
भारतीय नेताहरूले आफ्नो देशलाई विश्वगुरु बनाउन चाहेको भनी पटकपटक अभिव्यक्ति दिए पनि विश्व राजनीतिमा भारतको स्थान कमजोर छ । यस विषयमा धारिलो विश्लेषणसहित केही महिनाअघि एउटा पुस्तक प्रकाशन गरिएको छ ।
परराष्ट्र मामिलामा कलम चलाइरहेका भारतीय युवा विश्लेषक मोहम्मद जीशानको पुस्तक ‘फ्लाइङ ब्लाइन्ड : इन्डियाज क्वेस्ट फर ग्लोबल लीडरशिप’मा भारत किन विश्वशक्ति बन्न सकेन भन्ने विषयको शल्यक्रिया गरिएको छ । जम्मा २७२ पृष्ठको सानो तर सशक्त यस पुस्तकमा भारतका परराष्ट्रनीति कार्यान्वयनका कमजोरीलाई मज्जैले चर्चा गरिएको छ र के गर्न सकिन्छ भनी सुझाव पनि दिइएको छ ।
भारत विश्वशक्ति नभई क्षेत्रीय शक्ति मात्र भएको तथ्यलाई विभिन्ने सर्वेक्षणहरूले देखाएको जीशान बताउँछन् । सन् २०१८ मा प्यु ग्लोबल एटिट्युड्स सर्भेमा भारत विश्वको महत्त्वपूर्ण देश हो कि हैन भनी संसारका २७ मुलुकमा सर्वेक्षण गरिएको थियो । भारतमा बाहेक अन्य कुनै देशमा भारत महत्त्वपूर्ण भएको कुरा सर्वेक्षणमा भाग लिएकाहरूले बताएनन् ।
त्यस्तै कुनै पनि मुलुकको शक्तिको बारेमा यथार्थ बताउने हेनली पासपोर्ट इन्डेक्स हेर्दा भारत निकै तल ९०औं स्थानमा पर्छ । विश्वका कुल ५८ देशमा मात्र भारतीय पासपोर्टले भिसा नलगाइकन प्रवेश पाउँछ । यसले पनि भारत विश्व मञ्चमा शक्तिहीन मुलुक भएको देखाउँछ ।
कुनै मुलुकले विश्व घटनालाई कति प्रभावित पार्न सक्छ भन्ने कुराबाट शक्तिको मापन गरिन्छ । त्यस प्रभावका लागि मुलुक धनी हुनुपर्छ भन्ने छैन । उदाहरणका लागि कुल गार्हस्थ्य उत्पादनको सवालमा जापान विश्वको तेस्रो ठूलो अर्थतन्त्र हो भने रुस ११औं स्थानमा छ । तर विश्व राजनीतिमा रुसको प्रभाव जापानको भन्दा निकै धेरै छ । सिरियामा गृहयुद्ध मच्चिँदा रुसले आफ्नो प्रभाव देखाउँछ, जापान परिदृश्यमै देखिँदैन ।
भारत पनि विश्वको पाँचौं अर्थतन्त्र हो तर अन्तर्राष्ट्रिय राजनीतिका घटनामा उसको हस्तक्षेपकारी भूमिका देखिँदैन (सहयोगी भूमिकासम्म होला) । यसका लागि भारतको परराष्ट्रनीतिका मूलभूत समस्याहरूतर्फ जीशानले इंगित गरेका छन् ।
पहिलो, आफ्ना छिमेकीहरूसँगको सुमधुर सम्बन्ध सुनिश्चित नगरेका कारण भारत विश्व मञ्चमा खुलेर अघि बढ्न सकेको छैन ।
दोस्रो, भारत विश्व राजनीतिको नियामक बन्न चाहन्छ तर संवेदनशील विषयमा बोल्न हिचकिचाउँछ (भारतको यस प्रवृत्तिलाई जीशानले ‘फेन्स–सिटर’ नाम दिएका छन्) । विश्वका विभिन्न संगठनमा आफ्नो लागि सीट सुरक्षित गर्न चाहिँ खोज्ने तर विश्वका अप्ठ्यारा मामिला व्यवस्थापन गर्न हिचकिचाउने भारतको स्वभावका कारण उसलाई विश्व समुदायले गम्भीर रूपमा लिने गरेको छैन ।
फेन्स–सिटिङ अर्थात् तटस्थ बस्ने भारतको नीतिका कारण सबैसँग उसको मित्रता कायम छ तर भारत यस्तो मित्र हो जसलाई कसैले महत्त्व दिँदैन । यसको उदाहरण जीशानले दिएका छन् ।
