माघ २, २०८०
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
भदौ १०, २०७८
भारतीय नेताहरूले आफ्नो देशलाई विश्वगुरु बनाउन चाहेको भनी पटकपटक अभिव्यक्ति दिए पनि विश्व राजनीतिमा भारतको स्थान कमजोर छ । यस विषयमा धारिलो विश्लेषणसहित केही महिनाअघि एउटा पुस्तक प्रकाशन गरिएको छ ।
परराष्ट्र मामिलामा कलम चलाइरहेका भारतीय युवा विश्लेषक मोहम्मद जीशानको पुस्तक ‘फ्लाइङ ब्लाइन्ड : इन्डियाज क्वेस्ट फर ग्लोबल लीडरशिप’मा भारत किन विश्वशक्ति बन्न सकेन भन्ने विषयको शल्यक्रिया गरिएको छ । जम्मा २७२ पृष्ठको सानो तर सशक्त यस पुस्तकमा भारतका परराष्ट्रनीति कार्यान्वयनका कमजोरीलाई मज्जैले चर्चा गरिएको छ र के गर्न सकिन्छ भनी सुझाव पनि दिइएको छ ।
भारत विश्वशक्ति नभई क्षेत्रीय शक्ति मात्र भएको तथ्यलाई विभिन्ने सर्वेक्षणहरूले देखाएको जीशान बताउँछन् । सन् २०१८ मा प्यु ग्लोबल एटिट्युड्स सर्भेमा भारत विश्वको महत्त्वपूर्ण देश हो कि हैन भनी संसारका २७ मुलुकमा सर्वेक्षण गरिएको थियो । भारतमा बाहेक अन्य कुनै देशमा भारत महत्त्वपूर्ण भएको कुरा सर्वेक्षणमा भाग लिएकाहरूले बताएनन् ।
त्यस्तै कुनै पनि मुलुकको शक्तिको बारेमा यथार्थ बताउने हेनली पासपोर्ट इन्डेक्स हेर्दा भारत निकै तल ९०औं स्थानमा पर्छ । विश्वका कुल ५८ देशमा मात्र भारतीय पासपोर्टले भिसा नलगाइकन प्रवेश पाउँछ । यसले पनि भारत विश्व मञ्चमा शक्तिहीन मुलुक भएको देखाउँछ ।
कुनै मुलुकले विश्व घटनालाई कति प्रभावित पार्न सक्छ भन्ने कुराबाट शक्तिको मापन गरिन्छ । त्यस प्रभावका लागि मुलुक धनी हुनुपर्छ भन्ने छैन । उदाहरणका लागि कुल गार्हस्थ्य उत्पादनको सवालमा जापान विश्वको तेस्रो ठूलो अर्थतन्त्र हो भने रुस ११औं स्थानमा छ । तर विश्व राजनीतिमा रुसको प्रभाव जापानको भन्दा निकै धेरै छ । सिरियामा गृहयुद्ध मच्चिँदा रुसले आफ्नो प्रभाव देखाउँछ, जापान परिदृश्यमै देखिँदैन ।
भारत पनि विश्वको पाँचौं अर्थतन्त्र हो तर अन्तर्राष्ट्रिय राजनीतिका घटनामा उसको हस्तक्षेपकारी भूमिका देखिँदैन (सहयोगी भूमिकासम्म होला) । यसका लागि भारतको परराष्ट्रनीतिका मूलभूत समस्याहरूतर्फ जीशानले इंगित गरेका छन् ।
पहिलो, आफ्ना छिमेकीहरूसँगको सुमधुर सम्बन्ध सुनिश्चित नगरेका कारण भारत विश्व मञ्चमा खुलेर अघि बढ्न सकेको छैन ।
दोस्रो, भारत विश्व राजनीतिको नियामक बन्न चाहन्छ तर संवेदनशील विषयमा बोल्न हिचकिचाउँछ (भारतको यस प्रवृत्तिलाई जीशानले ‘फेन्स–सिटर’ नाम दिएका छन्) । विश्वका विभिन्न संगठनमा आफ्नो लागि सीट सुरक्षित गर्न चाहिँ खोज्ने तर विश्वका अप्ठ्यारा मामिला व्यवस्थापन गर्न हिचकिचाउने भारतको स्वभावका कारण उसलाई विश्व समुदायले गम्भीर रूपमा लिने गरेको छैन ।
फेन्स–सिटिङ अर्थात् तटस्थ बस्ने भारतको नीतिका कारण सबैसँग उसको मित्रता कायम छ तर भारत यस्तो मित्र हो जसलाई कसैले महत्त्व दिँदैन । यसको उदाहरण जीशानले दिएका छन् ।
