
निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल फेरि ६ महिना पछाडि धकेलिएको छ ।
निर्माणको अन्तिम चरण पुगे पनि कोभिड–१९ का कारण विमानस्थलको काममा अवरोध हुँदा सञ्चालन मिति पर धकेलिएको हो ।
रुपन्देहीको भैरहवामा रहेको विमानस्थल निर्माण सम्पन्न गर्नुपर्ने म्याद यही असार १६ (जुन ३०) गते सम्मलाई मात्र छ ।
विमानस्थलका आयोजना प्रमुख इञ्जिनीयर प्रवेश अधिकारीले प्राविधिक कामका लागि विदेशबाट कामदार महामारीका कारण ल्याउन नसक्दा थपिएको अन्तिम मितिमा पनि सम्पन्न हुन नसक्ने अवस्था आएको बताए । अधिकारीका अनुसार विमानस्थलको भौतिक काम ९७ प्रतिशत सकिएको छ । भौतिक निर्माण करीब सकिँदा विमानस्थल चिटिक्क र आकर्षक देखिएको छ ।
शुरूमा सन् २०१७ डिसेम्बर ३१ सम्म सम्पन्न गर्नुपर्ने गरी ठेकेदार कम्पनीसँग सहमति भएको थियो । तर, म्याद थप गर्दै जाँदा सन् २०२२ सम्म पुग्ने आशंका पैदा भएको छ । अब म्याद थप गर्दा ६ पटक थप हुनेछ ।
‘महामारीले ‘क्यालिब्रेसन फ्लाइट’ का लागि थाइल्याण्डबाट जहाज र प्राविधिक आउन नसक्दा परीक्षणको काम रोकियो,’ अधिकारीले लोकान्तरसँग भने, ‘विभागले कूटनीतिक पहल गर्दा पनि महामारीको डरले पहल सफल हुन सकेन् । अहिले थाइल्याण्डले आफ्नो देशमा विदेशी नागरिक आउन पनि दिएको रहेनछ । आफ्ना नागरिकलाई देशबाहिर जान पनि दिएको छैन भन्ने सन्देश आयो ।’
ग्राउण्ड जाँच भइसकेको विमानस्थलका उपकरणले काम गरेका छन् कि छैनन् भन्ने जाँदा विदेशबाट जहाज ल्याएर गर्नुपर्ने हुन्छ । त्यसका लागि थाइल्याण्डबाट टुइनटर जहाज ल्याउनुपर्छ । जहाज प्राविधिक जनशक्ति ल्याउन सकेमा डेढ/दुई महिनाभित्रै काम सम्पन्न हुने आयोजनाको भनाइ छ ।
‘वैशाखको पहिलो सातामा मौसम, सञ्चार र विमानको दिशा पत्ता लगाउने सम्बन्धी महत्त्वपूर्ण उपकरण जडान भएका छन् । ती जडान गरिएका उपकरण ठीक भए/नभएको र सही काम गरे/नगरेको बारे विशेष विमान ल्याएर परीक्षण उडान गर्ने अवस्था हुन्छ । त्यो विमान भनेका थाइल्याण्डबाट ल्याउनुर्छ,’ अधिकारीले थपे ।
अहिले टर्मिनल भवनमा केही उपकरण जडान र फिनिसिङको काम मात्र बाँकी छ । विभिन्न झण्झट र व्यवधानकाबीच बनेको विमानस्थललाई लुम्बिनी प्रदेशको विकासको मूल ढोकाका रूपमा हेरिएको छ । राष्ट्रिय गौरवको आयोजना विमानस्थल झण्डै ८ वर्षको अवधिमा भौतिक संरचना निर्माण करीब सकिए पनि कोरोनाले विदेशबाट प्राविधिक ल्याउन समस्या हुँदा अहिलेको अवस्था सिर्जना भएको देखिन्छ ।
विमानस्थल निर्माणमा कार्यरत चिनिया“ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले म्याद थपका लागि निवेदन दिइसकेको छ । आयोजना स्थलमा अहिले पनि नेपाली, भारतीय र चिनियाँ गरी १०० जनाभन्दा बढी कामदारले काम गरिरहका छन् ।

२०७१ माघ १ गते तत्कालीन प्रधानमन्त्री स्व. सुशील कोइराला विमानस्थलको शिलान्यास गरेका थिए । विमानस्थलले लुम्बिनी प्रदेशको विकासको ढोका खोल्ने आशा गरिएको छ । आयोजनाका अनुसार विमानस्थल दुई चरणमा निर्माण भइरहेको छ । आईसीपी १ र आईसीपी २ गरी विमानस्थलको काम भएको हो ।
विमानस्थल २०७२ को भूकम्प र मधेश आन्दोलनको अवरोध, नदीजन्य पदार्थको समस्याले विभिन्न अल्झन झेल्दै अन्तिम चरणमा आइपुगेको हो । सम्झौता अनुसार समयमै काम सम्पन्न भएको भए यतिबेला १६ आन्तरिक र ६ वटा अन्तर्राष्ट्रिय विमानबाट रूपन्देहीमा दैनिक हजारौं पर्यटक झर्नसक्ने अवस्था हुन्थ्यो ।
एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा शुरू भएको विमानस्थल निर्माण कार्य चिनिया“ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सनले ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २७ रुपैया“मा सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो । एसियाली विकास बैंक (एडिबी) ले ४०.५ प्रतिशत ऋण र १८ प्रतिशत अनुदान उपलब्ध गराएको छ ।
त्यस्तै ओपेक फन्ड फर इन्टरनेसनल डेभलपमेन्ट्सको ३०.५ प्रतिशत ऋण र नेपाल नागरिक उड्ययन प्राधिकरणको ११ प्रतिशत लगानी रहेको छ ।
विमानस्थल निर्माण सम्पन्न भएपछि वार्षिक ६० लाख यात्रु व्यवस्थापन गर्न सक्ने अपेक्षा गरिएको छ । विमानस्थल सञ्चालनपछि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समस्या आउँदा अन्य देशका विमानस्थलमा डाइभर्ट गर्नुपर्ने बाध्यता हट्ने छ । पर्यटन व्यवसायी गोपाल रानाले विमानस्थल छिटो सञ्चालनमा आए कोरोनाले थला परेको पर्यटन क्षेत्रले केही भए पनि राहत महशुस गर्ने अवस्था आउने बताए ।
कूल ७८७ विघा क्षेत्रफलमा निर्माण भइरहेको विमानस्थल काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा ठूलो छ । जहाँ तीन किलोमिटर लामो धावनमार्ग बनेको छ ।
विमानस्थलमा बोइङ ७७७–२००, एयरबस ३३०–३०० र सोही क्षमताका विमान उडान तथा अवतरण गर्न सक्नेछन् ।
विमानस्थलको उडानका लागि अहिलेसम्म रुट परमिट पाइसकेको छैन । विमानस्थल भारतसँगको सीमानाबाट झण्डै ३ किलोमिटरको दूरीमा छ ।'