२२ असार २०८३, सोमबार

एमालेको आन्तरिक विवाद प्रदेशसभा बैठकमा छताछुल्ल

जेठ २१, २०७८
एमालेको आन्तरिक विवाद प्रदेशसभा बैठकमा छताछुल्ल

सुदूरपश्चिम प्रदेश सभाको शुक्रवार शुरू भएको बजेट अधिवेशनमा नेकपा एमालेका प्रदेशसभा सदस्य एवं निवर्तमान मन्त्री पठानसिंह बोहराले मुख्यमन्त्रीको राजीनामा माग गरेका छन् ।

बैठकको प्रारम्भमा सभामुखसँग समय लिएर बोहराले नेकपा माओवादी केन्द्रका नेता त्रिलोचन भट्टको नेतृत्वको सरकारलाई दिएको समर्थन नेकपा एमालेले फिर्ता लिइसकेको अवस्थामा सरकार अल्पमतमा परेकाले मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने माग गरे ।

समर्थन फिर्तापछि प्रदेश सभामा आफूहरू प्रतिपक्षी दलका सदस्य भइसकेकोले बस्ने सिटको व्यवस्थापन मिलाउन समेत ध्यानाकर्षण गराए ।

बोहरा मुख्यमन्त्री भट्टको नेतृत्वको सरकारका निवर्तमान भौतिक पूर्वाधार विकासमन्त्री हुन् । नेकपा एमालेमा उत्पन्न आन्तरिक किचलोसँगै मुख्यमन्त्रीले उनलाई केही महिनाअघि जिम्मेबारीबाट मुक्त गरेका थिए ।

आन्तरिक विवादकै बीच मुख्यमन्त्रीले केही दिनअघि मात्र मन्त्रिमण्डल पुनर्गठन गरेका थिए । प्रदेश सभामा नेकपा एमाले संसदीय दलमा माधव नेपाल पक्षको बहुमत रहेको छ ।

जेठ १० गते बसेको नेकपा एमालेको स्थायी समिति बैठकले मुख्यमन्त्री भट्ट नेतृत्वको सरकारलाई समर्थन फिर्ता लिने निर्णय गरेको थियो तर यो निर्णयको अहिलेसम्म कार्यान्वयन भएको छैन ।

शुक्रवारको बैठकको विशेष समयमा नेकपा एमाले संसदीय दलका तर्फबाट सदस्य अमरबहादुर साउँदले संसदीय दलको हालै बसेको आठौं बैठकले अहिलेको सरकारलाई दिएको समर्थनलाई यथावत् राख्ने निर्णय गरिएको भन्दै सत्तापक्षकै सदस्यबाट मुख्यमन्त्रीको राजीनामा माग हुनु आश्चर्यजनक भएको बताए ।
 
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक अक्कलबहादुर रावलले शहीदहरूको बलिदानी र लामो संघर्षपछि प्राप्त राजनीतिक उपलब्धिमाथि फेरि पनि खतरा उत्पन्न भइरहेको भन्दै यो व्यवस्था जोगाउन संविधान र विधि पद्धतिअनुसार काम गर्नुपर्ने बताए ।

नेपाली कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले पार्टीको आन्तरिक किचलोलाई लिएर २/२ पटक केन्द्रीय संसद् विघटन भएको घटना देशकै लागि विडम्बना भएको भन्दै हरेकले विधि, पद्धति, मूल्य र मान्यतालाई अंगीकार गरेर हिँड्नैपर्ने बताए ।

उनले नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने बताए । राष्ट्रिय जनता पार्टीका कृष्णबहादुर चौधरीले पद र कुर्सी प्राप्तिको लडाइँले राजनीति अन्योल र अस्थिर बनेको भन्दै सत्तामोहमा नलागी जनताका पक्षमा काम गर्नुपर्ने बताए ।

बैठकको प्रारम्भमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी प्राप्त पत्र वाचन गरेर सुनाएका थिए ।

यसअघि बजेट अधिवेशनअन्तर्गत शुक्रवारै बसेको पहिलो बैठकमा सुदूरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख मोहनराज मल्लको निधनप्रति शोक प्रकट गर्न १ मिनेट मौनधारण गर्नुका साथै शोक प्रस्ताव पारित गरिएको थियो । कैलाली जिल्ला निवासी पहिलो प्रदेश प्रमुख मल्लको केही दिनअघि उपचारका क्रममा काठमाडौंमा निधन भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्