दक्षिण चीन सागरमा अन्तर्राष्ट्रिय न्यायाधिकरणले चीनविरुद्ध तथा फिलिपिन्सको समर्थनमा निर्णय दिँदा चीनले त्यसलाई मानेन । त्यो फैसला आउनुअघि जस्तो फैसला आए पनि मान्नुपर्ने भनी अमेरिकासँगको संयुक्त वक्तव्यमा भारतले बताएको थियो । तर चीनविरुद्ध फैसला आएर चीनले त्यसलाई नमान्दा आलोचना गर्न भारत हिचकिचायो ।
अनि अमेरिकाले दक्षिण चीन सागरमा भारतलाई पनि संयुक्त गश्तीका लागि सन् २०१६ मा प्रस्ताव गर्दा भारतले अस्वीकार गरिदियो । निकै पछि सन् २०१९ मा बल्ल उसले त्यसका लागि आँट गर्यो ।
यस्ता किसिमका कार्यले गर्दा भारतलाई शक्ति मान्न विश्व समुदाय अनिच्छुक रहेको देखिन्छ ।
जीशानले संकेत गरेको अर्को भारतीय कमजोरी छिमेक व्यवस्थापन हो । जीशानका अनुसार, चाणक्यको मण्डल सिद्धान्तलाई भारतले परराष्ट्रनीतिका रूपमा अपनाइरहेकाले समस्या आएको हो । मण्डल सिद्धान्तले सीमा जोडिएका छिमेकीहरू शत्रु हुन् अनि छिमेकीको छिमेकी साथी हो भन्छ ।
भारतलाई अंग्रेजहरूले उपनिवेश बनाउँदा भारतका विभिन्न टुक्रे राज्यका राजाले यही सिद्धान्त अपनाएर आफ्ना छिमेकीविरुद्ध अंग्रेजहरूलाई सहायता गरेका थिए । उपनिवेशबाट स्वतन्त्र भएपछि भारतले त्यही सिद्धान्तलाई अंगीकार गर्दै सीमा जोडिएका नेपाल लगायत सबै दक्षिण एसियाली मुलुकलाई शंकाको दृष्टिले हेर्ने गरेकाले समस्या भएको हो ।
त्यसैले त दक्षिण एसियाली सहयोग संगठन सार्क बनाउनका लागि बंगलादेशले प्रस्ताव गर्दा भारतले आरम्भमा अनिच्छुकता देखाएको थियो । अनि पाकिस्तानसँगको निरन्तर वैमनस्य तथा भारतको आफ्नै अनिच्छाका कारण सार्क अहिले मृतप्रायः बनेको छ ।
नयाँ दिल्लीले सबै छिमेकी मुलुकलाई शंकाको नजरले हेर्ने तथा यी देशहरू आफ्नो सुरक्षाका लागि जोखिम भएको ठान्ने गर्दा समस्या आएको हो । अनि साना मुलुकहरूलाई आफूले सहयोग गरे पनि कृतज्ञता नदेखाउने गरेको गुनासो पनि भारतले गर्ने गरेको जीशान लेख्छन् । भारतलाई सन्तुलनमा राख्न दक्षिण एसियाली मुलुकले चीनलाई किन गुहार्नुपरेको हो भन्ने सोच नयाँ दिल्लीले राख्ने गरेको छ ।
तर भारतले दक्षिण एसियाका अन्य मुलुक आफ्नै स्तरका शक्ति हुन् भन्ठान्नु नै भूल भएको जीशानको टिप्पणी छ । भारतका दक्षिण एसियाली छिमेकीहरूको अर्थतन्त्र, जनसंख्या, भूमि र सैन्यशक्ति भारतको तुलनामा कमजोर छ । भारतले नेपाल लगायतका छिमेकीसँग विनिमयात्मक (ट्रान्ज्याक्सनल) सम्बन्ध राख्न खोज्नु यथार्थवादी सोच हैन ।
आफूभन्दा साना मुलुकलाई आफूअनुकूल राख्नका लागि भारतले विशाल हृदय देखाउनुपर्छ । आफूले बढी दिने अनि कम अपेक्षा गर्ने गरे मात्र भारतले छिमेकीको विश्वास जित्न सक्छ भन्ने जीशानको दाबीमा दम देखिन्छ ।
पुस्तकमा नेपालका प्रसंग पनि फाट्टफुट्ट आएका छन् । नेपालको बाटो हुँदै भारतमा नक्कली भारु पुग्ने गरेको कुरालाई जीशानले पटकपटक उठाएका छन् ।
