जैविक विविधता संरक्षणको पहल

वातावरणीय सभ्यता सम्बन्धमा सी विचारधारा– सबै जीवहरूमा सद्भाव निर्माण गर्ने !

वातावरणीय सभ्यता सम्बन्धमा सी विचारधारा– सबै जीवहरूमा सद्भाव निर्माण गर्ने !
चीनका राष्ट्रपति सी चिनपिङ र उनकी पत्नी पङ लियुआन जिम्बाब्वेको हरारेमा रहेको एक वन्यजन्तु आरक्षको भ्रमण गर्दै, २०७२ मंसिर १६ । (सिन्ह्वा/लान होङग्वाङ)

विश्वव्यापी जैविक विविधता संरक्षणमा एक दशकमा एकपटक गरिने सर्वसम्मति जुटाउनका लागि चीनले आयोजना गरेको ऐतिहासिक समारोहमा सहभागी हुन संसारभरिका सरकार, व्यवसाय र गैरसरकारी संस्थाहरू चीन पुगेका छन् । 


Advertisement

कोप१५ भनिने जैविक विविधतासम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिका पक्षराष्ट्रहरूको सम्मेलनको १५औं बैठक चीनको दक्षिणपश्चिमी शहर कुनमिङमा असोज २५ मा शुरू भएको हो । 


Advertisement

वातावरणीय सभ्यता नामक चीनले प्रस्ताव गरेको दर्शनका विषयमा छलफलका लागि संयुक्त राष्ट्रसंघले आयोजना गरेको पहिलो विश्वव्यापी सम्मेलनले देशहरूलाई ‘पृथ्वीमा सबै जीवनका लागि साझा भविष्य निर्माण’ गर्ने साझा आधारभूमि खोज्नका लागि मञ्च उपलब्ध गराएको छ । 

प्रकृतिसँग सामञ्जस्य बनाएर बाँच्ने दृष्टिकोणलाई अंगीकार गर्दै तथा वातावरणीय सभ्यताका सम्बन्धमा राष्ट्रपति सी चिनपिङको विचारधाराको दार्शनिक संरचनाबाट निर्देशित रही चीन हरित अर्थतन्त्र निर्माणको दिशामा अघि बढेको छ । यससँगै चीनले सबै पक्षको सहभागितामा समतामूलक जैविक विविधता सुशासनलाई प्रवर्धन पनि गरिरहेको छ ।


Advertisement

प्रकृतिसँग शान्ति पुनर्बहाली गर्ने

‘हामीले आफ्नो आँखालाई झैं पर्यावरण प्रणालीहरूलाई संरक्षण गर्नेछौं र आफ्नो जीवनलाई झैं ती प्रणालीहरूलाई माया गर्नेछौं,’ सीले बताए । 

‘अण्डाका लागि कुखुरा मार्ने’ र ‘माछाका लागि ताल रित्याउने’ विकासको नमूना अन्त्य हुन लागेकोमा उनले जोड दिए । अबको भविष्य प्रकृतिको नियममा आधारित रहेको पर्यावरणमैत्री विकासले निर्देशित गर्ने पनि उनले बताए ।

त्यसका लागि इतिहासले प्रशस्त पाठ पढाएको छ । सन् १९९० को दशकमा चीनको पूर्वमा रहेको चच्याङ प्रान्तस्थित पहाडी गाउँ युसुनले चाँडो धनी बन्नका लागि खनिज स्रोतको दोहन गर्न थालेको थियो । तर त्यसले वर्षौंपछि गम्भीर प्रदूषण निम्त्यायो । 

सन् २००५ मा युसुनले चुनढुंगाका तीनवटा खानी बन्द गरी क्रमशः वातावरणीय पर्यटन तथा अन्य वातावरणमैत्री उद्योग सञ्चलान गर्न थाल्यो । 

चिनियाँ कम्युनिस्ट पार्टीको चच्याङ प्रान्तीय समितिका तत्कालीन अध्यक्ष सीले युसुनको भ्रमण गरी गाउँलेहरूलाई उनीहरूको निर्णय ‘बुद्धिमत्तापूर्ण’ रहेको बताए अनि ‘हरिया पहाड तथा नदीहरू चाँदी र सुनका पहाड’ हुन् भने ।

