२१ असार २०८३, आइतबार
तिहारमा कोपिला लाग्दै फूल

धानमा जस्तै पुष्प व्यवसायमा पनि वर्षाले क्षति : तिहारलाई लगाइएको फूल मंसिरमा मात्र फुल्ने भए !

कात्तिक १७, २०७८
धानमा जस्तै पुष्प व्यवसायमा पनि वर्षाले क्षति : तिहारलाई लगाइएको फूल मंसिरमा मात्र फुल्ने भए !

रूपन्देहीको तिलोत्तमा डिंगरनगरस्थित क्षितिज नमूना कृषक समूहले गत वर्ष तिहारमा ३ लाख मूल्यका मखमली र सयपत्री फूल बिक्री गरेको थियो । तर, यस वर्ष समूहको फूलबारीमा ३० प्रतिशत समेत फूल फूलेका छैनन् ।

कात्तिके वर्षाले ३ बिगाहामा लगाएको फूल पानीमा डुब्यो । पानी बढी भएपछि फूलेका केही फूल पनि बोटमै कुहिएका छन् । 

समूहका अध्यक्ष नविना भण्डारीका अनुसार वर्षाका कारण असोज मसान्त र कात्तिक पहिलो हप्ता परेको फूललाई नराम्रोसँग क्षति पुर्‍याएको छ ।

‘यस वर्ष साउनमा फूल रोप्ने बेलामा पनि पानी धेरै पर्‍यो,’ नविनाले भनिन्, ‘गत वर्ष ६ हजार माला बिक्री गरिएको थियो । अहिले फूलको कोपिला लाग्ने बेलामा पनि पानीले पूरै फूल डुब्यो । अहिले तिहारमा फूल टिप्ने बेलामा बल्ल कोपिला लाग्दैछ ।’

समूहका ९ जना महिला मिलेर तीन वर्ष अघिदेखि पुष्प व्यवसाय शुरू गरेका हुन् । तिहार आउन अब चार दिनमात्र बाँकी छ । 

तिलोत्तमा वडा नम्बर १ का वडाअध्यक्ष समेत रहेका पुष्प व्यवसायी तामनाथ पाण्डेको नर्सरीमा पनि मनसुन बाहिरिने बेलाको ठूलो वर्षाले असर पर्‍यो । उनले तिहार लक्षित १० हजार फूलका बिरुवा भदौको पानीले कुहिए । ‘भारतीय फूलको आयात रोक्न कस्सिएका पुष्प व्यवसायीलाई बेमौसमी वर्षाले दाँतमा ढुंगा लगाएझैँ बनायो,’ व्यवसायी पाण्डेले भने । 

रूपन्देहीको सैनामैना सालझण्डीकी महिला अगुवा सुशीला अर्यालले ५ कठ्ठामा लगाएको फूलको कोपिला पनि पानीले लछार्नु लछार्‍यो ।

‘धानलाई जत्तिकै क्षति पानीले पुष्प व्यवसायलाई पनि गर्‍यो । राज्यबाट व्यवसायीलाई साथ, सहयोग र अनुदानको खाँचो छ । तर, त्यो पाइँदैन ।’ 

उनले भने, ‘यस वर्षको फूल तिहारलाई भन्दा मंसिरमा बिहेको सिजनका लागि तयार होलान् जस्तो देखिएको छ ।’ 

रूपन्देहीमा ५० भन्दा बढी पुष्प व्यवसायीहरू फूलको आयात रोक्न जुटेका छन् । फूल खेती कम लगानी, थोरै जमिन र कम मेहेनतमा छिटो आम्दानी गर्न सकिने व्यवसाय मानिन्छ ।

राजनीतिकर्मी समेत रहेकी सीता खनालले बुटवल नयाँ गाउँमा रूपन्देहीसहित प्रदेशलाई फूलमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ पुष्प खेती शुरू गरेको बताइन् । उनले खाली रहेको झण्डै दुई बिगाहा जग्गामा फूल लगाएकी छन् ।  

भारतबाट केमिकलयुक्त फूल भित्रिएपछि त्यसलाई रोक्न यहाँका स्थानीय तहहरूले आयातित फूल रोक्ने अभियान थालेका छन् । 

जसले स्वास्थ्यमा असर पर्ने गर्छ । अहिले रूपन्देही लगायत प्रदेश पाँचमा व्यवसायिक फूल खेतीमा महिलाहरू उत्साहजनक रूपमा लागेका छन् । 

देशमा मेहनत गरे राम्रै आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न पनि महिलाहरूले फूलखेती शुरू गरेका हुन् । 

विभिन्न सार्वजनिक कार्यक्रममा भारतीय फूल र मालाहरूकै प्रयोग हुन्छ । तिहारमा मखमली, सयपत्री र गोदावरी फूलको प्रयोग बढी हुन्छ । 

नेपालमा हरेक वर्ष न्यूनतम २० करोड बराबरको फूल आयात हुने नेपाल पुष्प व्यवसायी महासंघको आंकलन छ । 

