरी सेवामा समेत रोक लगाइँदा उपभोक्ता र व्यावसायी दुवै मारमा परेका छन् ।

'अनलाइन हुँदा म घरबाट निस्कनै पर्दैन थियो । समान, तरकारी अनलाइन अर्डर दियो, पैसा पनि अनलाइन नै तिर्‍यो अनि समान आउनुअगाडि ढोका खुला राख्यो, ढोकाभित्र समान छाडेर जाँदा सबै कारोवार कन्ट्याक्ट लेस हुने थियो,' एक उपभोक्ता सुन्ती श्रेष्ठले भनिन् ।

अर्का उपभोक्ता विवेक भण्डारी पनि अनलाइनबाट सामान डेलिभरी नहुँदा समस्या भएको बताउँछन् ।

'बाहिर कसैको सम्पर्कमा आउनु नपर्ने, घरमा बुवामुवा उमेर पुगेका हुनुहुन्छ । सामान किन्न एकजना बाहिर जाँदा सर्‍यो भने घरका सबैलाई लाग्ला भन्ने चिन्ता लाग्ने,' भण्डारीले भने, 'किन होम डेलिभरी बन्द गरेर हामीलाई बाहिर भीडमा जाऊ भनेको हो, कुरा बुझ्न गाह्रो भयो । यसले त झन् भीडभाड र संक्रमण बढाउँछ जस्तो पो लाग्यो ।'

निषेधाज्ञाका बीचमा उपभोक्ताहरू सामान किन्न बाहिर जान नपाउँदा अनलाइन शपिङमा डिमान्ड बढिरहेको छ, तर डेलिभरी सेवा ठप्पप्रायः छ ।

उपत्यकामा विभिन्न किसिमका कम्पनीहरूले घरसम्मै सामान ल्याइदिने व्यवसाय गरिरहेका छन् ।

धेरै नै आक्रामक रूपमा बजार विस्तार गर्दै गरेको होमडेलिभरी सेवालाई अहिले सरकारले प्रायोरिटीमा नराख्दा समस्या आएको व्यवसायीहरू बताउँछन् । 

‘होम डेलिभरीका लागि अर्डरहरू निषेधाज्ञामा झन् धेरै आएका छन्, यस्तो समयमा हामीलाई बाहिर निस्कन निकै कठिन बनाइएको छ,’ सेल्सबेरीका एक कर्मचारीले लोकान्तरसँग गुनासो गरे । 

उनले थपे, ‘हाम्रा गाडीहरू ट्राफिक प्रहरीले सडकमै रोकिदिन्छन्, कतिपय ठाउँमा त भनसुन गर्दा छाडिदिने पनि अवस्था छ, तर कति दिन भनसुनको भरमा व्यापार गर्ने ?’ 

उनले अनलाइन डेलिभरीका सम्बन्धमा राज्यले चासो नदिएको गुनासो गरे ।

‘विश्वमा नै प्रचलनमा रहेको होम डेलिभरी सेवालाई यहाँ भने बेवास्ता गरिएको छ,’ उनले भने, ‘हामीले सक्ने जति ठाउँमा त सेवा दिइरहेका छौं, तर सबै ठाउँमा सेवा दिन सकेनौं ।’ 

अनलाइन डेलिभरी सेवालाई अझैसम्म पनि प्रायोरिटीमा नराखिएको उपत्यका सिटी कार्गोका चिफ अपरेटिङ अफिसर आमिगो खड्काले बताए । 

लोकान्तरसँग उनले भने, ‘ट्राफिकले कहिलेकाहीँ त लोड भएकै गाडी पनि रोकिदिन्छन्, यसले गर्दा हामीलाई समस्या भइरहेको छ ।’

उनले निषेधाज्ञामा होम डेलिभरीलाई रोक्न नहुने बताए ।

‘हामीले तोकिएको प्रावधानमा रहेर काम गर्छौं पनि भनेका छौं, अनि किन रोक्नुपर्‍यो त ?’ उनले थपे ।

यस्तै काठमाडौं अर्ग्यानिक्सका प्रमुख कार्यकारी अधिकृत भुवन केसी अहिले ग्राहकहरू घर बाहिर निस्कन नसक्ने अवस्थामा सामान पुर्‍याइदिने काम अत्यन्तै महत्त्वपूर्ण भएको बताए ।

उनले लोकान्तरसँग भने, ‘घरमै सामान पुर्‍याउँदा ग्राहकहरूमा जोखिम कम हुन्छ, हामीले पनि सावधानी अपनाएरै काम गरेका हुन्छौं ।’

उनले अहिले धेरैको माग होम डेलिभरी भएपनि सामान डेलिभरीमा निस्कँदा प्रहरीले बाटोमा रोक्ने गरेको सुनाए ।

उनले भने, ‘हामीलाई प्रहरीहरूले बाटैमा रोकिराखेका हुन्छन् । सम्बन्धित निकायमा ध्यानाकर्षण गराए पनि उनीहरूबाट कुनै जवाफ आएको छैन ।’