यो अवधारणा पछि वातावरणीय सभ्यतासम्बन्धी सी विचारधारामा समावेश गरियो र यसले चीनका अनेकौं शहर तथा गाउँलाई वातावरण संरक्षण गर्दै, हरित उद्योगको विकास गर्दै तथा जैविक विविधताको संरक्षण गर्दै उच्चस्तरीय र दिगो वृद्धिको दिशामा अघि बढ्न प्रेरित गरेको छ ।

सन् २०१५ मा जिम्बाब्वेको आधिकारिक भ्रमणका क्रममा सीले स्थानीय वन्यजन्तु आरक्षको भ्रमण गरेका थिए । त्यहाँ उनले एक टुहुरो हात्तीलाई खाना खुवाएका थिए । वन्यजन्तु संरक्षणमा चीनको प्रतिबद्धतालाई उनले दोहोर्‍याएका थिए र जिम्बाब्वेलाई उपकरण उपलब्ध गराएर तथा अनुभव बाँडेर सहयोग गर्ने प्रतिज्ञा गरेका थिए । 

विशाल पान्डाहरू जन्माउन र संरक्षित क्षेत्रहरूलाई विस्तार गर्न चीनले गरेको पहलका विषयमा सीले गरेको व्याख्याको स्मरण गर्दै आरक्षका संस्थापक रोक्सी डांकवर्ट्सले बताए, ‘उनले आफ्नै देशमा यति ठूला कदमहरू उठाउनु अत्यन्तै महत्त्वपूर्ण कुरा हो ।’

यसै वर्षको जुलाई महिनामा जंगलमा रहेका विशाल पान्डाको संख्या १८ सयभन्दा बढी रहेको र त्यसलाई ‘संकटापन्न’ बाट ‘जोखिम’ समूहमा वर्गीकरण गरिएको चिनियाँ अधिकारीहरूले घोषणा गरे । मूल भूमिमा यी भालुहरूको वासस्थानको अवस्थामा सुधार आएको कुरा यसले स्पष्ट पारेको छ ।
चीनको मध्यभागमा रहेको हुबे प्रान्तस्थित शिशोउमा रहेको एक राष्ट्रिय प्रकृति आरक्षमा डुलिरहेका मिलु मृगहरू, २०७८ जेठ ३ । (सिन्ह्वा/राव राव)

‘वातावरणीय सभ्यतामा चीनले प्रस्तुत गरेको उदाहरण, विशाल परिदृश्यलाई हेर्ने काम र विशाल परिदृश्यलाई विशेष क्षेत्रमा स्थानीय स्तरमा समुदायको सहभागितामा सम्पन्न गर्ने काम संसारले अनुसरण गर्नुपर्ने आवश्यकता छ,’ वाइल्ड फाउन्डेसनका अध्यक्ष भ्यान्स मार्टिनले बताए । 

वातावरणीय सभ्यतासम्बन्धी सी विचारधारा संसारभरि धेरै मानिसले आत्मसात गरिरहेका छन् । 

‘वातावरणीय सभ्यता रमाइलो अवधारणा हो । अनि यो किन रमाइलो छ त ? किनकि यसले समाज र प्रकृतिबीचको सम्बन्ध हेर्छ,’ जैविक विविधतासम्बन्धी महासन्धिकी कार्यकारी सचिव एलिजाबेथ मारुमा म्रेमाले बताइन् । 

यस अवधारणाले ‘विभिन्न क्षेत्र तथा विभिन्न विभागमा जैविक विविधता मूलधारको विषय भएको भनी देखाएको छ र सबै मुलुकले विश्वव्यापी जैविक विविधताको लक्ष्य हासिल गर्नका लागि पनि यो महत्त्वपूर्ण छ,’ उनले बताइन् ।

