२२ जेठ २०८३, शुक्रबार

स्वर्गीय राजा वीरेन्द्रको नाममा भेटियो २३ हजार रोपनी जग्गा, तीन लाख कित्ता शेयर

कात्तिक २०, २०७४
स्वर्गीय राजा वीरेन्द्रको नाममा भेटियो २३ हजार रोपनी जग्गा, तीन लाख कित्ता शेयर

काठमाडौं– राजा वीरेन्द्रको वंशनाश भएको डेढ दशकभन्दा बढी समय बितिसकेको छ । वंशनाश भएर मुलुकबाट राजतन्त्रै अन्त्य भएको पनि दशक पुग्न लागिसकेको छ । वंशै नास हुन पुगेको स्वर्गीय राजा वीरेन्द्रको सम्पत्ति कति होला ?

नेपाल ट्रष्टको कार्यालयले दिएको जानकारी अनुसार हालसम्म स्वर्गीय राजा वीरेन्द्रको नाममा रहेको २३ हजार रोपनी जग्गा फेला परिसकेको छ ।

त्यस्तै, स्वर्गीय राजा वीरेन्द्रको नाममा विभिन्न बैंकमा गरी करीब तीन लाख कित्ता शेयर नेपाल सरकारको स्वामित्वमा आइसकेको छ ।

नबिल बैंक लिमिटेडको २ लाख ५७ हजार ४२ कित्ता, नेपाल औद्योगिक विकास बैंक (एनआइडिसी)मा रहेको ६ हजार ७ सय ५० कित्ता र काठमाडौंको दरबारमार्गमा रहेको होटेल डे ला अन्नपूर्णमा रहेको ३० हजार ७ सय २० कित्ता शेयरसहित स्वर्गीय राजा वीरेन्द्रको नाममा रहेको २ लाख ९५ हजार १ सय १२ कित्ता शेयर पनि सरकारी स्वामित्वमा आइसकेको छ ।

स्वर्गीय राजा वीरेन्द्रको नाममा रहेको ४८ हजार ४ सय ६६ पाउन्ड स्टर्लिङ (हालको विनिमय दरअनुसार ६५ लाख १८ हजार ६ सय ८७ रुपैयाँ) र १ लाख ३८ हजार ६ सय २६ अमेरिकी डलर (हालको विनिमय दरअनुसार १ करोड ५१ लाख २४ हजार ९६ रुपैयाँ) ट्रष्ट कार्यालयको स्वामित्वमा प्रभु बैंकमा डिपोजिट छ ।

‘स्वर्गीय राजा वीरेन्द्रको नाममा रहेको सम्पत्ति खोजबिन चल्दैछ,’ ट्रष्टका सहसचिव लेखबहादुर कार्कीले लोकान्तरसँग भने । वीरेन्द्रको नाममा विदेशमा पनि ठूलो परिमाणमा सम्पत्ति भएको हुन सक्ने आशंका छ । ट्रष्टले त्यसको पनि खोजी गरिरहेको भएपनि उनको नाममा विदेशमा कति सम्पत्ति छ, फेला पार्न सकेको छैन ।

कति कमाउँछ सरकारले ?

नेपाल ट्रष्टको कार्यालयका अनुसार स्वर्गीय राजा वीरेन्द्रको नाममा रहेको अचल सम्पत्तिबाट हालसम्म सरकारले ४० करोड रुपैयाँभन्दा बढी आम्दानीमात्र गरिसकेको छ ।

वार्षिक सात करोडभन्दा बढी आम्दानी

वार्षिक सात करोड रुपैयाँभन्दा बढी आम्दानी हुन्छ । वीरेन्द्रको नाममा रहेको जग्गा भाडामा लगाएर, बैंक शेयरको लाभांश लगायतबाट सरकारलाई वार्षिक रूपमा उक्त परिमाणको रकम आम्दानी हुन्छ ।

वीरेन्द्रको नाममा रहेको जग्गा तथा संरचना खोजीनिती गरेर कार्यालयले विभिन्न व्यावसायिक तथा व्यापारिक प्रयोजनका लागि भाडामा दिई आम्दानी गर्छ । त्यस्तै, विभिन्न बैंक तथा प्रतिष्ठानमा रहेको शेयर तथा नगद हिस्साबाट वार्षिक रूपमा लाभांश तथा ब्याज प्राप्त गर्छ ।

कहाँबाट कति उठ्छ ?

गोकर्ण फरेष्ट रिसोर्टबाट साढे २ करोड

ट्रष्टले सबैभन्दा धेरै आम्दानी काठमाडौंको गोकर्णेश्वर गाविसमा रहेको गोकर्ण फरेष्ट रिसोर्टबाट गर्दै आएको छ । ट्रष्टले २०६७ सालमा एलएम सुवीर ब्रदर्श प्रालिलाई उक्त रिसोर्टको जग्गा लिजमा दिएको थियो । स्वर्गीय राजा वीरेन्द्रको नाममा रहेको ३ हजार ९ सय ७१ रोपनी क्षेत्रफलको उक्त जग्गा ३० वर्षसम्मका लागि (२०५२ सालदेखि लागू भएको) लागि दिइएको हो ।

रिसोर्टबाट सरकारलाई वार्षिक २ लाख ४० हजार अमेरिकी डलर (हालको विनिमय दरअनुसार २ करोड ६१ लाख ६० रुपैयाँ) आम्दानी हुन्छ ।