नेपालसँग भारतले गरेको शान्ति तथा मैत्री सन्धिलाई जीशानले खराब कूटनीति भनेका छन् । त्यसलाई संशोधन गर्नका लागि प्रबुद्ध समूहमार्फत नेपालले गरेको आग्रहप्रति भारत उदासीन रहिआएको छ ।
चीनले यस क्षेत्रमा व्यापक पैसा खन्याइरहेको सन्दर्भमा नेपाल जस्ता साना छिमेकीप्रति भारत अहिलेको भन्दा बढी उदार हुनुपर्छ र नेपालको सार्वभौमसत्तालाई आदर गर्नुपर्छ भन्ने जीशानको कथन स्वागतयोग्य छ ।
नेपाल र भुटानको सीमा भारत र चीन दुवैसँग जोडिएकाले हिमालय क्षेत्रमा चीनको गतिविधि बढ्दा भारतले यी साना मुलुकप्रति शंकाको दृष्टिकोण राख्नु गलत भएको जीशान लेख्छन् । पोहोर साल कालापानीको प्रसंग उठ्दा भारतका सेनाप्रमुख मनोज मुकुन्द नरवणेले चीनको उक्साहटमा नेपालले विषय उठाएको भनी दिएको अमर्यादित बयानले नेपालको सार्वभौमसत्ताको अपमान गरेको उदाहरण जीशानले दिएका छन् ।
अनि नेपालको संविधान जारी हुँदा भारतले असन्तुष्टि जनाएर गरेको नाकाबन्दीका कारण नेपालले चीनसँग ऐतिहासिक व्यापार तथा पारवहन सन्धि गरेको तथ्यले पनि भारतको परराष्ट्रनीतिको कमजोरीलाई उजागर गरेकै हो ।
चीनसम्बन्धी चर्चा गरिएको अध्यायमा जीशानले दक्षिण एसियामा चीनको प्रभाव बढ्यो भनेर भारतले गुनासो गर्नु बेकार छ भनेका छन् । चीनको जस्तो शक्ति बनेर विकासका परियोजना तथा व्यापार फैलाएमा भारतलाई अरू मुलुकले महत्त्व दिन्छन् । नत्र आफू पनि केही गर्न नसक्ने, चीनले गरेको पनि देखिनसहने हो भने भारत सधैं कमजोर रहिरहने जीशानले संकेत गरेका छन् ।
पुस्तकमा अमेरिकासँग भारतले राख्नुपर्ने सम्बन्धका विषयमा पनि विस्तृत चर्चा गरिएको छ । अमेरिकाको सैन्य साझेदार बन्दा भारतका लागि अनेकौं समस्याहरू आइलाग्ने भएकाले भारत त्यसमा इच्छुक नहोला भन्ने जीशानको आकलन छ । तर अमेरिकासँग चारवटा फाउन्डेसन अग्रीमेन्ट गरेर भारत अमेरिकाको सैन्य साझेदार बन्ने दिशामा अघि बढिसकेको अवस्था छ ।
भारत विश्वशक्ति बन्नका लागि शुरूमा त अर्थतन्त्र मजबूत बनाउनुपर्ने, राज्यका निकायलाई चुस्तदुरुस्त बनाउनुपर्ने अनि बहुसांस्कृतिक लोकतन्त्रलाई सबल बनाउनुपर्ने जीशानको निष्कर्ष छ । त्यसपछि अन्तर्राष्ट्रिय सुरक्षाका मामिलामा भारत थप सक्रिय बन्नुपर्ने उनी सुझाव दिन्छन् । द्वन्द्वोत्तर कमजोर राज्यहरूमा राष्ट्रनिर्माणका लागि पनि भारतको सक्रियता देखिनुपर्ने जीशान बताउँछन् ।
तर भविष्यद्रष्टा नीतिनिर्माता भन्दा पनि जागिरे मानसिकताका कर्मचारीले सञ्चालन गरेको परराष्ट्रनीतिका कारण भारतले अपेक्षित सफलता पाउने देखिएको छैन । भारतको वर्तमान नेतृत्वले पनि विश्वव्यापीकरणतर्फका कतिपय कदम (जस्तो, आरसीईपी) नचालेको अवस्थामा विश्व समुदायको विश्वास जित्न गाह्रो देखिन्छ । अनि छिमेकीहरूसँगको सम्बन्धमा सौहार्द्रता नल्याउन्जेलसम्म भारत विश्वशक्ति बन्न सक्दैन ।
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...