दक्षिण चीन सागरमा अन्तर्राष्ट्रिय न्यायाधिकरणले चीनविरुद्ध तथा फिलिपिन्सको समर्थनमा निर्णय दिँदा चीनले त्यसलाई मानेन । त्यो फैसला आउनुअघि जस्तो फैसला आए पनि मान्नुपर्ने भनी अमेरिकासँगको संयुक्त वक्तव्यमा भारतले बताएको थियो । तर चीनविरुद्ध फैसला आएर चीनले त्यसलाई नमान्दा आलोचना गर्न भारत हिचकिचायो ।
अनि अमेरिकाले दक्षिण चीन सागरमा भारतलाई पनि संयुक्त गश्तीका लागि सन् २०१६ मा प्रस्ताव गर्दा भारतले अस्वीकार गरिदियो । निकै पछि सन् २०१९ मा बल्ल उसले त्यसका लागि आँट गर्यो ।
यस्ता किसिमका कार्यले गर्दा भारतलाई शक्ति मान्न विश्व समुदाय अनिच्छुक रहेको देखिन्छ ।
जीशानले संकेत गरेको अर्को भारतीय कमजोरी छिमेक व्यवस्थापन हो । जीशानका अनुसार, चाणक्यको मण्डल सिद्धान्तलाई भारतले परराष्ट्रनीतिका रूपमा अपनाइरहेकाले समस्या आएको हो । मण्डल सिद्धान्तले सीमा जोडिएका छिमेकीहरू शत्रु हुन् अनि छिमेकीको छिमेकी साथी हो भन्छ ।
भारतलाई अंग्रेजहरूले उपनिवेश बनाउँदा भारतका विभिन्न टुक्रे राज्यका राजाले यही सिद्धान्त अपनाएर आफ्ना छिमेकीविरुद्ध अंग्रेजहरूलाई सहायता गरेका थिए । उपनिवेशबाट स्वतन्त्र भएपछि भारतले त्यही सिद्धान्तलाई अंगीकार गर्दै सीमा जोडिएका नेपाल लगायत सबै दक्षिण एसियाली मुलुकलाई शंकाको दृष्टिले हेर्ने गरेकाले समस्या भएको हो ।
त्यसैले त दक्षिण एसियाली सहयोग संगठन सार्क बनाउनका लागि बंगलादेशले प्रस्ताव गर्दा भारतले आरम्भमा अनिच्छुकता देखाएको थियो । अनि पाकिस्तानसँगको निरन्तर वैमनस्य तथा भारतको आफ्नै अनिच्छाका कारण सार्क अहिले मृतप्रायः बनेको छ ।
नयाँ दिल्लीले सबै छिमेकी मुलुकलाई शंकाको नजरले हेर्ने तथा यी देशहरू आफ्नो सुरक्षाका लागि जोखिम भएको ठान्ने गर्दा समस्या आएको हो । अनि साना मुलुकहरूलाई आफूले सहयोग गरे पनि कृतज्ञता नदेखाउने गरेको गुनासो पनि भारतले गर्ने गरेको जीशान लेख्छन् । भारतलाई सन्तुलनमा राख्न दक्षिण एसियाली मुलुकले चीनलाई किन गुहार्नुपरेको हो भन्ने सोच नयाँ दिल्लीले राख्ने गरेको छ ।
तर भारतले दक्षिण एसियाका अन्य मुलुक आफ्नै स्तरका शक्ति हुन् भन्ठान्नु नै भूल भएको जीशानको टिप्पणी छ । भारतका दक्षिण एसियाली छिमेकीहरूको अर्थतन्त्र, जनसंख्या, भूमि र सैन्यशक्ति भारतको तुलनामा कमजोर छ । भारतले नेपाल लगायतका छिमेकीसँग विनिमयात्मक (ट्रान्ज्याक्सनल) सम्बन्ध राख्न खोज्नु यथार्थवादी सोच हैन ।
आफूभन्दा साना मुलुकलाई आफूअनुकूल राख्नका लागि भारतले विशाल हृदय देखाउनुपर्छ । आफूले बढी दिने अनि कम अपेक्षा गर्ने गरे मात्र भारतले छिमेकीको विश्वास जित्न सक्छ भन्ने जीशानको दाबीमा दम देखिन्छ ।
पुस्तकमा नेपालका प्रसंग पनि फाट्टफुट्ट आएका छन् । नेपालको बाटो हुँदै भारतमा नक्कली भारु पुग्ने गरेको कुरालाई जीशानले पटकपटक उठाएका छन् ।