स्टर्यान्डर्ड चार्टर्ड बैंकबाट ८४ लाख

ट्रष्टले लाजिम्पाटमा करीब सात रोपनी जग्गा स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई लिजमा दिएको छ । लिजमा दिइएको उक्त जग्गाबाट ट्रष्टलाई वार्षिक ८४ लाख रुपैयाँ आम्दानी हुन्छ । काठमाडौं महानगरपालिका वडा नं. २ मा रहेको उक्त जग्गा १५ वर्षका लागि लिजमा दिइएको छ (सन् २००५ देखि लागू हुनेगरी) ।

काठमाडौं प्लाजाबाट ७५ लाख

त्यस्तै, ट्रष्टले काठमाडौं महानगरपालिकाको कमलादी वडा नं. ३१ मा अवस्थित स्वर्गीय राजा वीरेन्द्रको नाममा रहेको काठमाडौं प्लाजा कन्सेप्ट डेभलपर्स प्रालिलाई भाडामा दिएको थियो । उक्त कम्पनीले ट्रष्टलाई वार्षिक ७५ लाख रुपैयाँ तिर्छ । उक्त भवन १५ वर्षसम्म (सन् २००५) देखि भाडाामा दिइएको हो ।
 ट्रष्टले श्रमग्राम ताहाचलबाट वार्षिक ४८ लाख रुपैयाँ आम्दानी गर्छ ।

टाउन डेभलपर्सबाट ३० लाख

ट्रष्टले टेकुस्थित स्वर्गीय राजा वीरेन्द्रको नाममा रहेको १९ रोपनी जग्गा लिजमा लगाएर वार्षिक ३० लाख रुपैयाँ आम्दानी गर्छ । ट्रष्टले काठमाडौं महानगरपालिका वडा नं. १२ टेकुस्थित बुद्धबारीको उक्त जग्गा ३० वर्षसम्मका लागि (२०५३ सालदेखि) लिजमा दिएको हो ।

ट्रष्टले राजा वीरेन्द्रको नाममा रहेको जग्गा भाडामा दिएर भरतपुरमा रहेको दियालो बंगलाबाट वार्षिक २५ लाख रुपैयाँ, काठमाडौंको ताहाचलस्थित गरीबी निवारण कोषबाट २४ लाख ५५ हजार रुपैयाँ, ताहाचलमै रहेको सार्वजनिक खरीद अनुगमन कार्यालयबाट १८ लाख र ताहाचलकै सोल्टी आउटर सपिङ कम्प्लेक्सबाट १७ लाख ५४ हजार रुपैयाँ आम्दानी गर्दै आएको छ ।

त्यस्तै, काठमाडौंको ताहाचलस्थित नेपाल रेडक्रस सोसाइटीबाट १२ लाख, पोखराको रत्न चोकको जग्गा भाडामा लगाई ४ लाख ९० हजार रुपैयाँ, काठमाडौंको ठमेलमा रहेको जग्गा प्रमोदकुमार थापालाई जग्गामा दिएर ४ लाख ८० हजार, , ताहाचलको ट्रियो भेञ्चर इन्भेष्टमेन्ट प्रालिबाट ३ लाख ६० हजार रुपैयाँ र धनकुटाको निजामती आवासीय विद्यालयबाट दुई लाख रुपैयाँ वार्षिक रूपमा आम्दानी गर्दै आएको छ । जग्गा भाडामा लगाएरमात्र ट्रष्टले वार्षिक रूपमा ६ करोड १० लाख रुपैयाँ आम्दानी गर्छ ।

तत्कालीन अधिराजकुमारीको १५ रोपनी जग्गामा ट्रष्टले नै प्रयोग गर्ने

केही समयअघि सर्वोच्च अदालतको फैसलाले ट्रष्टको नाममा आएको काठमाडौंको छाउनीको जग्गा ट्रष्ट स्वयंले उपयोग गर्ने योजना बनाएको छ ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहकी कान्छी छोरी प्रेरणा शाहले दाइजो दाबी गरेकी १५ रोपनी क्षेत्रफलको उक्त जग्गा केही समयअघिको सर्वोच्च अदालतले सरकारको भएको फैसला गरेको थियो ।

ट्रष्टले पछिल्ला वर्ष अभियानै सञ्चालन गरेर स्वर्गीय राजा वीरेन्द्रको सम्पत्ति खोजबिन अघि बढाउँदै आएको छ । अहिलेसम्म पनि ट्रष्टले सघन सम्पत्ति खोजबिन कार्यक्रम गरेर जिल्लाजिल्लाबाट उनको सम्पत्ति खोजबिन गर्दै आएको छ । बुधवार मात्र पनि जलेश्वरमा राजपरिवारको १० कट्ठा जग्गा फेला परेको जानकारी आएको थियो ।

२०५८ सालमा दरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्रसहित उनको परिवारका सम्पूर्ण सदस्यको वंशनाश भएको थियो । त्यसको केही वर्षपछि मुलुकबाट राजतन्त्रकै उन्मूलन भएपछि तत्कालीन सरकारले स्वर्गीय राजा वीरेन्द्र तथा परिवारका सदस्यको नाममा रहेका सम्पूर्ण सम्पत्ति ट्रष्टमार्फत व्यवस्थापन गर्दै आएको छ ।
नेपाल ट्रष्ट ऐन २०६४ बमोजिम नेपाल ट्रष्टले ती सम्पत्तिको व्यवस्थापन र परिचालन गर्दै आएको छ । उक्त सम्पत्ति सोझै राष्ट्रिय ढुकुटीमा जान्छ । 
अर्काइभबाट

salt training

कमेन्ट गर्नुहोस्