विश्वव्यापी सर्वसम्मतिका लागि प्रयास

एक महिनाअघि संयुक्त राष्ट्रसंघीय निकाय युनेस्कोले अभूतपूर्व गतिमा विश्वव्यापी जैविक विविधताको क्षति भइरहेको चेतावनी दिँदै प्रकृतिसँग मिलेर बस्नका लागि संयुक्त कार्य आवश्यक रहेको भनी आग्रह गरेको थियो । 

विश्वव्यापी सर्वसम्मति हासिल गर्न तथा प्रतिबद्धतालाई वास्तविकतामा परिणत गर्न चीनले कोभिड–१९ महामारी भए पनि कुनमिङ सम्मेलन आरम्भ गरेको छ । यसमार्फत चीनले विश्वको जैविक विविधता संरक्षणका लागि बहुपक्षीय दृष्टिकोणप्रतिको आफ्नो दृढ प्रतिबद्धताको प्रदर्शन गरेको छ । 

‘हामी सबैले थप दरिलो कार्य गर्नुपर्छ, सहभागिता तथा सहकार्यलाई बलियो बनाउनुपर्छ र विश्वव्यापी कार्बन शून्यतातर्फको नयाँ दिशामा साझा प्रगति गर्नुपर्छ,’ सीले यस वर्षको पृथ्वी दिवसमा आयोजित जलवायुसम्बन्धी शीर्ष नेताहरूको बैठकमा बताए । चीन भनेको कुरा पुर्‍याएर देखाउँछ । 

चीनको कुल जमीनी क्षेत्रफलको ४२.४ प्रतिशत भागलाई ढाक्ने थ्री–नर्थ शेल्टरबेल्ट फरेस्ट प्रोग्राम विगत चार दशकमा बनाउने क्रममा ७०.८८ लाख विन्डब्रेक रुखहरू रोपिएको छ र १ करोड हेक्टरभन्दा बढी क्षेत्रफलमा मरुभूमि बनिसकेको घाँसेमैदानलाई पुनः हराभरा बनाइएको छ ।

‘चीन सरकारले जैविक विविधताको क्षतिलाई रोक्न तथा उल्ट्याउनका लागि दीर्घकालीन उपाय अवलम्बन गरिरहेको छ । त्यसका लागि बनाइएका विभिन्न क्षेत्रका टोलीहरूले सामाजिक तथा आर्थिक जटिलतालाई सम्बोधन गर्ने उद्देश्यका साथ प्रमाणमा आधारित समाधान उपलब्ध गराउन सक्छन्,’ म्रेमाले बताइन् । 

नासाले उपलब्ध गराएको तथ्यांकअनुसार, सन् २००० देखि २०१७ सम्म विश्वव्यापी रूपमा हरित क्षेत्रमा भएको ५ प्रतिशत वृद्धिमा चीन एक्लैले कम्तीमा एक चौथाइ योगदान गरेको छ ।

चीन आफ्नो सबल विज्ञता संसारसँग साझा गर्न चाहन्छ । उसले अफ्रिकामा जंगल बढाउने अभियान ग्रेट ग्रीन वालमा सहयोगका लागि पर्यावरणविद्हरूका विभिन्न टोली पठाएको छ । चीनले ताक्लामकान मरुभूमिमा हासिल गरेको उपलब्धि सहारा मरुभूमिमा पनि हासिल गराउन सहयोग गर्दैछ । अफ्रिकाको पर्यावरणीय सुधारका लागि सन् २०१७ मा सिन्च्याङ इन्स्टिच्युट अफ इकोलोजी यान्ड जियोग्राफी र प्यान–अफ्रिकन एजेन्सी फर द ग्रेट ग्रीन वालले एक समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

बेल्ट यान्ड रोड इनिसिएटिभको वातावरणीय दिगोपनालाई अभिवृद्धि गर्नका लागि चीनले सन् २०१९ मा अन्तर्राष्ट्रिय हरित विकास गठबन्धन आरम्भ गरेको थियो । बीआरआईका प्राथमकितासँग दिगो विकासलाई एकीकरण गर्ने उद्देश्य लिएको उक्त पहलमा १३० भन्दा बढी मुलुकहरू जोडिएका छन् ।