उनले पछिल्लो समय उपत्यकाका जिल्ला प्रशासन कार्यालयले बिहान ५ बजेदेखि १० बजेसम्म अत्यावश्यक सामग्री बिक्री खुला गरेपनि आफूहरूलाई त्यो समय पर्याप्त नहुने बताए ।

उनले भने, ‘अनलाइन अर्डरहरू लिस्टिङ, सामान प्याकिङजस्ता काम गर्न भ्याउँदैनौं, अनलाइन अर्डर बढिरहेको छ । हामीलाई त पूरै समय दिनुपर्ने हो ।’

उनले माथिल्लो निकायहरूमा समन्वय अभाव हुँदा समस्या भएको बताए । उनले भने, ‘हामीले वाणिज्य विभाग, सीडीओ, प्रहरी सबैसँग कुरा गर्दा फरक–फरक विचार आउँछ ।’

यता ई–बिजनेस एसोसिएसन नेपालका संयोजक तथा मेरो किराना डटकमका संस्थापक सागरदेव भट्टले होम डेलिभरी गर्ने संस्था धेरै भएको र उनीहरूका गाडी नियन्त्रण गर्न गाह्रो हुने भनेर निषेधाज्ञामा बन्द गरिएको गुनासो गरे ।

उनले लोकान्तरसँग भने, ‘हामीले सहज सेवा प्रवाहका निम्ति निषेधाज्ञा अगाडिदेखि नै सीडीओ कार्यालय, उद्योग मन्त्रालय लगायतमा ज्ञापनपत्र बुझाएका थियौं, तर सुनुवाइ भएन ।’

निषेधाज्ञामा अत्यावश्यक सामग्रीहरूको बजार बिहान ५ बजेदेखि १० बजेसम्म सञ्चालन गर्ने दिने भनिएको बताउँदै उनले त्यो समय पर्याप्त नभएको बताए । 

उनले एसोसिएसनमा रहेका सदस्यहरूले ढुक्क भएर काम गर्न नपाएको बताउँदै यसले व्यवसाय सञ्चालनमा असर परेको सुनाए । एसोसिएसनमा ४० वटा ई–बिजनेस कम्पनीहरू आबद्ध छन् । 

उनले भने, ‘ढुक्क भएर काम गर्न पाएनौं, कसैले समात्यो भने छुटाउन के गर्नुपर्छ ? भन्ने पनि छैन, हामीलाई त गाह्रो भयो ।’

बिहान १० बजेसम्म मात्रै खाद्य बजार सञ्चालन गर्ने हुँदा अहिले तरकारी तथा खाद्य बजारहरूमा भीड समेत लाग्ने गरेको छ । भीड कम गर्नका लागि पनि होम डेलिभरी रोज्नुपर्नेमा अध्यक्ष भट्ट जोड दिन्छन् । 

यता काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने पछिल्लो समय बढी सुरक्षित मानिएको अनलाइन डेलिभरी सेवाले अहिले आएर केही समस्या निम्त्याएको बताए ।

होम डेलिभरी गर्ने कम्पनीहरू धेरै भएको र उनीहरूका सवारी साधन पनि धेरै भएकाले निषेध गर्नुपरेको उनको भनाइ छ ।

पराजुलीले भने, ‘हामीले खाद्यान्न वा अत्यावश्यक सामान सबै खोलिदिएका छौ, त्यसकारण उनीहरूलाई रोक लगाइएको हो ।’

भीड कम गर्नकै लागि कडाइ गरिएको उनको जिकिर छ ।

‘भोलि नागरिकहरूले नै हामीलाई अनलाइन डेलिभरी चाहियो भने सोच्न सकिएला, नत्र त उनीहरूलाई रोक्ने पक्षमा नै हो हामी,’ उनले भने । 

यसअघिको निषेधाज्ञामा सम्वद्ध संस्थाले डेलिभरीमा संलग्न जनशक्ति र सवारी साधनको विवरण जिल्ला प्रशासन कार्यालय, वाणिज्य तथा आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र ट्राफिक प्रहरीलाई बुझाउनुपर्ने व्यवस्था गरिएको थियो ।

यस्ता व्यवसायमा संलग्न व्यवसायीहरू आफूहरूले सबै विवरण बुझाए पनि समस्या समाधान नभएको बताउँछन् । 

उद्योग मन्त्रालय अन्तर्गतको उपभोक्ता हित संरक्षण विभागले पनि निषेधाज्ञामा आफ्नो भूमिका नरहेको बताउने गरेको छ ।

विभागका निर्देशक सागर मिश्रले अहिले निषेधाज्ञा काठमाडौं उपत्यकाको हकमा जिल्लाअन्तर्गतबाट भएकाले विभागसँग समन्वय आवश्यक नहुने बताए । 

salt training

कमेन्ट गर्नुहोस्