पुष्प व्यवसायी संघका लुम्बिनी प्रदेश अध्यक्ष रमेश पाण्डेले महिलाहरू उत्साहजनक रूपमा फूल खेतीमा लागेकाले प्रदेश आत्मनिर्भरको बाटोमा रहेको बताए । 

तर, यो वर्ष पानीले क्षति बढी भएकाले फूल आयात बढ्ने बताए । लुम्बिनीमा मात्रै तिहारमा १ करोडको फूल भारतबाट आउने गर्छ । अहिले बजारमा फूलको मालाको न्यूनतम मूल्य १५० रूपैयाँ राखिएको छ ।  गत वर्ष १२० रुपैयाँ थियो । पाण्डेले महिला कृषकहरूलाई फूलका विरुवा उत्पादनदेखि कसरी लगाउने भन्ने प्रशिक्षण पनि दिँदै आएका छन् । 

रुपन्देही, पाल्पा, दाङ, कपिलवस्तुदेखि बाँकेका विभिन्न क्षेत्रहरूमा पनि व्यवसायिक पुष्प खेती थालिएको छ । प्रदेश सरकारले पनि पुष्प खेती गर्ने किसानहरूलाई अनुदान दिएको छ । 

प्रदेशभित्रका पहाडी जिल्लामा खासै भारतीय मालाको प्रयोग नहुने भए पनि तराईका ६ जिल्लामा चाडपर्व, विभिन्न शुभकार्यका लागि भारतबाटै माला आउने गर्छन् । 

यहाँ तिहारमा झण्डै ५ लाखभन्दा बढी माला भारतबाट आउने व्यवसायीहरूको आंकलन छ । त्यसलाई निरुसाहित गर्न यहाँका महिला कृषकहरू लागेका छन् ।

बुटवल रूपन्देही प्रदेशको मुकाम पनि हो । यहाँ धेरै कार्यक्रमहरू हुन्छन् । त्यसका लागि मालाको खपत पनि बढ्दै गएको छ ।

त्यस्तै प्रशस्त मठमन्दिर भएको, धार्मिक कार्य, मेला महोत्सव तथा सभा समारोहमा पनि मालाहरूको माग बढ्दो छ । 

भारतबाट आयात हुने फूल उपभोक्तासम्म आइपुग्दा महंगो हुने भएकाले पनि आफ्नो क्षेत्रमा फूलखेती गर्दा सस्तोमा उपलब्ध गराउन सकिने र स्वदेशको पैसा स्वदेशमा नै लगानी हुने भएकाले फूल खेतीको महत्त्व धेरै नै रहेको छ । चाडपर्वमा मात्र होइन यहाँ १२ महिना नै फूलको माग बढिरहेको छ । 

लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयका बागबानी विकास अधिकृत सुनैना बरालीले तराईमा पानीले फूलमा असर पुर्‍याए पनि पहाडी जिल्लामा क्षति नभएको बताइन् । लुम्बिनीलाई फूलमा आत्मनिर्भर बनाएर फूलैफूलको प्रदेश बनाउने योजना अनुसार व्यवसायिक फूल खेती गर्ने किसानलाई प्रोत्साहन, प्राविधिक तालिम, मल बिउ आदिको व्यवस्था गरिएको बरालीको भनाइ छ । 

प्रदेशका १२ जिल्लामा ५०० बिगाहा भन्दा धेरै ठाउँमा फूलखेती गरिएको छ । पहाडी जिल्लामा निर्वाहमुखी फूल खेती गरिएको छ भने तराईका जिल्लामा व्यवसायिक पुष्प व्यवसाय गरिएको छ । 

अध्यक्ष रमेश पाण्डेले फूल खेतीमा लुम्बिनी प्रदेश नेपालमै अगाडि रहेको बताए । ‘पहाडी क्षेत्रमा फूल फुलिसके पनि तराई क्षेत्रमा प्रतिकूल मौसमका कारण सबै फूल फुल्न सकेनन् ।’ 

पछिल्लो समय स्वदेशमा आफ्नो खेतबारी बाँझै राखेर विदेशिने युवाको संख्या ठूलो छ । जग्गा प्लटिङ गरिएको ठाउँमा र घडेरी किनेर बाँझै राख्नु भन्दा त्यो ठाउँमा ९० दिनमा तयार हुने फूल खेती गर्न सके त्यसबाट राम्रो फाइदा लिन थालेका छन् । अर्कातर्फ स्वदेशमै रोजगारीका अवसरहरू सिर्जना हुनेछन् र मुलुकको आर्थिक अवस्था बलियो हुनेछ ।

नेपालमा करीब ६०० किसिमका फूल पाइन्छ । दाजुभाइ र दिदीबहिनीका बीचमा भाइ टीकाका क्रममा सयपत्री अनि मखमलीको माला अनिवार्य मानिन्छ । मखमली र सयपत्री नेपालमा सांस्कृतिक महत्त्व बोकेको प्रसिद्ध फूल हो । अहिले नेपालभर फूलको खेती र उपभोग बढेको छ । लुम्बिनी प्रदेशका बाह्रै जिल्लामा विभिन्न जातका फूलखेती विस्तार भएको छ । 

कमेन्ट गर्नुहोस्