०८ असार २०८३, सोमबार
रंगशालामा अर्जुनदृष्टि

धुर्मुसको लकडाउन डायरीः दिनभर निर्माणाधीन रंगशालामा १०३ जनासँगै काम, राति मात्रै विश्राम !

धुर्मुसको लकडाउन डायरीः दिनभर निर्माणाधीन रंगशालामा १०३ जनासँगै काम, राति मात्रै विश्राम !

कोरोना महामारीको दोस्रो लहर बढेसँगै जारी निषेधाज्ञा अवधिमा हामी महामारीमा सहयात्री पनि बन्यौं । राहतका केही कार्यक्रममा हामी सहभागी भयौं । कतिपय अस्पतालमा हामीले अक्सिजन कन्सन्ट्रेटर तथा अन्य आवश्यक स्वास्थ्य सामग्रीहरू वितरण गर्ने काम गर्‍यौं । 

यसबाहेक अहिले म तथा मेरो परिवार रंगशाला निर्माणको काममा नै व्यस्त छौं । निषेधाज्ञाबीच पनि हामीले रंगशाला निर्माणका काम रोकेका छैनौं, यसमै व्यस्त छौं ।

बुवाआमा, भाइबहिनीहरू काठमाडौंमा हुनुहुन्छ भने परिवारका म, कुञ्जना र छोरीसहित मजदुरहरू गरी १०३ जना रंगशालामा नै बसेका छौं ।

कोरोना महामारीलाई मध्यनजर गर्दै अहिले हामीले बाहिरका मानिसलाई रंगशालामा प्रवेश निषेध गरेका छौं । हामी यहाँ भित्रका पनि सुरक्षाका उपायहरू अवलम्बन गरिरहेका छौं, सकेसम्म बाहिर निस्किएका छैनौं ।

रंगशाला निर्माणलाई अहिले त्यति स्पीडमा लैजान सकेका छैनौं । आर्थिक समस्या झेलिरहेका छौं । यद्यपि यसलाई कसरी हुन्छ, व्यवस्थापन गरेर अगाडि बढिरहेका छौं ।

निषेधाज्ञाको समयमा सबैलाई फुर्सद मिल्छ तर म भने रंगशालाको कामले बिहानदेखि साँझसम्म व्यस्त नै हुन्छु । 

अहिले अन्तर्राष्ट्रिय खेल मैदानमा काम गरिरहेका छौं । जसमध्ये ६० प्रतिशत काम सकिएको छ भने ४० प्रतिशत बाँकी छ । अहिले टावर वानमा ढलानको काम भइरहेको छ, त्यसकारण फुर्सद भन्ने नै महसूस भएको छैन ।

गत वर्ष छोरी छाडेर हामी निषेधाज्ञामा पनि रंगशालामा नै बस्यौं । यस पटक भने हामीसँगै जाऔं भनेर नै छोरीलाई यतै (चितवन) ल्याएका थियौं । त्यसको केही दिनमै निषेधाज्ञा घोषणा भयो । हामी परिवार एकै ठाउँमा भए पनि म अधिकांश समय फिल्डमै हुन्छु । साँझ–बिहानको थोरै समय भने परिवारसँग हुन्छु ।

बिहान हामीले नियमित शारिरिक अभ्यास गर्छौं । अरू स्टाफहरूको साथमा दौडिने, योगाभ्यास गर्ने जस्ता काम गर्छाैं । यहाँ नियमित परेड गरिन्छ र साथमा बिहान ६ बजे राष्ट्रिय गान गाएर मात्रै काम शुरू गरिन्छ । हामी साँझ करीब ९ बजेसम्म फिल्डमै हुन्छौं ।

पहिला–पहिला म समय निकालेर खानाका परिकारहरू बनाउँथें । विशेषगरी मासु म मिठो पकाउँछु तर अहिले रंगशालाको कामले नै पछिल्लो समय त्यो अवसर जुरेको छैन ।

मेरो स्वभाव जे काममा हात हाल्यो, त्यसलाई पूरा गरेरै छाड्ने भन्ने छ । त्यसकारण मैले अहिलेको अवस्थामा परिवारतिर वा रमाइलोतिर ध्यान दिनै सकेको छैन । अहिले छोरी पनि साथमा भएपछि कुञ्जनाले नै पकाउँछिन् । उनले पकाएको चाहिँ मैले खान्छु ।