नेपालसँग भारतले गरेको शान्ति तथा मैत्री सन्धिलाई जीशानले खराब कूटनीति भनेका छन् । त्यसलाई संशोधन गर्नका लागि प्रबुद्ध समूहमार्फत नेपालले गरेको आग्रहप्रति भारत उदासीन रहिआएको छ ।
चीनले यस क्षेत्रमा व्यापक पैसा खन्याइरहेको सन्दर्भमा नेपाल जस्ता साना छिमेकीप्रति भारत अहिलेको भन्दा बढी उदार हुनुपर्छ र नेपालको सार्वभौमसत्तालाई आदर गर्नुपर्छ भन्ने जीशानको कथन स्वागतयोग्य छ ।
नेपाल र भुटानको सीमा भारत र चीन दुवैसँग जोडिएकाले हिमालय क्षेत्रमा चीनको गतिविधि बढ्दा भारतले यी साना मुलुकप्रति शंकाको दृष्टिकोण राख्नु गलत भएको जीशान लेख्छन् । पोहोर साल कालापानीको प्रसंग उठ्दा भारतका सेनाप्रमुख मनोज मुकुन्द नरवणेले चीनको उक्साहटमा नेपालले विषय उठाएको भनी दिएको अमर्यादित बयानले नेपालको सार्वभौमसत्ताको अपमान गरेको उदाहरण जीशानले दिएका छन् ।
अनि नेपालको संविधान जारी हुँदा भारतले असन्तुष्टि जनाएर गरेको नाकाबन्दीका कारण नेपालले चीनसँग ऐतिहासिक व्यापार तथा पारवहन सन्धि गरेको तथ्यले पनि भारतको परराष्ट्रनीतिको कमजोरीलाई उजागर गरेकै हो ।
चीनसम्बन्धी चर्चा गरिएको अध्यायमा जीशानले दक्षिण एसियामा चीनको प्रभाव बढ्यो भनेर भारतले गुनासो गर्नु बेकार छ भनेका छन् । चीनको जस्तो शक्ति बनेर विकासका परियोजना तथा व्यापार फैलाएमा भारतलाई अरू मुलुकले महत्त्व दिन्छन् । नत्र आफू पनि केही गर्न नसक्ने, चीनले गरेको पनि देखिनसहने हो भने भारत सधैं कमजोर रहिरहने जीशानले संकेत गरेका छन् ।
पुस्तकमा अमेरिकासँग भारतले राख्नुपर्ने सम्बन्धका विषयमा पनि विस्तृत चर्चा गरिएको छ । अमेरिकाको सैन्य साझेदार बन्दा भारतका लागि अनेकौं समस्याहरू आइलाग्ने भएकाले भारत त्यसमा इच्छुक नहोला भन्ने जीशानको आकलन छ । तर अमेरिकासँग चारवटा फाउन्डेसन अग्रीमेन्ट गरेर भारत अमेरिकाको सैन्य साझेदार बन्ने दिशामा अघि बढिसकेको अवस्था छ ।
भारत विश्वशक्ति बन्नका लागि शुरूमा त अर्थतन्त्र मजबूत बनाउनुपर्ने, राज्यका निकायलाई चुस्तदुरुस्त बनाउनुपर्ने अनि बहुसांस्कृतिक लोकतन्त्रलाई सबल बनाउनुपर्ने जीशानको निष्कर्ष छ । त्यसपछि अन्तर्राष्ट्रिय सुरक्षाका मामिलामा भारत थप सक्रिय बन्नुपर्ने उनी सुझाव दिन्छन् । द्वन्द्वोत्तर कमजोर राज्यहरूमा राष्ट्रनिर्माणका लागि पनि भारतको सक्रियता देखिनुपर्ने जीशान बताउँछन् ।
तर भविष्यद्रष्टा नीतिनिर्माता भन्दा पनि जागिरे मानसिकताका कर्मचारीले सञ्चालन गरेको परराष्ट्रनीतिका कारण भारतले अपेक्षित सफलता पाउने देखिएको छैन । भारतको वर्तमान नेतृत्वले पनि विश्वव्यापीकरणतर्फका कतिपय कदम (जस्तो, आरसीईपी) नचालेको अवस्थामा विश्व समुदायको विश्वास जित्न गाह्रो देखिन्छ । अनि छिमेकीहरूसँगको सम्बन्धमा सौहार्द्रता नल्याउन्जेलसम्म भारत विश्वशक्ति बन्न सक्दैन ।