
नेकपा एमालेको आइतवारसम्म आन्तरिक विवाद समाधानको अन्तिम प्रयास गर्ने भएको छ ।
एमालेको आज दिउँसो ३ बजेका लागि बोलाएको बैठक विवाद समाधानको अन्तिम प्रयासका लागि भनेर आइतवार दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको छ ।
बैठक बोलाइएको स्थान ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा पुगेका एमाले ओली पक्षका स्थायी कमिटी सदस्यहरूले बैठकलाई सामान्य औपचारिकता मात्रै दिएर स्थगित गरेका छन् ।
बैठक सुरू हुनासाथ स्थायी समिति सदस्य सुवास नेम्वाङले माधव नेपाल पक्षका कार्यदलका सदस्यहरूले माधव नेपाललाई मनाउन समय मागेको र बैठक स्थगित गर्न माग गरेको जानकारी गराएका थिए ।
नेम्वाङले उक्त जानकारी गराएपछि बैठक आजको लागि स्थगित गर्ने निर्णय गरिएको स्थायी समिति सदस्य विष्णु रिमालले जानकारी दिए ।
ओली पक्षको स्थायी कमिटी बैठक बस्नुअघि विघटित कार्यदलका सदस्यहरूले सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा अनौपचारिक छलफल गरेका थिए ।
आइतवारसम्म पनि माधव नेपाल सहमतिमा नआए अब उनलाई पर्खेर नबस्ने निष्कर्षमा ओली पक्षका नेताहरू पुगेका छन् ।
यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीले विवाद समाधानका लागि आफू लचक भएको र शुक्रवारसम्म विवाद समाधानको विकल्प ल्याउन विघटित कार्यदलका सदस्यहरूलाई ओलीले आग्रह गरेका थिए ।
त्यसैका लागि नेता सुवास नेम्वाङ र विष्णु पौडेलले माधव नेपालसँग छुट्टाछुट्टै छलफल गरेका थिए । माधव नेपाल समूहकै कार्यदलका सदस्यहरूले पनि उनलाई दोस्रो अध्यक्ष मान्न तयार हुन आग्रह गरेका थिए । तर, नेपालले भने आफू ओलीपछिको दोस्रो अध्यक्ष नहुने जवाफ नेताहरूलाई दिएका छन् ।
यता ओलीले भने आज काठमाडाैं जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै माधव नेपाल जस्तो आन्दोलन विरोधी र देशद्रोहीलाई एमालेमा ठाउँ दिन नसकिनेअभिव्यक्ति दिएका छन् ।
आजै अखिल फोर्सलाई सम्बोधन गर्दै माधव नेपालले पनि फेरि प्रधानमन्त्री हुने आशामा कुनै पनि जालझेल गरिए सह्य नहुने चेतावनीओलीलाई दिएका छन् ।
समाधान उन्मुख भएको भनिएको एमालेको आन्तरिक विवाद अब भने झन् कचल्टिएको छ ।