हामीले साँझ एक समय सबै साथीहरूले नमूना क्रिकेट खेल मैदानमा पनि क्रिकेट खेल्यौं । साँझ सुत्नुभन्दा अगाडि एकछिन सामाजिक सञ्जाल सरर हेर्ने गरेको छु । म आवश्यकता अनुसारको मात्रै स्टाटसहरू सामाजिक सञ्जालमा राख्छु । यो धेरै चलाए ध्यानभंग हुनसक्छ भने अन्य कुराहरूमा चिन्ता बढ्न थाल्छ । त्यसैले म यसलाई धेरै समय प्रयोग गर्दिनँ । 

अहिलेको कोरोना महामारीको समयमा म घर परिवारबाट अलग नै छु । पारिवारिक रूपमा एकैठाउँमा भएको भए कस्तो रमाइलो हुन्थ्यो । घरमा बुवाआमा, हजुरआमा हुनुहुन्छ । अहिले हजुरआमा बिरामी हुनुहुन्छ । यस्तो अवस्थामा म उहाँसँग रहन पाएको भए उहाँ कति खुशी हुनुहुन्थ्यो । म घरको जेठो छोरा भएकाले पनि हजुरआमाले आफ्नो छोरालाई भन्दा म नातिलाई धेरै माया गर्नुहुन्थ्यो । उहाँ बिरामी हुँदा पनि हामी साथमा छैनौं । परियोजना बनोस् भनेर हामी उहाँहरूबाट टाढा छौं अनि मन अलि पिरोलिन्छ । कतिपय अवस्थामा ‘फील’ हुन्छ । भगवान्सँग कामना गर्दै, कसैलाई केही नहोस् भन्ने कामना गर्दै काम गरिरहेका छौं । 

अन्त्यमा, मानिसको जिन्दगी केही पनि रहेनछ । अहिले राष्ट्रिय एकता मुख्य खाँचो हो । समाज–समाजमा हाम्रो मेलमिलाप थिएन, मानवता पनि हराउँदै गएको हो कि जस्तो लाग्ने अवस्था थियो । परिवारमा मेलमिलाप थिएन । त्यसकारण कोरोना महामारीले प्रकृतिको दोहन गर्न नहुने रहेछ भन्ने सिकाएको छ ।

जुनसुकै बेला जे पनि हुन सक्ने भएकाले सबै जना मिलौं, सद्भाव, सहयोग र प्रेम बाँडौं भन्ने नै महामारीले सिकाएको छ । 

(चर्चित हास्य कलाकार एवं सामाजिक अभियान्ता सिताराम कट्टेल ‘धुर्मुस’सँग लकडाउन डायरीका लागि लोकान्तरकर्मी परिवर्तन देवकोटाले गरेको कुराकानीमा आधारित)

पढ्नुहोस्, यसअघिका भागहरू :

राष्ट्रिय वाणिज्य बैंकका सीईओको लकडाउन डायरी: जब एकपछि अर्को गरी परिवारका सबैलाई संक्रमण भयो...

रुपेश पाण्डेयको ‘लकडाउन डायरी’ : गणेश पूजा नगरी पानी समेत खान्नन्, फुर्सद हुँदा किचनमा सहयोग
पवन गोल्यानको लकडाउन डायरी– 'अघिल्लोपटक त खुबै खाना बनाएँ, यसपालि अलि भ्याएको छैन'
बैंकर्स एसोसिएसनका अध्यक्षको लकडाउन डायरी– ‘घरभित्रै पनि इन्टरनेटको सहायतामा कुरा गर्नुपर्‍यो’
विमल केडियाको लकडाउन डायरी: घरमा बस्दा फुर्सद हुन्छ भन्छन्, तर मैले त समय नै पाएको छैन !
दीपक मलहोत्राको लकडाउन डायरी : बिहान-बेलुका २ घन्टा एक्सरसाइज, नातिनातिनीसँग हाँसखेल !
चन्द्र ढकालको लकडाउन डायरी– परिवारसँग हाँसखेल, अनलाइन मीटिङ र व्यावसायिक पुस्तकमा बित्छ दिन
सतिशकुमार मोरको लकडाउन डायरी– घरमै बसे पनि व्यस्तता उस्तै, फुर्सद मिल्दा नातिसँग भुल्छन्

salt training

कमेन्ट गर्नुहोस्