कायरो विश्वविद्यालयमा वित्तीय तथा आर्थिक क्षेत्राधिकारका प्राध्यापक वालीद गबल्लाहले सीको दर्शन तथा चीनले वातावरणको क्षेत्रमा गरेका प्रयासबाट विश्व नै उत्प्रेरित भएको बताए । विशेषगरी बेल्ट यान्ड रोडमा पर्ने मुलुकहरू उत्प्रेरित भएका छन् किनकि चीनले उनीहरूलाई दिगो विकास लक्ष्य हासिल गर्नका लागि सहायता गरेको छ । 

‘प्रकृति तथा मानवको एकतासम्बन्धी चिनियाँ अवधारणा अन्य मुलुकले अनुसरण वा अनुकरण गर्नका लागि राम्रो उदाहरण बन्ने हाम्रो आशा छ,’ म्रेमाले भनिन् ।

अग्रगमनका ठूला पाइला

विश्व एक शताब्दीमा एकपटक देखिने गहन परिवर्तनबाट गुज्रिरहेको अवस्थामा चीनले वास्तविक हरित अर्थतन्त्रतर्फ दरिलो र प्रभावकारी पाइला चालिरहेको छ । उसले आफ्नो समग्र आर्थिक तथा सामाजिक विकास योजनामा जैविक विविधताको संरक्षणलाई समावेश गरेको छ । 

२०७८ असोज १५ गते आकाशबाट खिचिएको यस तस्वीरमा मरुभूमिमा उम्रने पीपलको जंगल देखिन्छ जुन चीनको दक्षिणपश्चिममा रहेको सिन्च्याङ उइगुर स्वायत्त क्षेत्रको यिवु काउन्टीको हामीमा पर्छ । (सिन्ह्वा/सादत)

कुनमिङ सम्मेलनले ‘२०२० पछिको विश्वव्यापी जैविक विविधता संरचना’ को समीक्षा गर्नेछ र अबको १० वर्षका लागि जैविक विविधताको संरक्षणको खाका तयार पार्नेछ । 

सन् २०२० को सेप्टेम्बर महिनामा संयुक्त राष्ट्रसंघको साधारणसभाको ७५औं सत्रलाई सम्बोधन गर्दै सीले सन् २०३० अघि चीनले कार्बन उत्सर्जन चरममा पुर्‍याउने र सन् २०६० अघि कार्बन शून्यताको लक्ष्य हासिल गर्ने बताएका थिए । 

एक महिनाअघि संयुक्त राष्ट्रसंघको साधारणसभाको ७६औं सत्रमा सीले हरित तथा न्यून–कार्बन ऊर्जा विकसित गर्न अन्य विकासशील मुलुकहरूलाई गरिरहेको सहयोग बढाउने अनि विदेशमा कोइलाबाट चल्ने नयाँ विद्युत् परियोजना नबनाउने घोषणा गरे । 

चीनका यी प्रयासहरूलाई अन्तर्राष्ट्रिय समुदायले उच्च मूल्यांकन गरेको छ र यिनले अन्य मुलुकको आत्मविश्वास पनि बढाएका छन् । 

‘यो चीन तथा बाँकी विश्वका लागि साहसी तथा परिणाममुखी कदम हो । हाम्रो समयको जल्दोबल्दो समस्यालाई समाधान गर्नका लागि चीनको ठोस प्रतिबद्धताको स्पष्ट संकेत पनि यसबाट पाइएको छ,’ एसियाली पूर्वाधार लगानी बैंकका अध्यक्ष जिन लिछुनले बताए । 

संयुक्त राष्ट्रसंघको जलवायु वार्ताका लागि बेलायतको उच्चस्तरीय जलवायु कार्यका पैरवीकर्ता नाइजल टपिङले वातावरणीय सभ्यतालाई चीनबाट आएका विचारमध्ये ‘सबभन्दा उत्साहजनक’ संज्ञा दिए ।

‘मैले वातावरणीय सभ्यता भन्ने शब्दावली सुनेदेखि नै सोच्न थालेको थिएँ– हो, यही त हो हामी सबैले निर्माण गर्न चाहेको, यही हो हामीले बनाउनुपर्ने,’ उनले बताए । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्